|

काठमाडौं : सरकारले नेपाली सेनाको टोली नपुगेको ठाउँमा मृत संक्रमितको शव परिवारका सदस्य आफैंले व्यवस्थापन गर्न भनेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले कोभिड-१९ संक्रमितको शव व्यवस्थापन परिवारका सदस्य आफैंले पनि गर्न सक्ने गरी नीति परिवर्तन गरिएको बताए। 

'कोभिड १९ को संक्रमण भइ घरकै आइसोलेसनमा मृत्यु भएमा गरिने व्यवस्थापनमा केही अलमल भएको छ। धेरै प्रश्‍न पनि उठेका छन्', गौतमले भने, 'धेरै धार्मिक समुदायले आफ्नै संस्कृति अनुसार दाहसंस्कार गर्न पाउनुपर्ने माग गरेका छन्। आफ्नो धर्म संस्कृति अनुसार व्यवस्थापन गर्न सक्नेलाई हामीले बाटो खोलिदिएका हौं।'

गौतमले मृत शरीरबाट कोरोना रोग सर्ने सम्भावना कम हुने बताए। 'कोरोना थुकबाट सर्छ, मृतकले थुक निकाल्ने कुरा भएन। शरीरबाट निस्केको झोल पदार्थसँग सतर्क रहँदै शव व्यवस्थापन गर्न सकिन्छ। तर मास्क र पञ्‍जाको व्यवस्था अनिवार्य हुनुपर्छ', उनले भने, 'यस्तो व्यवस्थापन गरिरहँदा हाल नेपाली सेनाले गरिरहेको शव व्यवस्थापन कार्य निरन्तर रहन्छ। नेपाली सेना नपुगेको अवस्थामा तथा परिवारले आफैं दाहसंस्कार गर्छु भनेको खण्डमा हामीले रोक्ने कुरा हुँदैन। सरकारले शव व्यवस्थापन गर्दैन भन्‍ने कुरा हल्ला मात्रै हो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.