|

सुर्खेत : कर्णाली प्रदेश प्रहरीले दशैँ तिहारलाई लक्षित गरी सुरक्षा योजना बनाएको छ। प्रदेशमा नागरिकको  सुरक्षाका लागि तीन हजार ७ सय ८९ प्रहरी परिचालन गरिने भएको छ।

नेपालीहरूको महान् चाड दशैँ, तिहार लगायतका पर्वको समयमा हुन सक्ने अवाञ्छित र आपराधिक गतिविधि नियन्त्रण तथा सडक सुशासन कायम गर्न कर्णाली प्रदेशमा प्रहरीले नागरिकको सुरक्षाका लागि प्रहरी परिचालन गर्ने भएको हो।

प्रदेश प्रहरी कार्यालयलगायत १० वटै जिल्ला प्रहरी कार्यालयबाट निगरानी तथा सूचना संकलनका लागि सादा पोसाकमा समेत गरी जम्मा तीन हजार ७ सय ८९ प्रहरी जनशक्ति खटाइएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जनाए।

सुरक्षा कार्ययोजनाअन्तर्गत सडक सुशासन सार्वजनिक यातायातका साधनहरुको सहज आवागमन र दुर्घटना न्यूनीकरणका लागि सिसिटिभी लिडरस्पिड राडार गन लगायतका प्रविधिहरूको उच्चतम प्रयोग गर्दैछौं, प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘यो अवधिमा आइपर्ने विपदबाट बचाउन क्यूआराटी, रिजर्भ र उद्धार टोलीसमेतको प्रभावकारी व्यवस्था गरिनेछ।‘

त्यसैगरी, खाद्यान्न लगायत अत्यावश्यक वस्तुहरुको मिसावट, कालोबजारी रोकथाम तथा सहज आपूर्ति व्यवस्था, पकेटमार, चोरी, लुटपाट, गुण्डागर्दी र ठगी नियन्त्रण, सार्वजानिक सवारीमा यात्रा गर्दा यात्रुहरु ठगिन नदिने र सामान झोला छुटी हराउन गएमा खोजतलास गर्ने गराउने बैंक, वित्तिय संस्था तथा आर्थिक कारोबार बदी हने स्थानहरूको सुरक्षा व्यवस्था गरिने उनले बताए।

कर्णाली प्रदेश तथा मातहत कार्यालयहरुमा चाडपर्व अवधिभर अवाञ्छित, आपराधिक गतिविधि तथा सवारी दुर्घटना नियन्त्रण गर्न प्रदेश प्रहरी कार्यालयसहित मातहत जिल्लाहरूमा एक/एक वटा कमाण्ड सेन्टरको स्थापना गरिएको छ। त्यसले यो अवधिमा आइपर्ने सबै गतिविधि रेखेदेखको कमाण्ड गर्ने प्रवक्ता श्रेष्ठले जनाए।

प्रदेश प्रहरीले कमाण्ड सेन्टरमार्फत चाडपर्वको अवसरमा हुन सक्ने चोरी तस्करी तथा लागुऔषधको ओसारपसार, जुवातास, डाइस, (लंगुर गुर्जा) कौडा खेल्ने पटकालगायत अन्य विष्फोटक पदार्थहरूको आयात र प्रयोग, तिहारको समयमा हुन सक्ने झै–झगडा र आगलागी जस्ता सम्भावित अन्य विवादको पूर्णतया रोकथाम नियन्त्रण कार्य अघि बढाएको छ।

सुरक्षा कार्ययोजनाअनुसार भिआइपी, सरकारी कार्यालयहरू र महत्‍वपूर्ण प्रतिष्ठान, मठ, मन्दिर, क्वारेन्टिन तथा आइसोलेशन सेन्टर सुरक्षा व्यवस्था तथा नागरिक सहायता कक्षाहरुको स्थापना, अपराध नियन्त्रण तथा सवारी दुर्घटना नियन्त्रणको लागि आरएससीसी अवधारणाअनुरूप नियमित एवं आकस्मिक चेक प्वाइन्ट, मोबाइल, पैदल एवं मोटर साइकल गस्ती गरिने समेत जनाइएको छ।

प्रहरीले चाडपर्व अवधिभर राजमार्ग क्षेत्रमा सुरक्षा तथा ग्रामीण इलाकामा मोबाइल गस्तीसमेत गर्ने भएको छ।

त्यस्तै, यस प्रदेशमा नियमित चेक प्वाइन्ट २८, आकस्मिक चेक प्वाइन्ट ट्राफिकसहित ३९, यात्रु सहायता कक्षा २४, पिकेट ७४, झै–झगडा, चोरी, लुटपाट, जुवातास, मादक पदार्थ सेवन नियन्त्रण ६७, धार्मिक तथा पर्यटकीयस्थल सुरक्षा २०, बजार अनुगमन टोली १७ र बैंक, वित्तीय संस्था तथा आर्थिक कारोबार बढी हुने ३१ स्थान पनि सुरक्षा व्यवस्था गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए।

राजमार्ग स्कटिङ, क्वारेन्टिन र आइसोलेसन सुरक्षामा ड्युटी दिने जनशक्ति भने आवश्यकताअनुसार व्यवस्था गरिने प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशले जनाएको छ। कोभिड–१९ को संक्रमण बढ्दै गएकाले सरकारले जारी गरेका सुरक्षा मापदण्ड नियमित पालना गर्न प्रहरीले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.