एकजना बुहारीबाहेक परिवारका सबै सदस्य संक्रमित

|

तनहुँ :  देशभर कोरोना संक्रमण बढ्दै गएको छ। मंगलबारसम्म सक्रिय संक्रमित ३५ हजार नाघ्दा १८ जनाले ज्यान गुमाएका छन्। कुनै बेला भारत र तेस्रो देशबाट आउनेलाई मात्र देखिएको कोरोना अहिले देशका प्रमुख सहरका घरघरमा पसेको छ।

सुरुमा कोरोनाबाट सुरक्षित रहेको गण्डकी प्रदेशको तनहुँलाई पनि कोरोनाले विस्तारै दपेट्दै लगेको छ। त्यहाँ पछिल्लो समय दिनदिनै संक्रमित बढिरहेका छन्। 

तनहुँका सहरी क्षेत्रमा कोरोनाले महामारीको रुप लिँदै गर्दा भिमाद नगरपालिका-५ मा एकै परिवारका तीनजनाले ज्यान गुमाएका छन्। 

कोरोना संक्रमणले भिमाद निवासी बाबु धर्मकुमार श्रेष्ठ तथा छोराहरु कृष्णकुमार श्रेष्ठ र विष्णुकुमार श्रेष्ठको ज्यान गएको छ। ९७ वर्षीय धर्म कुमार श्रेष्ठलाई अन्य रोगले च्यापेपछि छोरा बुहारीहरूले अस्पताल लगेका थिए।

बुवाको हेरचाहका लागि अस्पतालमा पुगेका परिवारका पाका सदस्यहरुलाई अहिले कोरोना संक्रमण देखिएको पारिवारिक स्रोतले जनाएको छ। कोरोना संक्रमणबाट ६ दिनको अन्तरालमा तीनजनाले ज्यान गुमाएका छन्। सबैभन्दा पहिले असोज २१ मा कृष्ण कुमारले ज्यान गुमाए त्यसपछि विष्णु कुमारले असोज २३ मा र बाबु धर्मकुमारले असोज २५ मा ज्यान गुमाएका छन्। 

त्यसपछि ९७ वर्षीय बुवा धर्मकुमारको पनि आइतवार कोरोना संक्रमणकै कारण ज्यान गयो। तर उनी घरमै रहँदा बिरामी भएपछि उपचारका लागि चितवन मेडिकल लगिएको थियो। उनलाई त्यहीँ कोरोना पुष्टि भएको आफन्तले बताएका छन्। कोरोना समेत लागेर गम्भीर बिरामी परेका उनको थप उपचारका लागि ललितपुरस्थित बिएन्डबी अस्पतालमा लगेपछि ज्यान गुमाएका थिए। 

बाबु र दुईजना छोराले ज्यान गुमाइसकेको यो परिवारमा अस्पतालमा भेट्न पुगेका धर्मकुमारका अन्य छोरा र बुहारीलाई पनि कोरोना संक्रमण भएको छ। जेठी बुहारी मात्रै कोरोनाबाट जोगिएकी छन्। 

अस्पतालबाट सर्‍यो कोरोना

धर्मकुमार कान्छा छोरा अमृत कुमार श्रेष्ठको घरमा नारायणगढमा बस्दै आएका थिए। उनी बिरामी भएपछि चितवन मेडिकल कलेजमा उपचारका लागि लगिएको नेवा मिसा दवुकी केन्द्रीय उपाध्यक्ष योगिता श्रेष्ठले बताइन्। धर्मकुमारको उपचारका क्रममा पुगेका माइला छोरा कृष्ण कुमार, साइँला छोरा विष्णु कुमारलाई पनि त्यहीँबाट कोरोना सरेको थियो। 

एक सातामा श्रेष्ठ परिवारले अभिभावक एकैसाथ तीन अभिभावक गुमाएको छ। अहिले कोरोना संक्रमण भएका कृष्ण कुमारकी श्रीमती विश्वशान्ति श्रेष्ठ भिमाद नगरपालिकाको आइसोलेशनमा रहेकी छन्। धर्मकुमारका जेठा छोरा रामकुमार श्रेष्ठ ‘राम विनय’ पनि काठमाडौंस्थित शुक्रराज ट्रपिकल सेन्टरमा उपचाररत रहेको भिमादका स्थानीय (परिवारसँग नजिकका) दधिराज सुवेदीले जानकारी दिए।

कृष्ण कुमारकी श्रीमती विश्वशान्ति र जेठा छोरा रामकुमार श्रेष्ठ सिकिस्त छन्। उनीहरु काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसियुमा उपचाररत रहेका भिमाद नगरपालिका ५ का वडाध्यक्ष श्यामसुन्दर जोशीले जानकारी दिए। उनका अनुसार विष्णुकमारकी श्रीमती र सवारी चालकको पोखरामा उपचार भइरहेको छ।

पारिवारिक स्रोतका अनुसार धर्मकुमारले बिरामी परेपछि कोरोना संक्रमण सर्न सक्ने भन्दै अस्पताल नलैजान आग्रह गरेका थिए। उनले परिवार नै जोखिममा पर्ने भन्दै अस्पताल जान इन्कार गरेका थिए। तर पनि छोरा बुहारीहरूले अस्पताल लगेपछि संक्रमण परिवारमा नै फैलिएको कृष्णकुमारकी श्रीमतीले परिवारका अन्य सदस्यलाई भनेको उनीहरु बताउँछन्। कोरोना संक्रमण फैलिरहेको अवस्थामा ज्येष्ठ नागरिकहरु सचेत हुनुपर्ने भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले बताए।

‘दुई दिनको अन्तरालमा एकै परिवारका दाजुभाइको निधन भएपछि नगरपालिकामा लकडाउन गरिएको छ, स्वस्थ देखिएका मानिसमा पनि संक्रमण देखिन थालेकाले अनिश्चितकालका लागि नगरपालिकामा अत्यावश्यक बाहेकका कार्य नगर्न अनुरोध समेत गरिएको छ,’ नगर प्रमुख थापाले भने, ‘उहाँहरुको निधनले परिवारमा मात्रै नभई नगरपालिकाले पनि अभिभावक गुमाएको छ।’

स्पष्टीकरण :  परिवारको अनुमति लिएर तस्विर र नाम प्रकाशित गरिएको हो। -सम्पादक

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.