|

काठमाडौं : सत्तारुढ नेकपाका दुईजना सांसदले दशैं भत्ता बापत आफ्नो खातामा आएको रकम अस्पताल र मिर्गौला पीडितलाई दिने भएका छन्। भक्तपुर क्षेत्र नं. २ का सङ्घीय सांसद एवं पूर्वमन्त्री महेश बस्‍नेतले यस वर्षको दशैं भत्ताबापतको रकम भक्तपुर अस्पताललाई हस्तान्तरण गरेका छन्। 

अस्पतालमा सेवा लिन आउने गरीब, विपन्न र असहाय बिरामीको उपचारका लागि खर्च गर्ने गरी आज उनले त्यो रकम हस्तान्तरण गरेका हुन्। 

नेकपाका केन्द्रीय सदस्य बस्नेतले अस्पताल पुगेर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाल र  मेडिकल सुपरिटेण्डेण्ट डा. सुमित्रा गौतमलाई ६५ हजार हस्तान्तरण गर्दै जीवन शैली सरल र पारदर्शी बनाउनु आवश्यक रहेको बताए। उनले चाडपर्व तडकभडक गरेर मनाउनुभन्दा  गरीब र असहायलाई सहयोग गर्नुपर्नेमा जोड दिए। 

अहिलेको विषम परिस्थितिमा कोरोना सङ्क्रमण नियन्त्रणमा सबैले आआफ्ना क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिँदै उनले सबै स्थानीय सरकारलाई आफ्ना स्थानीय तहमा अस्पताल निर्माण गर्न आह्वान गरे। 

सांसद बस्‍नेतले अस्पतालमा कोभिड-१९ का बिरामीको उपचारबारे जानकारी लिँदै अतिसघन कक्ष र कोभिड ब्लकको अनुगमनसमेत गरेका छन्। 

हाल ६ शय्याको भेन्टिलेटरसहित १५ शय्याको आइसोलेशन  सञ्चालन भइरहँदा कोभिड बिरामीको चाप अत्याधिक बढेपछि आजदेखि थप आठ शय्या थपेर अक्सिजन आवश्यक पर्ने कोभिड बिरामीको उपचार गरिएको अध्यक्ष सुवालले बताए।

सरकारले कोभिड बिरामीको उपचारका लागि १०० शय्या थप गर्न रु एक करोड १० लाख बजेट पठाए पनि ठाउँ र भवन अभाव हुँदा समस्या परेको जनाउँदै मेसु डा. गौतमले ठाउँका लागि कतै व्यवस्थापन भए सहज हुने बताइन्। 

मिर्गौलापीडितलाई भत्ता

उता तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले दशैँ भत्ता जिल्लाका मिर्गौलापीडितलाई सहयोग गर्ने घोषणा गरेका छन्। 

संसद् सचिवालयले सांसदलाई उपलब्ध गराएको दशैँ खर्चबापतको ६४ हजार सांसद श्रेष्ठले व्यास नगरपालिकाका विभिन्न वडाका चार मिर्गौलापीडितलाई सहयोग गर्ने घोषणा गरेका हुन्। 

उनको घोषणा अनुसार व्यास नगरपालिका-१ का अमृतबहादुर खत्री, व्यास नगरपालिका-४ का अब्दुल गफ्फार मियाँ, व्यास नगरपालिका-१२ का अनुप क्षेत्री र व्यास नगरपालिका-१४ का सन्तोष रानालाई १६-१६ हजार सहयोग गरिनेछ।

देशमा विषम परिस्थिति र नागरिक समस्याग्रस्त भएको अवस्थामा दशैँ खर्चबापतको रकमको औचित्यका बारेमा धेरैतिरबाट आवाज उठेकाले उक्त रकम मिर्गौलापीडितलाई दिने सांसद श्रेष्ठले बताए।

सांसदका रुपमा निर्वाचित भएर शपथ ग्रहण गरेपछि अहिलेसम्मको सबै महिनाको पारिश्रमिक तनहुँका विभिन्‍न सङ्घसंस्था र समुदायलाई क्रमशः उपलब्ध गराउँदै आएको स्मरण गराउँदै उनले भविष्यमा पनि उक्त सहयोगलाई निरन्तरता दिने घोषणा गरे।

'अहिले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ का कारण नागरिक आक्रान्त बनेका छन्', उनले भने, 'देश विषम परिस्थिति र नागरिक आर्थिक कठिनाइमा परेका बेला समस्याग्रस्त नागरिकलाई सहयोग गर्नु सबैको जिम्मेवारी हो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.