|

दैलेख :  दैलेखमा केही दिनदेखि घटेको कोरोना संक्रमण दर पुन: बढ्न थालेको छ। लक्षणसहितका बिरामीको सङ्ख्या बढ्दै गएपनि जिल्लामा सुरक्षा सतर्कता भने कमजोर देखिन्छ।   

११ वटा स्थानीय तहको मुख्य केन्द्र मानिने दैलेख बजारमा चाड पर्व नजिकिएसँगै मानिसको बाक्लो भीडभाड हुँदा पनि स्वास्थ्य सावधानीका उपायहरू नअपनाइनुले पनि जिल्लामा कोरोनाले महामारीको रूप लिनसक्ने देखिएको छ। 

स्वास्थ्यकर्मीहरू भन्छन्‌, 'चाडबाड नजिकिएसँगै बजार क्षेत्रमा मानिसको भीडभाड धेरै हुनु, कोरोना सङ्क्रमणबाट बच्न प्रयोग गरिने मास्क लगायतका सुरक्षा सामाग्रीको कम प्रयोग गरिनु, सामाजिक दुरीको ख्याल नहुनुले पनि जोखिम बढ्दै जाने देखिएको छ।'

यता जिल्ला प्रशासन कार्यालय दैलेखले सबैखाले सुरक्षा व्यवस्था कडा पारी नागरिकको स्वास्थ्य सुरक्षामा लागिरहेको दावी गरेको छ। एक सूचना जारी गर्दै प्रशासनको निर्णय विरुद्ध कसैले काम गरेका पाए कारबाही गरिने जनाएको छ। 

कुन स्थानीय तहमा कति सङ्क्रमित ?

११ वटा स्थानीय तह रहेको दैलेखमा शुक्रबार सम्म १२ सय तीन जनामा कोरोना संक्रमण देखिएको छ। कर्णालीमा सबैभन्दा पहिले कोरोनाका बिरामी फेला परेको दैलेखमा हालसम्म चार जना संक्रमितले ज्यान गुमाइसकेका छन्। 

स्वास्थ्य सेवा कार्यालय दैलेखले दिएको जानकारी अनुसार नारायण नगरपालिकामा सबैभन्दा धेरै ४३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। जसमध्ये ३७६ जना डिस्चार्ज भएका छन्। दुल्लु नगरपालिकामा १६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएका मध्ये १५३ जना डिस्चार्ज भएका छन्। 

यस्तै, चामुण्डा बिन्द्रासैनी नगरपालिकामा शुक्रवारसम्म २४ जनामा सङ्क्रमण देखिएको छ भने २३ जना डिस्चार्ज भएका छन्। आठबीस नगरपालिकामा ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा सबै डिस्चार्ज भएको स्वास्थ्य कार्यालयको विवरणमा उल्लेख गरिएको छ। 

ठाटिकाध गाउँपालिकामा २५ जनामा कोरोना देखिएकोमा सम्पूर्ण डिस्चार्ज भैसकेका छन्। ३३ जना कोरोना सङ्क्रमित रहेका भैरवी गाउँपालिकामा २४ जना डिस्चार्ज भएका छन्। १९१ जनामा सङ्क्रमित देखिएको महाबुु गाउँपालिकामा १ सय ९० जना डिस्चार्ज भएका छन्। 

नौमुले गाउँपालिकामा शुक्रवारसम्म कोरोना पुष्टि भएका सबै १५१ जना डिस्चार्ज भैसकेका छन्। १६ जना सङ्क्रमित देखिएको भगवतीमाई गाउँपालिकामा सबै डिस्चार्ज भैसकेका स्वास्थ्यको विवरणका उल्लेख छ। 

७८ जना कोरोनाका बिरामी रहेको डुंगेश्वर गाउँपालिकामा शुक्रवारसम्म ७७ जना डिस्चार्ज भएका छन् भने २५ जना कोरोना सङ्क्रमित रहेको गुराँस गाउँपालिकामा १३ जना डिस्चार्ज भएका छन्। जिल्लामा शुक्रबारसम्म कोरोना पुष्टि भएका १२ सय ३ जना मध्ये ११ सय १४ जना डिस्चार्ज भएका छन्। 

होटेल व्यवसाय बन्द गर्न आग्रह

कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय दैलेख होटेल व्यवसाय पूर्ण रूपमा बन्द गर्न आग्रह गरेको छ। शुक्रवार बसेको जिल्ला स्तरीय (डिसिसिएमसि)को बैठकले सदरमुकाममा सञ्चालनमा रहेका सम्पूर्ण होटेल व्यवसाय बन्द गर्ने निर्णय गरेको हो।

बैठकको निर्णयअनुसार कोरोना सङ्क्रमण पुष्टि भएका व्यवसाय गर्ने व्यवसायी र व्यवसायीको परिवारका सदस्यहरू प्रत्यक्ष संलग्न भई सञ्चालनमा रहेका पसल व्यवसाय र सेवाहरू पूर्ण रूपमा बन्द गर्नुपर्ने उल्लेख गरिएको छ। 

फेन्सी व्यवसाय गर्ने व्यवसायीहरूले विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारका स्वास्थ्य सुरक्षा सतर्कता मापदण्ड अनिवार्य प्रयोग गर्ने तथा अनिवार्य रूपमा व्यवस्था मिलाउन प्रशासनले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.