काठमाडौं : गएको २४ घण्टामा देशभर ४३ सय ९२ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अद्यावधिकसम्बन्धी नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले जनाएअनुसार आज देशभर ३५ सय २२ संक्रमित कोरोनामुक्त भएका छन्। कोरोना मुक्त हुनेहरूको यो दर ६९ दशमलव ८ प्रतिशत हुन आउँछ।
नेपालमा हाल ३७ हजार ३८२ जना सक्रिय संक्रमित छन्। आज १२ जार ३३६ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी २५ हजार ४६ जना होम आइसोलेसनमा छन्।
पछिल्लो २४ घण्टामा १६ हजार ५३१ जनको पिसिआर परीक्षण गरिएको पनि प्रवक्ता गौतमले बताए।
हालसम्म कुल संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ४ सय २ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा ७ सय ८४ जना, भक्तपुरमा २ सय ४४ जना र ललितपुरमा ३ सय ७४ जना संक्रमित थपिएका छन्।
हालसम्म संक्रमण निको हुनेहरुको संख्या ८८ हजार ४० पुगेको छ। आज देशभर ७७ जना संक्रमितहरुको भेन्टिलेटरमा उपचार भइराखेको पनि प्रवक्ता गौतमले बताए।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या २१ रहेको छ। यससँगै हालसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ सय १५ पुगेको छ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ५ सय ३१ पिसिआर परीक्षण भएको छ। यससँगै हालसम्म कुल १२ लाख ५४ हजार १ सय ६७ पिसिआर परीक्षण भएको।
कोभिड १९ को बिरामीको उपचारमा प्रत्यक्ष रुपमा खटिएका स्वास्थ्यकर्मीलाई कोभिड १९ पोजेटिभ देखियो वा लक्षणहरु देखियो भने मात्रै क्वारेन्टाइन अथवा आइसोलेसनमा राख्ने व्यवस्था गरिएको प्रवक्ता गौतमले बताए। यसअघि अधिकांश अस्पतालमा एक साता काम गरेपछि अर्को साता आइसोलेसन वा क्वारेन्टाइनमा राख्ने गरिएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।