|

पर्वत : कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण हिमाली भेगबाट झारिने च्याङ्ग्रा कम आएपछि बजारमा च्याङ्ग्राको मासुको मूल्य आकासिएको छ।

विगतका वर्षमा हिमालपारिको जिल्ला मुस्ताङबाट करिब २५ हजार च्याङ्ग्रा बाहिरिएकोमा यस वर्ष बढीमा १० हजारसम्म मात्र बाहिरिने आकलन गरिएको छ। कोरोना जोखिमका कारण छिमेकी चीनबाट मुस्ताङ नाका हुँदै र डोल्पाबाट मुस्ताङ हुँदै म्याग्दी, बागलुङ, पर्वत, कास्की पुग्ने च्याङ्ग्रा झार्न नपाएपछि बजारमा मासुको मूल्य उच्च बनेको हो।

चीन र डोल्पाबाट आउने च्याङ्‍ग्रा रोकिँदा र मुस्ताङका कृषकहरूले पालेका च्याङ्‍ग्रा मात्र निर्यात हुँदा बजारमा एकाधिकार कायम भएको छ। जसका कारण खरिदकर्ताले नै महंगो मूल्य तिर्न बाध्य भएका छन्। 

अर्कोतर्फ बजारमा हुलका हुल च्याङ्‍ग्रा नहुँदा बिक्रेताका बीचमा पनि प्रतिस्पर्धा हुन पाएको छैन। च्याङ्‍ग्राको मूल्य मुस्ताङमा नै प्रतिगोटा २८-२९ हजारसम्म हाल्नुपरेको र बजारमा ३३-३४ हजारमा बेच्नुपरेको व्यापारीको भनाइ छ।

‘मुस्ताङमा नै छोइ नसक्नु भाउ तिरेको हो। तल झार्न गोठालालाई दिएको पारिश्रमिक, ट्रकमा राखेर गरेको ढुवानी, आफ्नो खर्च जोड्दा ३३-३४ हजारमा त बेच्नै पर्छ,’ कुश्माका व्यवसायी सागर जोशीले भने, ‘चीन र डोल्पाको भन्दा मुस्ताङको च्याङ्‍ग्रा केही सानो छ। यता मूल्य बढ्यो तर च्याङ्‍ग्राको तौल बढेन यही कारण महँगो भएको हो।’ 

बजारमा अहिले च्याङ्‍ग्राको मासु प्रति किलोको १५ देखि १८ सय रुपैयाँसम्म परेको उपभोक्ता बताउँछन्। अघिल्लो वर्ष २७-२८ हजार रूपैयाँमै बजारमा किन्न पाइएकामा यस वर्ष प्रति गोटामा पाँच हजारसम्म बढेको छ।

एकातर्फ मूल्य चर्को हुनु, अर्कोतर्फ लकडाउनको घोषणापछि चैतमा गाउँ गएका मानिसहरू अझै पनि गाउँमै रहेका कारण उपभोक्ताको सङ्ख्या पनि कम हुँदा गत वर्षको जस्तो च्याङ्‍ग्राको मासुको व्यापार नभएको मासु व्यवसायी ठाकुर भुसालले बताए। 

‘अघिल्लो वर्ष नवदुर्गा सुरु हुनु अगाडि नै १२-१३ ओटा च्याङ्‍ग्राको मासु बेचेको थिएँ, अहिले एउटा पनि काटेको छैन। अब नवदुर्गा सुरु भएपछिको माहौल कस्तो बन्छ हेरौँ,’ उनले भने, ‘च्याङ्‍ग्राको सट्टामा गाउँबाट ल्याइने स्थानीय जातका खसी बोकाकै माग बजारमा राम्रो छ। मासु पनि खाइने, सस्तो पनि पर्ने।’

यसबारे सोधिएका केही उपभोक्ताले पनि यस पटकको दशैँमा च्याङ्‍ग्राको मासुको स्वाद मात्रै चाख्ने काम गरे पनि त्यसैले छाक टार्न सकिने अवस्था नरहेको बताउँछन्।

कोरोना कहरका कारण रोजगारी गुमाएका, व्यापार व्यवसायमा घाट बेहोरेका तथा वैदेशिक रोजगारीबाट फर्किएर घरमै बसिरहेकाले महँगो मासु खरिद गर्न नसक्ने उनीहरूको भनाइ छ। 

हिमाली भेगका जडीबुटी खाएका च्याङ्‍ग्राको मासु खाँदा शरीरलाई फाइदा गर्ने भन्दै यस क्षेत्रमा कम्तीमा पनि वर्षमा एक पटक ऋण गरेरै भए पनि च्याङ्‍ग्राको मासु खानुपर्छ भन्ने मान्यता छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.