कोरोना जोखिम मोलेर ४ घण्टासम्म हिँड्छन् वृद्धवृद्धा

|

धनकुटा : धनकुटा नगरपालिका–२ भीरगाउँकी ७५ वर्षीया हर्कमाया राई सामाजिक सुरक्षा भत्ता बुुझ्नकै लागि ४ घण्टा हिँडेर धनकुटा बजार आइन्। तर, भत्ता लिन कागजपत्र पुर्याउन उनलाई निकै सकस पर्यो। बल्लतल्ल प्रक्रिया पुर्याएपछि मात्रै भत्ता उनले बुझिन्। 

यसअघि घर आँगनमै चौमासिक रूपमा भत्ता बुझ्दै आएकी उनी बैंकबाट लिनुपर्ने भएपछि निकै सास्ती भएको बताउँछिन्। ‘चेकमा लेख्न लगाउनुपर्ने भयो, बुढेसकालमा घण्टौं लाममा बस्दा थाकियो।’ 

धनकुटा नगरपालिका–८ की ७२ वर्षीया चन्द्रीमाया आठपहरियाले पनि ज्येष्ठ नागरिक भत्ता लिन धेरै झन्झट बेहोरेको बताइन्। भत्ता लिन धेरै समय खर्चनुपर्दा बुढेसकालको शरीर थाकेर बिरामी नै हुने अवस्था आएको उनले गुनासो गरिन्। 

‘पहिले घरमै दिन्थ्यो, तर अहिले दुःख दियो’, उनले दुखेसो पोखिन्, ‘पहिले एकपटक बैंकबाट दिन थालेको भत्ता फेरि घरैमा दिन थालेको थियो अहिले फेरि झन्झट र समस्या भयो।’

यस्तै धनकुटा नगरपालिका–५ कर्मीटारका ८१ वर्षका टीकाप्रसाद लामिछानेले पनि बैंकिङ प्रणाली ज्येष्ठ नागरिकलाई सास्ती भएको बताए। ‘जेष्ठ नागरिकलाई भत्ता सहजसँग घरघरमा बाड्ने भनेर प्रधानमन्त्री ज्यूको भनाइ पनि सुनेको थिएँ,’ उनले भने, ‘तर अहिले टाढाटाढाका बैंकमा खाता खोल्नुपर्नेले हामीलाई समस्या भइरहेको छ।’ 

धनकुटाका सयौं ज्येष्ठ नागरिक भत्ता बुझ्न बैंक जानुपर्ने बाध्यतामा छन्।

यसअघि सम्बन्धित वडा कार्यालयबाट घरैमा भत्ता दिए पनि हाल बैकिङ प्रणालीमा गएपछि वृद्धवृद्धालाई यतिबेला सास्ती थपिएको छ। जिल्लाका भीरगाँउ, बेलहारा, टेकुनाला, सान्ताङ, याक्तेलगायत ठाउँ धनकुटा नगरपालिकाबाट भौगोलिक हिसाबले टाढा छन्। ज्येष्ठ नागरिकहरु भत्ता बुझ्नकै लागि हिँडेरै जाने गरेका छन्। जसले गर्दा उनीहरुलाई समस्या हुने गरेको छ। 

कतिपय त एक दिनमा काम नसकिएपछि बास नै बसेर भोलिपल्ट मात्रै काम सकेर फर्कनुपर्ने बाध्यता छ। बूढो शरीर र भीडभाडका कारण ज्येष्ठ नागरिक भत्ता बुझ्न जाँदा कोरोना त्रासमा समेत छन्। 

दसैं नजिकिएसँगै यसै पनि भीड हुने बैंकमा सामाजिक सुरक्षा भत्ता पनि त्यहीँबाट दिइने भएपछि झनै भीड थपिएको छ। देशका धेरै ठाउँमा सामाजिक सुरक्षा भत्तामा अनियमितता भएपछि सरकारले त्यसलाई रोक्न बैकिङ प्रणाली सुरु गरेकोे हो। 

तर वृद्ध र अशक्त नागरिकले बैंकबाट भत्ता लिन कठिन भोगिरहेका छन्। स्थानीय सरकारमार्फत सरकारले सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने उनीहरुको माग छ। 

झन्झटिलो बैंकिङ प्रणाली र व्यवस्थाले कोरोना संक्रमण झनै बढेको छ। सामाजिक सुरक्षाको भत्ताका नाममा बैंकिङ प्रणालीले असुरक्षा भएको गुनासो उनीहरूले गरेका छन्। 

सामाजिक सुरक्षा भत्ता लिन धनकुटा नगरपालिकामा भीडभाड कम होस् भन्ने उद्देश्यले वडा नम्बर १, २ र १० का लागि माछापुच्छ्रे, वडा नं. ५, ६ र ८ का लागि सिद्धार्थ, वडा नं. ४ र ७ को सनराइज बैंक, वडा नं. ३ का लागि मुक्तिनाथ र वडा नं. ९ का लागि सांग्रिला डेभलपमेन्ट बैंकमा अनिवार्य खाता खोल्नुपर्ने व्यवस्था गरिएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.