|

डोल्पा : डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले संरक्षणलाई प्रभावकारी बनाउन सरोकारवाला निकायसँग समन्वय बढाएको छ।

पछिल्लो समयमा निकुञ्ज संरक्षणलाई प्रभावकारी बनाउन जिल्लास्तरीय सरोकारवाला निकाय,जनप्रतिनिधि र निकुञ्ज क्षेत्रका जनतासँग सहकार्य बढाइएको निकुञ्‍जका अधिकारीहरूले जानकारी दिएका छन्‌।

​निकुञ्जप्रति सबैको अपनत्व भाव पैदा गराउन स्थानीय जनता, जिल्लास्तरीय सुरक्षा निकायका प्रमुख, स्थानीय सरकारका प्रमुखहरू, डिभिजन वन, नागरिक समाज र सञ्चारकर्मी लगायतका सरोकारवाला पक्षसँग पटक–पटक अन्तरक्रिया गर्ने गरिएको निकुञ्जले जानकारी दिएको छ।

देशका अन्य राष्ट्रिय निकुञ्जको तुलनामा वन, वन्यजन्तु र जडिबुटीका हिसाबले यस निकुञ्जले फरक महत्व बोकेकाले संरक्षण गर्ने दायित्व सबैको भएको निकुञ्जका अधिकारीहरू बताउँछन्‌। 

जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढाले प्रदेश र संघीय सरकारबाट आएका राष्ट्रिय निकुञ्ज विभागबाट अनुमतिप्राप्त विकास आयोजनाहरू सम्बन्धित मध्यवर्ती र निकुञ्जमार्फत सञ्चालन हुनुपर्ने बताए। निकुञ्जमा फिर्ता आएको राजश्वको रकमबाट गुणस्तरीय विकास गर्नुपर्ने बताउँदै डोल्पाली जनताको आम्दानीको मुख्य स्रोतको रुपमा रहेको यार्सागुम्बा संकलनमा डोल्पालीको मात्र एकाधिकार हुनुपर्ने उनको भनाइ छ।

एकैपटक बिसौँ हजार मान्छे यार्सागुम्बा पाटन छिर्दा वन, वन्यजन्तु र पर्यावरण संरक्षणमा चुनौति देखिएको निकुञ्जले जनाएको छ। निकुञ्ज क्षेत्रभित्र विकास निर्माण गर्न राष्ट्रिय निकुञ्ज विभागको अनिवार्य स्वीकृति लिनुपर्ने प्रष्ट रुपमा व्यवस्था भएकाले कानूनको परिपालना गराउनु आफ्नो दायित्व भएको प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए।

निकुञ्जले कतिपय व्यवहारिक कुरामा कानून पल्टाउन छाडेर समन्वय गरी समस्या समाधान गर्नुपर्ने जनप्रतिनिधिहरू बताउँछन्। शे–फोक्सुण्डोलाई निकुञ्ज वहुमूल्य जडिबुटी यार्सागुम्बाको भण्डार,दुर्लभ वन्यजन्तु हिउँचितुवाको बासस्थान, नेपालकै गहिरो फोक्सुन्डो ताल, रामसार सूचीमा सूचीकृत लगायतका पक्षबाट फरक महत्व बोकेको निकुञ्ज रुपमा समेत चिनिन्छ।

निकुञ्जले हिउँचितुवा,ब्वाँसो लगायतका वन्यजन्तु पीडित ६३ घर परिवारलाई १९ लाख ५५ हजार राहत रकम वितरण गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.