|

पर्वत : कोरोना संक्रमण पोजेटिभ रहेको अवस्थामा पर्वतमा एक महिलाको मृत्यु भएको छ।

बागलुङको बागलुङ नगरपालिका–१३ घर भई पर्वतको कुस्मा नगरपालिका–५ मेलमिलापचोक स्थित होम आइसोलेसनमा रहेकी ४८ वर्षिया महिलाको आइतबार साँझ सात बजे मृत्यु भएको हो।

उपचारका लागि पोखरास्थित मेट्रोसिटी अस्पतालमा पुगेकी ती महिलालाई स्वाब लिइएकोमा मृत्यु भएकै दिन आइतबार नै कोरोना संक्रमणको पुष्टि भएको थियो। ती महिलामा मधुमेहको पनि समस्या रहेको र उनको मृत्युसँगै प्रदेशमा कोरोना पोजेटिभ रहेको अवस्थामा मृत्यु भएकाको संख्या ५१ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ।

संक्रमणको पुष्टि भएपछि उनी उपचारका लागि गएको मेट्रोसिटी अस्पतालले भने कोरोनाको विषयमा बेवास्ता गरेको यो घट्नाले पुष्टि गरेको छ। महिलामा सङ्क्रमण रहेको थाहा पाएपछि होम आइसोलेसनमा बस्न भन्दै उनलाई घर पठाइएको पाइएको छ।

ती महिला पर्वत सदरमुकाम कुस्मा बजारमा आएको बारेमा न त स्थानीय प्रशासनलाई थाहा भयो न त स्वास्थ्यकर्मीहरूलाई नै। मेट्रोसिटीले कोरोना सङ्क्रमित महिला पर्वत आउँदै गरेको भनी पर्वतका सम्बन्धित निकायमा जानकारी नगराएका कारण उनी घर फर्किने क्रममा कति जनाको सम्पर्कमा रहिन भन्ने यकिन हुन सकेको छैन्।

एक जना स्थानीयका अनुसार मृतक महिला आइतबार बिहान बागलुङ जाने जिपमा आएर सदरमुकाम कुस्माको साझाचोकमा झरेकी थिइन्। उनी केही बेर सडक छेउमा छटपटिए जस्तै अवस्थामा रहेकी थिइन्। लगत्तै उनका श्रीमानले ट्याक्सी बोलाएर उनलाई घरमा लगेका थिए।

पर्वत अस्पतालका चिकित्सहरुले आफूहरूलाई सङ्क्रमित महिला कुस्मामा रहेको भन्ने बारेमा जानकारी नभएको र उनी आएको थाहा पाएको भए होम आइसोलेसनमा नराखी कोरोना अस्पताल (अस्थायी) को आइसोलेसनमा राखेर बचाउने प्रयास गरिने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.