|

डोल्पा : छिमेकी राष्ट्र चीनले उपल्लो डोल्पाका सीमा क्षेत्रस्थित सीमास्तम्भ रङ्ग्याउन थालेको छ। नेपाल–चीन सीमा छुट्याउन उपल्लो डोल्पाको मोरिम्ला नाकामा राखिएका सीमास्तम्भ चीनले रङ्ग्याएको हो।
डोल्पो बुद्ध गाउँपालिकामा पर्ने मोरिम्ला नाकामा रहेको १५ नम्बर सीमा स्तम्भ रङ्ग्याएको पाइएको त्यहाँ पुगेका डोल्पाली युवा हरिनन्द बोहोराले बताए।

‘पैदल मार्ग र स्थानीय पुर्वाधार नक्सांकन कार्यक्रमको सिलसिलामा सीमा क्षेत्र मोरिम्ला नाका पुगेको थिएँ, चिनियाँ अधिकारीले सीमास्तम्भमा पेन्टिङ गरेका रहेछन्’, उनले भने। 

सीमास्तम्भ आसपासका धेरै ठाउँमा चिनियाँ भाषामा पेन्टिङ गरेको पाइएको छ। सीमा स्तम्भमा नेपाल–२०१९ समेत लेखिएको छ। तिन्जे गाउँबाट दुई दिनको पैदल यात्रा पछि मोरिम्ला नाका पुगिने र मोटरसाइकलमा करिब तीन घण्टामै नाका पुगिने बोहोराले बताए।

नेपालले लिपुलेक लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेसँगै चीनले सीमा क्षेत्रमा निगरानी बढाएको हुनसक्ने जिल्लाका सरोकारवाला निकायले बताए।
मोरिम्ला बाहेक उपल्लो डोल्पामा क्याटो नाका समेत पर्ने गर्दछ।

उपल्लो डोल्पाबासीका लागि मुख्य ब्यापारिक नाकाको रुपमा मोरिम्ला र क्याटो नाका प्रयोग हुँदै आएका छन्।

नेपाल खाद्य संस्थानले उपल्लो डोल्पाबासीका लागि खाद्यान्न ढुवानी समेत चीनको बाटो हुँदै मोरिम्ला र क्याटो नाका पुर्‍याएर वितरण गर्ने गरेको स्थानीयले बताए।

वर्षमा एक पटक सिमित समयका लागि नाका खुल्ने र त्यहाँबाट खाद्यान्न,लत्ताकपडा,मोटरसाइकल लगायतका बस्तुहरु खरिद गरि ल्याउने गरेको डोल्पो बुद्ध गाउँपालिका वडा नं ३ का अध्यक्ष पाल्जाङ गुरुङले जानकारी दिए।

जेठ र असार गरेर दुई महिना लगाएर संकलन गरेको यार्सागुम्बा बिक्रि गर्ने र त्यसबाट आएको पैसाले वर्षभरिको लागि आवश्यक सामाग्री खरिद गरेर ल्याउने गरेको वडा अध्यक्ष गुरुङको भनाई छ। यस वर्ष कोरोना भाइरसका कारणले नाका खुल्न सकेन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.