थापाथलीमा खसी किन्‍नेको ठेलमठेल भिड (भिडियोसहित)

|

काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय थापाथलीमा यतिखेर दृश्य देख्न सकिन्छ,‘न सामाजिक दूरी कायम, खसी राख्ने ठाउँमा भिडभाडले एउटा पाइला टेक्ने ठाउँसमेत छैन। खसी जोख्ने ठाउँमा ठेलमठेल छ।’ तर, पनि उपभोक्ता एउटा खसीको लागि तँछाडमछाड गर्न छोडेका छैनन्।

भिडभाड व्यवस्थापन गर्ने प्रहरी टुलुटुलु हेरेर बसिरहेका देखिन्छन्। सोही ठाउँमा खसी किन्न आएका दक्षिणकालीका रामशरण खड्का भन्छन्,‘डेढ घण्टा लाइनमा बसेर बल्ल एउटा खसी त पाएँ। अब जोख्नको लागि तीन घण्टा नै लाइनमा बस्नुपर्ने अवस्था छ। भिडभाडले भित्र बस्न नसकेर बाहिर बसिरहेको छु।’ कोरोना महामारीमा यी भिडभाड व्यवस्थापन गर्न नसक्नु खाद्य व्यवस्थाको ठूलो कमजोरी रहेको उनी बताउँछन्।

​ बिहानदेखि लाइनमा बसेर पनि सोचेको जस्तो खसी,बोका पाउन नसकेको उपभोक्ता गुनासो गर्छन्। पुतलीसडकका राज कुमार केसीले भने जस्तै खसी आयत हुन नसकेको बताए। ‘खसी लिन बिहानै आएको थिएँ,’उनले भने,‘भने जस्तै खसी पाउन सकेको छैन।’ अर्का बौद्धबाट खसी किन्न आएका मोहन राज कार्कीले पनि सहज रूपमा खसी पाउन नसकेको गुनासो पोखे।

उनले भने,‘भिडभाडले कोरोना संक्रमण फैलिन्छ कि भन्ने डर छ। केही व्यवस्थापन छैन रहेछ। यसरी त किन खसी बाँड्नु बन्द गरे भइहाल्यो।’ सरकारले तोकेको स्वास्थ्य मापदण्ड कुनै पालना नगरिएको भन्दै खसी वितरणको लागि सबै व्यवस्थापन गरेर मात्रै बाँड्न उनको माग छ।

सीमित जनशक्ति भएकाले भिडभाड व्यवस्थापन गर्न सकेनौँ : खाद्य व्यवस्था कम्पनी

 खाद्य व्यावस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक प्रमुख पवित्र गौतमले जनशक्ति सीमित मात्रै भएकाले खसीबोका वितरणमा समस्या भएको सुनाए। ‘हामीसँग सीमित जनशक्ति भएकाले भीडभाड व्यवस्थापन गर्न सकेनौँ,’उनले भने,‘यति धेरै उपभोक्ता खसी लिन आउँछन् भनेर सोचेका पनि थिएनौँ। त्यसैले भिडभाड बढ्यो।’

उनका अनुसार अरु ठाउँमा भन्दा त्यहाँ कम मूल्यामा खसी,बोका पाईने भएकाले पनि धेरै भीडभाड भएको हो। खाद्य कम्पनीले जिउँदो प्रतिकेजी पाँच सय ५० रुपैयाँ दरले खसी,बोका विक्रि वितरण गरिरहेको छ। खसी, तत्कालको लागि खसी,बोका एक हजार वटा विभिन्न जिल्लाबाट आयात गर्ने लक्ष्य लिएको उनले जानकारी दिए।

‘अहिले ६ सय पाँच वटा खसी,बोका भित्रिएको छ,’उनले भने,‘कोरोनाका कारण च्यांग्रा ल्याउन सकेनौँ।’ भोलीबाट विक्रि वितरणमा व्यवस्थापन गरी सहज बातावरण बनाउने उनको भनाई छ। उनका अनुसार खसीको स्वास्थ्य परिक्षण गरी स्वच्छ मासु मात्रै वितरण गर्ने गरिएको छ।

 

सबै तस्बिरहरु: शिला तिम्सिना

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.