|

दार्चुला : कालापानी नजिकैका दुई गाउँ छाङ्‌रू र तिङ्‌करमा सुदूरपश्चिम सरकारले खाद्यान्न ढुवानी गर्ने भएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले दशैँअघि नै व्यास गाउँपालिकाको वडा नम्बर १ स्थित छाङ्‌रू र तिङ्‌कर गाउँमा हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गर्ने भएको हो। यसका लागि प्रदेश सरकारले ४५ लाख रुपैयाँ बजेट निकासा समेत गरेको छ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय दार्चुलालाई खाद्य सामग्री ढुवानीको बजेट उपलब्ध गराइएको हो। प्रदेश सरकारले व्यास क्षेत्रमा हेलिकोप्टरमार्फत खाद्य सामग्री ढुवानीमा अनुदान उपलब्ध गराउने घरेलु कार्यालयका प्रमुख गंगा कुमारी मगरले बताए।

व्यास क्षेत्रका दुइ गाउँमा तत्काल हेलिकोप्टरमार्फत खाद्य सामग्री ढुवानी गर्न गृहकार्य सुरु गरिएको उनले बताए। शुक्रवार यसबारे समन्वय बैठक समेत राखिएको थियो। प्रदेशसभा सदस्य गेल्बु सिंह बोहरा, जिल्ला समन्वय समिति प्रमुख करवीर बहादुर कार्की, व्यास गाउँपालिका र १ नम्बर वडा कार्यालयका प्रतिनिधिसँग शुक्रवार बैठक गरी छलफल गरिएको छ।

दशैँअघि नै व्यासका छाङ्‌रू र तिङ्‌कर गाउँमा कम्तिमा एक सय ५० क्वीन्टल खाद्य सामग्री हेलिकोप्टरमार्फत ढुवानी गर्ने निस्कर्ष बैठकले निकालेको छ। खाद्य सामग्री ढुवानीको व्यवस्थापन घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय दार्चुलाले गर्नेछ। व्यास गाउँपालिकाको १ नम्बर वडा कार्यालयले खाद्य सामग्री खरिद र वितरणमा सहजीकरण गर्ने वडा सचिव विनोद सिंह बुढाथोकीले बताए।

दुबै गाउँका सबै घरधुरीहरूका लागि ढुवानी अनुदानमा खाद्य सामग्री हेलिकोप्टरमार्फत पुर्याइने प्रदेश सरकारको योजना छ। प्रदेश मन्त्रिपरिषद्को निर्णयपछि उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमार्फत जिल्लास्तरमा बजेट दिइएको हो।

स्थानीयवासीको आवश्यकता अनुसार चामल, दाल, चिनी, नुन, खानेतेल लगायतका खाद्य सामग्री हेलिकोप्टरमार्फत ढुवानी गर्ने योजना छ। असोज १९ गते व्यास गाउँपालिकाको घाँटीबगरमा नेपाली सेनाले निर्माण गरेको बाटो उद्घाटन गर्न दार्चुला पुगेका मुख्यमन्त्री त्रिलोचन भट्टले व्यास क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकता दिएको बताएका थिए।

नेपाली सेनाको वा निजीक्षेत्रको हेलिकोप्टरमार्फत व्यास क्षेत्रमा खाद्य सामग्री ढुवानी गरिने घरेलु कार्यालयका प्रमुख गंगा कुमारी मगरले बताइन्‌। व्यास गाउँपालिकाको १ नम्बर वडा कार्यालयले खलंगामा खाद्य सामग्री खरिद गरेपछि प्रदेश सरकारको ढुवानी अनुदान उपलब्ध गराइने उनले जानकारी दिइन्‌।

​व्यासको छाङ्‌रू र तिङ्‌कर गाउँमा गत असार महिनामा नेपाल सरकारको ढुवानी अनुदानमा २ सय क्वीन्टल चामल ढुवानी गरिएको थियो। व्यास क्षेत्र जोड्ने पैदल बाटो हालै मात्र सञ्चालनमा आएको छ।

पैदल बाटो सञ्चालनमा आए पनि तत्काल खच्चर वा भरियामार्फत खाद्य सामग्री ढुवानी गर्न सम्भव नभएको छाङ्‌रूका स्थानीय बासिन्दा योगेश सिंह बोहराले बताए। तम्बाकु र कल्चु क्षेत्रमा पैदल बाटो सुधार गरेपछि मात्रै व्यासबाट गाईवस्तुसहित स्थानीयको कुञ्चा खलंगा सर्ने अवस्था रहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.