|

तनहुँ : रोटरी इन्टरनेसनलले व्यास नगरपालिकालाई पोर्टेवल पिसिआर मेसिन उपलब्ध गराएको छ। रोटरीले शनिबार पोखरामा एक कार्यक्रम गरी उक्त मेसिन व्यास नगरपालिकालाई हस्तान्तरण गरेको हो। गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलाई सो मेसिन हस्तान्तरण गरेका हुन्। 

पछिल्ला केही दिनयता व्यास नगरपालिकासहित सिङ्गो तनहुँमा कोरोना संक्रमितको सख्या बढिरहेको र  कोरोना परीक्षणका लागि पोखरा पठाउँदा रिपोर्ट आउन ढिला हुने गरेकोले मेसिन प्राप्त भएसँगै कोरोना परीक्षणमा सहजता आउने नगर प्रमुख न्यौपानेले बताए।

मेसिनले ३ घण्टामा ८ जनाको नतिजा दिने र तत्काल रिपोर्टसमेत आउने उनले बताए। नगरस्तरीय अस्पतालसमेत चलाउने तयारी गरिरहेको व्यास नगरपालिकाले प्राप्त सो मेसिन यदि दमौली अस्पतालका लागि आवश्यक भए सो अस्पताललाई उपलब्ध गराउने उनको भनाइ छ। 

व्यास नगरपालिका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले अब कोरोना परीक्षण दमौलीबाटै गर्न सकिने बताए। रोटरी क्लब अफ दमौलीका अध्यक्ष दामोदर भण्डारीले रोटरी अभियानमार्फत सो पिसिआर मेसिन उपलब्ध भएको जनाउँदै मेसिनले व्यास नगरपालिका र आसपास क्षेत्रका सर्वसाधारणको कोरोना परीक्षणमा टेवा पुग्ने बताए।

उक्त मेसिनको मुल्य करिब साढे १२ लाख रुपैयाँ पर्ने व्यास नगरपालिकाका प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए। रोटरीले पिसिआर मेसिनसँगै नगरपालिकाका ३ विद्यालयका लागि ३ वटा स्मार्ट टिभीसमेत प्रदान गरेको श्रेष्ठले बताए।

कक्षा १ देखि १२ सम्मका विभिन्न विषयका कोर्स सेट गरिएको ती स्मार्ट टिभीहरु रोटरी क्लब अफ दमौलीमार्फत नगरपालिकाका विद्यालयलाई हस्तान्तरण गरिने नगरपालिकाले जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.