काठमाडौं : साहित्यकार देवेन्द्र केसी ‘देवु’को मुक्तक संग्रह ‘इमानको पहाड’ र गीति एल्बम ‘यस्तै भयो यो जुनीमा’ सार्वजनिक गरिएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा साहित्यकार एवं पूर्वअर्थमन्त्री शंकर कोइरालाले दुवै कृति सार्वजनिक गरेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धकसमेत रहेका केसीले यसअघि नै तीनवटा कृति प्रकाशन गरिसकेका छन्। इमानको पहाड कृतिमाथि टिप्पणी गर्दै युवा समालोचक महेश पौड्यालले केसीमा कोमल, नरम र हृदय संवेद्य शब्दहरूको संयोजन गरेर काव्य रचना गर्ने अद्भुत सामर्थ्य रहेको बताए।
पौडेलले केसीमा कठोर अभिव्यक्ति दिनुपर्ने विषय र सन्दर्भमा समेत सुकोमल शब्दको प्रयोगबाट मुटु छेड्ने प्रस्तुति दिने कला लोभ लाग्दो रहेको टिप्पणी गरे। यो जुनीमा यस्तै भयो एल्बममाथि बोल्दै उक्त एल्बमका संगीतका शक्ति बल्लभले निकै सरल शब्द, सहज अभिव्यक्ति र सुन्दर अनि कलात्मक प्रस्तुति केसीका गीतमा रहेको बताए।
लोक जीवनका विम्ब, पौराणिक कथाका पात्रलाई समेत गीतमा उन्न सक्ने केसीको खुबीको शक्ति बल्लभले प्रशंसा गरे। समालोचक, कवि घनेन्द्र ओझाले देवेन्द्र केसीका रचनामा प्रकृति र इमानको अत्यन्त धेरै प्रयोग भएको बताए। लोक जीवनमै जन्मेहुर्केका केसीको लोकसाहित्य, लोक कला र लोक संस्कृतिप्रतिको प्रेम उदेकलाग्दो भएको ओझाको टिप्पणी थियो।
गीतकार संघका अध्यक्ष चूडामणि देवकोटाले सुन्दर, राष्ट्रप्रेम युक्त र कलात्मक गीत रचना गर्ने केसीको गीत लेखनमा निरन्तरताको कामना गरे। गीतकार, कवि शंकर कोइरालाले देवेन्द्र केसी कविता, मुक्तक र गीत तीनवटै विधामा सशक्त रहेका बताउँदै अवकाशपछिको जीवन साहित्य र संगीतमै समर्पित गर्न सुझाव दिए।
कवि, गीतकार केसीले प्रकृति र संगतका कारण साहित्यमा लागेको बताउँदै साथीभाइ र परिवेशले आफू यतातर्फ निरन्तर होमिएको सुनाए। गीति एल्बम 'यो जुनीमा यस्तै भयो'मा शक्ति बल्लभको एकल संगीत रहेको छ भने चर्चित गायकहरू आनन्द कार्की, शिशिर योगी, स्वरूपराज आचार्य, मिलन नेवार, नवीन कार्की, सुमित खड्का र शक्ति बल्लभ स्वयंले स्वर दिएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।