|

सर्लाही : घुँगी बेचेर सर्लाही धनकौल गाउँपालिका–२ धापटोलकी उर्मिलादेवी सहनीले परिवार पाल्दै आएकी छन्। सानोतिनो खर्च टार्न पनि सधैं श्रीमानकै भर पर्नुपर्ने उर्मिलालाई अहिले त्यति सारो चिन्ता छैन। उनी आफ्नै आम्दानीले घर व्यवहार चलाउन सक्षम भएकी छन्। 

‘घुँगी बेच्न सुरु गरेको दुइ वर्ष भयो,’ उनले भनिन्, ‘यसैबाट आएको पैसाले परिवारको जीविका चलाउन सहज भएको छ।’ उर्मिलाको दैनिकी घरधन्दाबाट सुरु हुन्छ। दुई छोराकी आमा उनी बिहानभर छोरालाई विद्यायल पठाउनुअघिसम्म साह्रै व्यस्त हुन्छिन्। 

त्यसपछि उनी नजिकैको झिंग्याइ खोला त कहिले मनुस्मारा खोला पुग्छिन्। कहिलेकाहीँ उनी पोखरी तथा ताल तलैयामा समेत पुग्छिन्। सहजैसँग भेटिने घुँगी दैनिक २० देखि २५ किलोसम्म संकलन हुने उनी बताउँछिन्। 

दिनभर संकलन गरेको घँुगी उनी स्थानीय हाट बजारमा प्रतिकिलो ५० देखि ६० रुपैयाँसम्म बिक्री गर्छिन्।  आएको पैसाले घर खर्चमात्र हैन, बचत पनि गर्ने गरेको उनी बताउँछिन्। 

घुँगीको व्यापारले आफ्नो जीवनस्तरमा परिवर्तन ल्याएको उनको बुझाइ छ। ‘कमाइ नहुँदा छोराहरु पढाउन सकिएको थिएन। बिहानबेलुका हातमुख जोर्न नै धौ–धौ पथ्र्यो। सम्पतिको नाममा १० धुर घडेरीमा सानो झुप्रो घर छ। श्रीमानको कमाइले ६ जनाको परिवार पाल्नुपथ्र्यो। कमाइ भएको दिन पेटभरि खान पाइन्थ्यो। नत्र आधा पेट खाएर बस्नुपथ्र्यो,’ उनी विगतमा अभाव सम्झिन्छिन्।

सुरुका दिनमा घुंगी संकलन गर्न जाँदा सासुससुराले गाली गर्ने गरेका उनी बताउँछिन्। भन्छिन्, ‘हाम्रो समाजमा छोरीबुहारीलाई घरभन्दा बाहिरको काम गर्दा राम्रो नजरले हेरिँदैन। तर के गर्नु छोराहरु पढाउनुपर्ने, घरव्यवहार चलाउन पैसाको खाँचो परिहाल्छ।’

आफूसँग सीप नहुँदा यही काम गर्न थालेको उनी सुनाउँछिन्। ‘जब पैसा कमाइ हुन थाल्यो। अनि श्रीमानसहित घरपरिवारले पनि सहयोग गर्न थालेका छन्। पैसा कमाइ नहुँदा घरपरिवारमा कलह हुन्थ्यो। अहिले परिवारमा सबै खुशी छन्,’ उनले परिवारको खुसी साटिन्।

खुसी हुँदै उनले थपिन्, ‘श्रीमानले मजदुरीको काम गर्न छोडिसक्नु भएको छ। घुँगी टिप्न सँगै जान्छौं, छोराहरुले पनि कहिलेकाहीँ सहयोग गर्छन्।’ अहिले दुई जनाले संकलन गर्दा ३५ देखि ४० किलोसम्म घुँगी हुने गरेको उनले बताइन्। 

भन्छिन्, ‘खासै बेच्न समस्या छैन। हाट बजारमा नबिकेको घुंगी गाउँघरमा गएर पनि बेच्छौं, दैनिक १५ सय देखि २ हजारसम्मको बिक्री हुन्छन्। घुंगी बेचेर बचत गरेको पैसाले १० धुर जग्गासमेत उनीहरुले  जोडिसकेका छन्। महिनाको ४० देखि ५० हजारसम्म कमाइ हुने गरेको उनी बताउँछिन्। 

असोज महिना लागेसँगै घुंगी संकलन गर्न सहज हुने र वर्षात् सुरु भएसँगै खोला, पोखरी, ताल तलैयामा पानीको मात्रा बढी हुने भएकोले घुँगी संकलनमा समस्या हुने गरेको उर्मिलाका श्रीमान् सुकदेवले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.