|

बैतडी : बैतडीको पाटन नगरपालिका क्षेत्रलाई आजदेखि  कात्तिक ३ गतेसम्म सिल  गरिएको छ।  नगरपालिकामा कार्यरत ४ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सिल गरिएको पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणदत्त पन्तले जानकारी दिए।   

नगरपालिकाभित्र समुदाय स्तरमै कोरोना भाइरसका संक्रमित देखिन थालेपछि सिल गर्ने निर्णय गरेको हो। नगरक्षेत्र सिल भएसँगै स्वास्थ्य र आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द रहेका छन्।   

यसका साथै बजार बजार व्यवसाय, होटेल, विद्यालय , कार्यालय, संघसस्था, तालिम, गोष्ठी तथा सभा सम्मेलनमा पनि रोक लगाएको छ।  यसका साथै कात्तिक ३ गतेसम्म आवतजावतमा समेत पुर्ण रुपमा बन्द गरिएको छ। 

यस्तै बैंक तथा बित्तीय संस्थाहरु कात्तिक १ देखि ३ दिन सम्मका लागी बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ। 

यसअघि नगरपालिकाका २ जना कर्मचारीका कोरोना देखिएपछि असोज २३ देखि नगरपालिकाको कार्यालय र १० ओटै वडा कार्यालयहरु बन्द गरिएको थियो।  चाडपर्वको समयमा मानिसहरुको भिडभाड हुने भएकोले कोरोनाले भयावह रुप लिनसक्ने भन्दै यसबाट बच्ने उपाय अपनाउन नगरपालिकाले आग्रह गरेको छ।  दशंै तिहारको समयमा गाउँघर र बजार क्षेत्रमा बढी भिडभाड हुनेहुँदा सुरक्षाकर्मी र अनुगमनकर्ताको टोली खटाउने नगरपालिकाले निर्णय गरेको छ। 

पाटन नगरपालिकामा हालसम्म ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  जसमध्ये हाल १९ जना सक्रिय संक्रमित पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.