भटाभट बन्द हुँदै कार्यालय, कर्मचारीलाई बिदामा राखिँदै

|

धादिङ : कोरोना रोकथाममा खटिएका स्वास्थ्यकर्मीपछि धादिङमा कोरोना संक्रमणको मारमा जनप्रतिनिधिहरु पर्न थालेका छन्।

धादिङबाट वागमती प्रदेश सभाका सांसद डाक्टर रामकुमार अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल, नीलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारी, नीलकण्ठ ३ का वडाध्यक्ष होमनाथ रिजाल, कार्यपालिका सदस्य राजन बराइली, नेकपा नीलकण्ठ नगर अध्यक्ष दीपक विश्वकर्मालाई कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु आइसोलेसनमा बसिरहेका छन्। यसैगरी नीलकण्ठ नगरपालिकाका सल्लाहकार दीपक कोइरालालाई पनि बुधबार संक्रमण पुष्टि भएको छ। 

जिल्लामा पछिल्लो समय सरकारी कार्यालय बैंक तथा  वित्तीय संस्था, स्थानीय तहमा संक्रमण व्यापक फैलँदो छ। कर्मचारी र जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्लाको नीलकण्ठ नगरपालिका, वेनिघाटरोराङ र नेत्रावतीडवजोङ गाउँपालिका, नीलकण्ठ नगरपालिकाको ३ नम्बर वडा कार्यालय बन्द गरिएको छ। 

यसै गरी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र,पुनर्निर्माण प्राधिकरणअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाइका दुई वटै शाखा (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार र भवन) मा पनि कर्मचारीलाई संक्रमण पुष्टि भएको छ। ती कार्यालयको सेवा पनि प्रभावित भएको छ।

यसैगरी नापी कार्यालय, प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा पनि कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। नापी कार्यालयले औपचारिक रुपमा सेवा बन्दको निर्णय गरेको छैन। गजुरी प्राथमिक स्वास्थ्य केन्द्र बुधबारदेखि बन्द गरिएको गजुरी गाउँपालिकाले सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ। 

सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ नगरपालिकाका उपमेयर ३ नम्बरका वडाध्यक्ष, कार्यपालिका सदस्यका साथै कर्मचारीहरुमा कोरोना देखिएपछि त्यसको प्रभाव बजार क्षेत्रमा समेत पर्न सक्ने सम्भावना बढेको छ। 

यसैगरी जिल्ला समन्वय समितिका प्रमुखलाई कोरोना संक्रमण पुष्टि भएपछि समितिको कार्यालय बन्द नगरिए पनि अधिकांश कर्मचारीलाई केही दिन घरमै सुरक्षित बस्न बिदा दिइएको उपप्रमुख बिन्दा बरामूले जानकारी दिइन्। 

स्थानीय तह, सरकारी कार्यालय मात्रै होइन बैंकका कर्मचारी पनि संक्रमित हुने क्रम बढ्दै गएको छ। सदरमुकाममा रहेको सानिमा बैंकका ६ कर्मचारीमा संक्रमण पुष्टि भएपछि बैंकको सम्पूर्ण सेवा रोकिएको छ।

वेनिघाटमा पनि एक बैंकका कर्मचारीलाई संक्रमण पुष्टि भएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ। 

बुधवारसम्म धादिङ जिल्लाका ४ हजार ४ सय ९४ जनाको पिसिआर परीक्षण भएकोमा जिल्लाका ४ सय १८ जनाको नतिजा पोजेटिभ आएको छ। जिल्लाबाहिर धादिङका २ सय २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

अहिलेसम्म परीक्षण गरिएका मध्ये जिल्लाका ३ हजार ४ सय ८८ जनाको नतिजा नेगेटिभ आएको छ भने जिल्लाभर २ सय ३३ जना सक्रिय संक्रमित छन्।

उपचारमा रहेका ३ सय ९९ जना घर फर्किसकेका छन्। बुधबार स्वास्थ्य मन्त्रालयको आधिकारिक पत्रकार सम्मेलनमा जिल्लाका १४ जना संक्रमति भएका जानकारी दिइएको भए पनि रातिसम्म नीलकण्ठ नगरपालिकाका मात्रै ९७ जनाको नतिजा पोजेटिभ आएको छ। 

स्वास्थ्य मन्त्रालयले औपचारिक रुपमा घोषणा गर्न बाँकी रहे पनि विभिन्न निजी तथा सरकारी निकायमा स्वाब परीक्षण गरिएकाले पाएको जानकारीअनुसार ९७ जनामा कोरोना संक्रमित भएको छ। 

जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सदरमुकामलगायत अन्य स्थानको आइसोलेसन बेड भरिएको छ। जिल्लाको १३ वटै स्थानीय तह र स्वास्थ्य कार्यालय समेतमा गरी आइसोलेसन बेड संख्या १ सय ३७ मात्रै छ।

तर  बुधबार साँझ सम्ममा जिल्लाभर ४ सय २७ जना आइसोलेसनमा बसिरहेका छन। १ सय ४ जना आफ्नै घरमा र ४७ जना संस्थागत आइसोलेसनमा बसिरहेका छन। जिल्लाबाहिर ८२ जना आइसोलेसनमा रहेका स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.