हुम्लास्थित भवनहरु आफ्नै भूमिमा बनेका हुन्

|

काठमाडौं : उत्तरी छिमेकी चीनले नेपालको भूमि नमिचेको कुरा फेरि दोहोर्‍याएको छ। ग्लोबल टाइम्सका अनुसार नेपालको हुम्लास्थित सीमा क्षेत्रको आफ्नै भूमिमा भवन बनेको दाबी चीन सरकारले गरेको हो। 

नेपालको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले अध्ययन टोली नै पठाएर चीनले सीमा पिल्लर नै नेपालतर्फ २ किलोमिटर भित्र सारेर मिचेको दाबी गरिरहेका बेला चिनियाँ अधिकारीहरुले फेरि यस्तो कुरा बताएका हुन्। 

सीमा मिचेको भन्दै नेपाली कांग्रेसले सरकारको विरोध गरिरहेको अवस्थामा हुम्ला नजिक बनाइएका भवन नेपालको सीमाभन्दा एक किलोमिटर भित्र आफ्नै भूमिमा रहेका चीनले जनाएको हो

चिनियाँ सरकारको मुखपत्र ग्लोबल टाइम्ससँग बुराङका काउन्टीका विदेशी मामिला निर्देशक बकीले चीनले सीमाभन्दा एक किलोमिटर उत्तरतर्फ नै भवन निर्माण गरेको बताएका हुन्। उनले भवन निर्माणका क्रममा गत मे मा नै विस्तृत सर्भे र नक्साङ्कन गरिएको जनाउँदै नेपालको भूमि मिच्ने कुरै नआउने जिकिर गरे। 

चिनले बुराङ काउन्टीअन्तर्गत नयाँ गाउँ स्थापना गर्न भवन निर्माणलाई तीव्र बनाइरहेको छ। ग्लोबल टाइम्सका अनुसार भवन निर्माणअघि नै जनमुक्ति सेना र स्थानीय सरकारी अधिकारीले फिल्ड सर्भे तथा नक्सांकन गरेका थिए। 

नेपालमा चीनले हुम्लास्थित ११ नम्बर पिल्लर क्षेत्रको सीमा मिचेको आवाज उठेसँगै फेरि फिल्ड सर्भे गरिएको थियो। त्यस बेला पनि चीनले आफ्नै भूमिमा भवन बनाएको निचोड चिनियाँ अधिकारीले निकालेका थिए। 

नेपालस्थित परराष्ट्रमन्त्रालयले समेत चीनले सीमा नमिचेको जनाएको छ। चीनले बनाएका भवन उसकै भूमितर्फ पर्ने परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताएका छन्। 

सरकारले हतारमा बोलेको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले यसको अध्ययन गर्न आफ्नै टोली पनि पठाएको थियो। पूर्वमन्त्री तथा कांग्रेस नेता जीवनबहादुर शाही नेतृत्वको टोलीले स्थलगत अध्ययनपछि चीनले २ किलोमिटरसम्म भित्र छिरेर नेपाली भूमिमा भवन बनाएको प्रतिवेदन दिएको थियो। 

तर, चिनियाँ पक्षले हुम्लाको अति नै उच्च भागमा रहेका पिल्लरबारे हचुवामा बोल्न नहुने बताउँदै आएको छ। पिल्लर नम्बर ११ र १२ उच्च हिमाली भागमा रहेको जनाउँदै चीनले सर्भेको ज्ञान नभएकाहरुले अध्ययन गर्न नसक्ने पनि बताएको छ।

कांग्रेस प्रो-इन्डियन

चीनले नेपालको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई प्रो-इण्डियनको संज्ञा दिएको छ। बकीसँगको कुराकानीका क्रममा ग्लोबल टाइम्सले नेपालको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई प्रो-इन्डियनको संज्ञा दिएको हो। 

'चीनसँग सीमा विवाद भएको भनेर दावी गरिरहेको नेपाली कांग्रेस प्रो-इण्डियन दल देखियो', ग्लोबल टाइम्सले भनेको छ, 'भारतीय मिडियाले चीनसँगको सीमा विवादलाई अनावश्यक उचालिरहेका छन्।'

भारतले लामो समयदेखि कालापानीमा नेपाली भूमि मिचिरहेको जनाउँदै चीनले अतिक्रमित क्षेत्र समेटेर नेपालले नयाँ नक्सा पनि निकालेको स्मरण गरेको छ।

भारतले मिचेको भूमिसहितको भूमि समेटेर नयाँ नक्सा निकालेपछि नेपाल-भारत सम्बन्धमा तनाव बढेको पनि चीनले जनाएको छ। उसले भारतले मिचेको भूमि फिर्ता गराउने नेपालको अभियानलाई पनि चीनतर्फ जोडेर कमजोर बनाउन खोजिएको हुन सक्ने पनि उल्लेख गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.