|

 काठमाडाैं :  डा. सुधा शर्माको संस्मरणात्मक कृति ‘सिंहदरबारको घुम्ने मेच’ सार्वजनिक भएको छ।

 डा. शर्मा योग्यताले प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुन्। उनले २०६५ असोजदेखि २०६८ मंसिरसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सचिवको कार्यभार सम्हालेकी थिइन्।

डा. सुधाको पुस्तकमाथि शुभकामना व्यक्त गर्दै पूर्वराष्ट्रपति रामवरण यादवले प्रतिक्रिया व्यक्त गरे। 'यो पुस्तकमा तपाईंले आफ्नो प्रशासनिक र डाक्टरी जीवनको सारा अनुभव सँगालेर राखिदिनुभएको छ, यसले आउने पुस्तालाई केही सिक्ने मौका दिन्छ', पूर्वराष्ट्रपति यादवले भने।

 यस पुस्तकमा शर्माको निजी साहस र सरकारी सेवामा रहेका सीमित महिला सचिवहरूले सामना गरेका ऐतिहासिक असहजताको वर्णन गरिएको छ जो २०६२/६३ को विद्रोहपछि निर्माण भएको सरकारका निम्तिसमेत चुनौतीपूर्ण रह्यो।

जुन सरकारले महिलाहरूको समानुपातिक प्रतिनिधित्वलाई आफूले सर्वोच्च प्राथमिकतामा राखेको उद्घोष गर्थ्यो, त्यही सरकार सशक्त महिला नेतृत्व स्वीकार्नका निम्ति असहजता महसुस गर्ने रोगले ग्रस्त थियो। 

बुद्धि र व्यंग्यका साथ चनाखो पारामा लेखिएको यो पुस्तक त्यसबेलाका घटनाहरूको चाखलाग्दो दस्तावेज हो, जुन घटनाले २०६३ को विद्रोहलाई निम्त्यायो। साथै ‘नयाँ नेपाल’को समायोजनका क्रममा ब्युरोक्रेसी भित्रको उबडखाबड बाटो हिँड्दाको अन्तरकथा पनि हो यो पुस्तक।

‘डा. शर्माको पुस्तक एक महिलाको कथा हो, जसले पितृसत्ताको असक्षम संरचनामाथि उभिएको ऐनाको महललाई प्रहार गर्ने आँटको कथा बोकेको छ,’ नेपालय पब्लिकेसन्सका सम्पादक भूषिता वशिष्ठ भन्छिन्, 'यस पुस्तकले नेपालमा पहिचान र लिंगमाथि चल्ने छलफलबीच अर्थपूर्ण आयाम थप्नेछ।'

यो पुस्तक नेपालयले यसवर्षका निम्ति तय गरेको महिला शृङ्खला-२०२० अन्तर्गतको अन्तिम प्रकाशन हो। यसअघि दुर्गा कार्कीको कुमारी प्रश्नहरू र भुवन ढुंगानाको परित्यक्ता सार्वजनिक भइसकेका छन्।

‘महामारी र बन्दाबन्दीका बीच हामी हाम्रा प्रकाशनलाई सुस्तरी तर निरन्तरताका साथ सार्वजनिक गरिरहेका छौं,’ नेपालय पब्लिकेसन्सका सिइओ सैजन मास्के भन्छिन्, ‘गत महिना हामीले हाम्रो पहिलो प्राइमरी ई-पुस्तक विमोचन गर्‍यौं। नेपाली पाठकहरूले सहज संचालन गर्नसक्ने प्लेटफर्महरूमा हाम्रा अघिल्ला प्रकाशनहरू अपलोड गर्दै अघि बढ्नु, डिजिटल पहुचलाई दुरुस्त पार्ने हाम्रो प्रयास हो। यसले कठिनाइका बीचमा पनि पुस्तक बजारलाई चलायमान राख्न मद्दत पुर्‍याउँछ भन्ने हाम्रो विश्वास छ।’

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.