|

सोलुखुम्बु : कमेरो माटो खन्न गएका युवक दुधकोशी खोलाले बगाएर बेपत्ता भएका छन्। थुलुङ दुधकोशी गाउँपालिका-४ जुबु खन्याखर्कका २३ वर्षीय सन्तोष घिमिरे शनिबार बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालका अनुसार श्रीमतीसँगै घर छ्याप्ने कमेरो माटो खन्न गएका घिमिरेलाई शनिबार बिहान ९ बजे खोलाले बगाएको हो।

माटो खनिसकेर भारी समेत मिलाइसकेका घिमिरेले श्रीमतीलाई गर्मी भएकाले पानी पिउने भन्दै ज्याकेट र मोवाइल दिएर दुधकोशीमा गएका थिए। पानी पिएपछि पौडन नदीमा पसेपछि बगाएको प्रत्यक्षदर्शीले बताएका छन्। उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।

नवजात शिशुको बेवारिस शव भेटियो

जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका-९ लोखिममा नवजात शिशुको बेवारिसे शव भेटिएको छ।

सालनालसहित कुहिसकेको अवस्थामा नवजात शिशु (छोरी)को शव भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए।

लोखिमस्थित सार्कु खोलाको छाँगामा माछा मार्न गएका स्थानीयले शनिबार दिउँसो शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

नवजात शिशुको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु ल्याएको सोलुखुम्बु प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.