|

बुटवल : दशैं सुरु भइसकेको छ। दशैंको बेला विगतका वर्षहरुमा बजारमा किनमेल गर्नेको घुइँचो लाग्ने गर्थ्यो। तर, यो वर्ष कोरोना भाइरस संक्रमणका कारण बजार क्षेत्र सुनसान छ। सडकमा मानिसको आवतजावत बाक्लै देखिए पनि चाडबाडका बेला बढी घुइँचो खाद्यान्न, लत्ताकपडा, इलेक्ट्रोनिकलगायतका पसलमा भने ग्राहकको चहलपहल छैन।

अघिल्ला वर्षको तुलनामा यस वर्षको दशैंमा व्यापारिक गतिविधि ह्वात्तै घटेपछि व्यवसायीहरू चिन्तित छन्। ऋणधन गरेर सामानको जोहो गरी ग्राहक कुरेर बसेका व्यवसायीहरु ग्राहक नआएपछि लगानी डुब्ने अवस्थामा पुगेका छन्। लामो समय लकडाउनमा बजार बन्द गरेर बसेका उनीहरु चाडपर्वमा पनि सोचेजस्तो व्यापार नभएको बताउँछन्।

बुटवलको मुख्य बजार क्षेत्र हाटबजार लाइन, संगमपथ, राममन्दिर लाइन, अमरपथ, ट्राफिक चोक, बीपीचोकलगायतका क्षेत्र सुनसान छन्। पसलहरू सबै खोलिएका छन्। तर, ग्राहक भने देखिँदैनन्। बुटवलको मुख्य व्यापारिक केन्द्र अमरपथमा १० वर्षदेखि कपडाको होलसेल पसल सञ्चालन गर्दै आएका कृष्ण पाण्डेले आफूले व्यवसाय सुरु गरेपछि बजार सुनसान रहेको यो पहिलो अनुभव भएको बताए। लकडाउन हुनुअघि उनको पसलमा चारजना स्टाफ थिए। आफूसहित पाँचजनालाई भ्याइनभ्याइ हुने गरेको उनले स्मरण गरे।

बाहिरी जिल्लाहरुबाट समेत उनको पसलमा सामान खरिद गर्न व्यापारीहरु आउँथे। तर, लकडाउनमा लामो समय उनको पसल बन्द भयो। कोरोना जोखिमकै बीचमा पसल खोले पनि अहिले कारोबार अत्यन्तै कम छ। बाहिरबाट समेत सामान खरि गर्न ग्राहक आएका छैनन्। बजार सुनसान भएर व्यापार नभएपछि अहिले उनको पसलमा दुई जना मात्रै स्टाफ छन्।

‘व्यापार छैन, यो ठाउँमा सटर भाडा महँगो छ,’ उनले भने, ‘चार महिना पसल बन्द गरेरै भाडा तिरियो। अहिलेको व्यापारले दैनिकी चलाउनसमेत गाह्रो भएको छ।’

लामो समयको लकडाउनले व्यापार धरासायी अवस्थामा पुनः पसल सञ्चालन गरेका मनु गिरीको पनि भनाइ उस्तै छ। उनको बुटवलको संगमपथमा रेसुङ्गा बस्त्रालय छ। उनले लामो समयदेखि कपडाको होलसेल र खुद्रा कारोबार गर्दै आएका छन्। लकडाउन खुकुलो भएसँगै स्वास्थ्य सावधानी अपनाएर पसल खोले पनि ग्राहक खासै नआएका उनले बताए। 

त्यस्तै बुटवलको अर्को धेरै भिडभाड हुने हाटबजार क्षेत्रका व्यवसायीहरुले पनि बजारमा ओहोरदोहोर गर्नेले चहलपहल बढे पनि किनमेल गर्ने कम भएको बताउँछन्। पसलमा अत्यावश्यक सामान मात्रै खरिद गर्न ग्राहकहरु आउने गरेको उनीहरुले बताए। अझै केही समय यसरी नै बजार सुनसान हुने र कोरोना महामारी पनि नहराउने हो भने व्यवसायनै परिवर्तन गर्नुपर्ने अवस्था आउने उनीहरुको अनुमान छ।

दैनिक उपभोग्य सामग्रीको कारोबार गर्ने पसलमा ग्राहकहरु देखिए पनि अन्यमा कारोबार ठप्पजस्तै रहेको छ। सरकार उद्योगी व्यवसायीहरुकोे व्यवसाय बचाउनेभन्दा कसरी उनीहरुबाट कर असुल गर्न सकिन्छ भन्ने विषयमा मात्रै केन्द्रित रहेको व्यवसायीहरुको आरोप छ। बैंकबाट आइरहने फोनले झनै तनाब थपिएको व्यवसायीहरु बताउँछन्।

दशैंमा बढी बिक्री हुने विद्युतीय सामग्री, ल्यापटप, मोबाइलको बजार पनि घटेको छ। अहिले बजार विस्तार व्यापक रूपमा भएकोले चाडबाडमा मात्रै मानिसले यस्ता सामान किन्ने चलन परिवर्तन हुँदै गएको व्यवसायीहरुको बुझाइ छ। अझै यो वर्ष कोरोनाका कारण विद्युतीय सामग्रीको व्यापार घटेको व्यवसायीहरु बताउँछन्। 

त्यसो त पछिल्लो समय अधिकांश ग्राहकले बजारमा गएर सरसामान किन्नुभन्दा अनलाइनबाटैै किन्न सुरु गरेका छन्। कोरोनाको जोखिमका कारण बाहिर निस्कन छाडेपछि भरपर्दो र सजिलो तरिका नै अनलाइन सपिङ भएको भन्दै ग्राहक बजार आउन छोडेका हुन्। पछिल्लो समय कोरोनाको जोखिमले गर्दा ५० प्रतिशतभन्दा बढी ग्राहक अनलाइन माध्यमबाट किनमेल गर्ने हुँदा बजार खुले पनि सर्वसाधारणको बजारप्रतिको आर्कषण बढ्न नसकेको व्यापारीहरु बताउँछन्।

लकडाउनको समयमा पनि छिटोछरितो रूपमा घरमै सामान आउने हुनाले अधिकांश अनलाइन सपिङतर्फ आकर्षित भए। त्यसमा पनि कपडा र ग्याजेट जस्ता सामानको मात्रै अनलाइन सपिङ गर्ने पद्धति विकास हुँदै सामान्यभन्दा सामान्य दैनिक प्रयोगमा आउने भान्साका सामान तरकारीदेखि दिउँसोकोे खाजासम्म अनलाइन अर्डर गर्दा घरैसम्म आउने हुँदा अधिकांश ग्राहक लकडाउन खुले पनि बजारमा नदेखिएका हुन्।

पछिल्लो समय देशमा लक्षणसहितका कोरोना संक्रमितको संख्या प्रत्येक दिनजसो बढ्दै गएको छ। सरकारले नागरिकको जनजीवन सहज बनाउनका लागि लकडाउन खुलाएर सहज बनाउन प्रयास गरे पनि कोरोना भाइरसको जोखिम अझै कम भएको छैन। हरेक दिन बढ्ने क्रम जारी छ। संक्रमणबाट ज्यान गुमाउनेको संख्या पनि बढ्दो क्रममा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.