|

अर्घाखाँची : लुम्बिनी प्रदेश राजधानी भालुवाङ क्षेत्रमा भूबनोट अध्ययन थालिएको छ। त्रिभुवन विश्वविद्यालय भूगर्भ शास्त्र केन्द्रीय विभागले भालुवाङ क्षेत्रमा भूकम्पीय जोखिम मापन गरेको हो।

विभागको टोलीले दुई दिन लगाएर दाङ देउखुरीको राप्ती गाउँपालिका क्षेत्र र गढवा गाउँपालिकाको केही भूभाग तथा छिमेकी जिल्ला अर्घाखाँचीको शितगंगा नगरपालिका-८ र ९ वडा क्षेत्रमा भूकम्पीय जोखिम मापन गरेको हो।

भूगर्भ शास्त्री डाक्टर सुमन पन्थी, डाक्टर सुवेश घिमिरे र डाक्टर कमलाकान्त आचार्यको टोलीले इलेक्ट्रिकल रेजिष्टिभिटी सर्भेको माध्यमबाट दुई दिन लगाएर ती क्षेत्रको भौगोलिक अवस्थाको अध्यन गरेको छ।

के भन्छन्‌ भुगर्भविद् ?

लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङ क्षेत्र आसपासमा म्यान्टलको माथिल्लो सतहको अवस्था, म्यान्टलमा ताप र चापको फरकले गर्दा कन्भेक्सन करेन्ट पैदा हुने तरंगको कारण र अवस्थाबारे अध्यन गरिएको डाक्टर सुवेश घिमिरेले जानकारी दिए।

'हामी यो क्षेत्र भूकम्पीय हिसाबले कस्तो छ भनेर अध्ययन गर्न आएका हौं,' उनले भने, 'विभिन्न खाले कम्पनको सहनशीलताबारे अध्ययन तथ्यांक संकलन गरेका छौं। त्यो सबै अध्यनपछि यहाँ भूबनोटको बारेमा रिपोर्ट पछि सार्वजनिक गर्नेर्छौं।'

घिमिरेले भारतको कुमाउदेखि पोखरा-लमजुङसम्मको क्षेत्रमा लामो समय ठूलो भूकम्पीय धक्का महशुस नगरिएको अवस्थालाई मध्यनजर गर्दै लुम्बिनी प्रदेशको स्थायी राजधानी बन्ने क्षेत्रको भुगोलको बारेमा बुझ्न आएको बताए।

उक्त टोलीले भालुबाङ क्षेत्रको वारिपारिको भूभाग, गढवा गाउँपालिका क्षेत्रको राप्ती नदी पुल आसपासको भूभाग र अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका क्षेत्रको भूभागको अध्ययन गरेको थियो। भौतिक संरचना निर्माणमा प्रयोग गर्न सकिने विधि पत्ता लगाउन पनि अनुसन्धान गरिएको घिमिरेको भनाई छ।

प्रदेश राजधानीका लागि ठूला भौतिक संरचना निर्माण हुने हुँदा जमिनको बनावटबारे जानकारी आवश्यक रहेकोले भविष्यमा निर्माण हुने संरचना र जमिनको बीचमा रहेको अन्तर सम्बन्धलाई बलियो बनाउन पनि यो अनुसन्धान प्रभावकारी हुने भुगर्भविद्हरू बताउँछन्। 

'भविष्यमा आउन सक्ने बाढी,पहिरो, भूकम्प, हावाहुरीलगायतका प्रकोपले जमिनमा पार्ने असरबारे पत्ता लगाउन जरूरी हुन्छ,' भूगर्भशास्त्री डाक्टर सुमन पन्थीले भने, 'यो अनुसन्धानले ती कुरा पत्ता लगाउन सहयोग गर्छ, त्यसो भए भविष्यमा जनधनको क्षति कम हुन्छ।'

राप्ती तटीय जमिनको अवस्था र तराई, मधेस, पहाड, हिमालको भौगोलिक अवस्था तथा तल्लो भागमा रहेको जमिनको अवस्था फरक रहने हुँदा मापन गर्न आएको उनले बताए।

आफूहरु आएर राप्ती गाउँपालिका क्षेत्र र गढवा गाउँपालिकाको वडा नं १ रङसिङ क्षेत्र तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाको वडा नं. ८ र ९ क्षेत्रको भूकम्पीय जोखिम मापन गरिएको हो। भौतिक संरचना निर्माणको क्रममा सल्लाह सुझाव दिन सजिलो होस् भन्ने अध्ययनको उद्देश्य रहेको पन्थीले बताए।

लुम्बिनी प्रदेशको राजधानीको व्यवस्थापनको लागि विभिन्न अध्ययन अनुगमन सँगै त्रिभुवन विश्वविद्यालय भूगर्भ शास्त्र केन्द्रीय विभागले पनि अध्ययन गरेर फर्किएको छ।

यसअघि गत शनिबार पूर्वाधार विकास प्राधिकरणसहितको टोलीले राप्ती गाउँपालिकाको राप्ती प्राविधिक शिक्षालय परिसर, बराखुटी, लालमटिया, घण्टदेव, पाखापानी, शितगंगा नगरपालिकाको लापे र सातमारा गढवा गाउँपालिकाको कालाकाटे पश्चिमका क्षेत्रमा अवलोकन गरेको थियो।

लुम्बिनी प्रदेश स्थायी राजधानीको व्यवस्थापनका लागि राप्ती गाउँपालिकाका र गढवा गाउँपालिका तथा अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको विभिन्न स्थानको अध्ययन सुरू गर्न विभिन्न क्षेत्रबाट अध्ययन गर्ने क्रम जारी रहेको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.