|

बाँके : कोरोना संक्रमितको उपचारमा प्लाज्मा थेरापी विधि बाँकेमा सोँचे जस्तो सफल नभएको तथ्यांकले देखाएको छ। 

बाँकेमा अहिलेसम्म २५ जना कोरोना संक्रमितको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएकामा नौजनामा मात्र सफल भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डिसिसिएमसी)का कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए। भेरी अस्पतालमा १७ र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा आठजना कोरोना संक्रमितको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको श्रेष्ठले बताए।

‘तीमध्ये नौजनामा मात्र सफल भएको छ,’ फोकस पर्सन श्रेष्ठले भेन, ‘प्लाज्मा थेरापी उपचार पद्धतिबा उपचार सन्तोषजनक देखिएन। तर निराश भइहाल्नुपर्ने पनि छैन।’

प्लाज्मा दिनेको एन्टिबडी जाँच गरिने

कोरोना संक्रमण भई स्वास्थ्यमा गम्भीर समस्या देखिएका बिरामीको भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा प्लाज्मा थेरापी विधिबाट उपचार हुने गरेको छ। 

कोरोना संक्रमितको एन्टिबडी जाँच नगरी प्लाज्मा निकाल्ने र बिरामीलाई दिँदा बिरामीको स्वास्थ्यमा अपेक्षा गरे जस्तो सुधार नआएको पाइएपछि चिकित्सकहरुको सुझावको आधारमा प्लाज्मादाताको एन्टिबटी जाँच गर्ने निष्कर्षमा पुगिएको श्रेष्ठले बताए।

‘कोरोना भाइरस संक्रमणमुक्त भएकाहरुको एन्टिबडी लेभल १ दशमलव ६ युनिटभन्दा बढी हुनु पर्छ,’ उनले भने, ‘तर अहिले एन्टिबडी जाँच नगरी धमाधम रगत दिने र बिरामीलाई चढाउने गरिएको छ।’

लक्षण देखिएका कोरोना संक्रमणबाट निको भएका व्यक्तिको एन्टिबडीबाट निकालिएको प्लाज्मामा कोरोना संक्रमणबाट गम्भीर बिरामी भएकालाई चढाउँदा कोरोना भाइरसलाई पराजित गर्न बल पुर्याएको अनुसन्धानले देखाएको छ। तर, लक्षण नदेखिएर कोरोना संक्रमितमा एन्टिबडीको मात्रा नपुग्ने गरेको भेरी अस्पतालका प्लाज्मा थेरापी उपचारका फोकल पर्सन डा. खगेन्द्रजंग शाहले बताउँछन्।

प्लाज्मा दिनेहरुको एन्टिबडी जाँच गरेर मात्र प्लाज्मा झिक्ने निर्णय जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले गरेको छ। यसअघि कोरोनामुक्त भएकाहरुले २८ दिनदेखि तीन महिनाभित्र प्लाज्मा दिँदै आएका थिए। एन्टिबडी जाँच नगरी झिकेको प्लाज्माले बिरामीलाई फाइदा नपुग्ने भएपछि जाँच गरेर मात्र झिक्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए। उक्त निर्णयलाई जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले अनुमोदन गरिसकेको छ।

एन्टिबडी जाँच बापत लाग्ने शुल्क बिरामीले व्यहोर्नुपर्ने डिसिसिएमसीले निर्णय गरेको छ। एन्टिबडी जाँचमा बिरामीले महँगो शुल्क तिर्नुपर्ने भएको छ। भेरी अस्पतालमा एन्टिबडी जाँच गर्ने ल्याब नभएकाले बिरामीले निजी ल्याबमा जाँच गराउनुपर्ने भएको छ।

एकजनाको एन्टिबडी जाँच गर्न एक हजार ५०० रुपैयाँ खर्च लाग्छ। एउटा बिरामीका लागि प्लाज्मा खोज्न तीन–चार जनाका एन्टिबडी जाँच गर्नुपर्ने पनि हुन सक्छ। डा. शाह भन्छन्, ‘कोरोना संक्रमण भई निको भएकाहरुमा एन्टिबडी भइसकेकाको मात्र प्लाज्मा झिकिने भएकोले धेरैको जाँच गर्नुपर्ने हुन सक्छ। यसले बिरामीलाई आर्थिक भार पर्न सक्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.