कात्तिक ३० सम्म अन्तर्राष्ट्रिय सीमानाका बन्द

|

काठमाडौं : मन्त्रिपरिषदको २६ गते सोमबार बसेको बैठकले अन्तराष्ट्रिय खुला सिमानामा हुने आवागमन कात्तिक ३० गते आइतबार मध्यरात सम्मका लागि स्थगित गर्ने पुरानो व्यवस्थालाई निरन्तरता दिने निर्णय गरेको पनि मन्त्री गुरुङले बताए। 

तर १३ वटा प्रवेश विन्दुबाट नेपाल प्रवेश गर्न र मालसामानको ढुवानी व्यवस्थालाई यथावत कायम गर्ने निर्णय भएको पनि उनले बताए। यो व्यवस्था विपरित आवतजावत गरेमा कानुन अनुसार कारबाही हुने पनि मन्त्री गुरुङले बताए। 

यस्तै संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जारी गरिएको आदेशको पूर्ण पालना गर्न समेत मन्त्रिपरिषद् बैठकले अपील गरेको उनले बताए। 

सवारीसाधनबारे निर्णय

यस्तै छोटो, मध्यम तथा लामो दुरीका सार्वजनिक सवारी साधन र आन्तरिक हवाई उडानमा सिट अनुसारको यात्रु क्षमता राख्‍न पाउने र चैत ११ गते अगाडिकै भाडादर कायम हुने निर्णय पनि मन्त्रिपरिषदको बैठकबाट भएको मन्त्री गुरुङले बताए। 

यस्तै मन्त्रिपरिषदको बैठकले २ सय भन्दा बढी सक्रिय संक्रमितको संख्या भएका जिल्लामा अन्य जिल्लाबाट प्रवेश गर्न र सवारीसाधनको आवतजावतलाई नियमन र व्यवस्थापन तथा नियन्त्रण गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ। 

यसबाहेक ५ सय भन्दा बढी सक्रिय संक्रमित भएको जिल्लामा वा जिल्ला भित्रको कुनै भागमा कुनै सेवा वा कार्यमा रोक लगाउने अधिकार पनि प्रमुख जिल्ला अधिकारीलाई दिएको छ। 

मन्त्रिपरिषद्को बैठकले पशुपतिमा रहेको विद्युतीय शवदाह गृह चौबीसै घण्टा सञ्चालनमा ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काम गर्ने र थप एक हाइब्रिड शव दाह गृह निर्माणका लागि स्रोतको व्यवस्थापन अर्थमन्त्रालयले मिलाउने निर्णय गरेको पनि गुरुङले बताए। 

प्रधानमन्त्री र मन्त्रीहरुको दशैं भत्ता कोरोना रोकथाम र नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय पनि मन्त्रिपरिषदको बैठकले गरेको मन्त्री गुरुङले बताए। यस्तै प्रदेश र स्थानीय तहका पदाधिकारीलाई पनि दशैं भक्ता कोरोना कोषमा जम्मा गर्न समेत आग्रह गरे।

श्रम अदालतमा नियुक्ति

यस्तै मन्त्रिपरिषदको असोज २९ गतेको बैठकले नेपालभरका श्रम सम्बन्धी मुद्दा हेर्ने अधिकार तोक्ने र काठमाडौं मुकाम रहने गरी श्रम अदालत गठन गरेको छ।

जसमा उच्च अदालत तुलसीपुरका न्यायाधीश रामप्रसाद ओली अध्यक्ष तोकिएका छन् भने सदस्यहरूमा भोजपुर जिल्ला षडानन्द नगरपालिकाका सदस्य प्रेम कुमार राई र म्याग्दी जिल्ला पुलाचौर गाविसका निशा बानियाँ रहेकी छन्। 

ट्रस्टमा रोकाया

त्यसैगरी बाजुराका नरेश रोकायालाई सरकारले नेपाल ट्रस्टको सदस्यमा नियुक्त गरेको छ। 

सेनाको निर्णय

यस्तै विदेशस्थित नेपाली नियोगको सार्वजनिक खरिद कार्यविधि २०७२ संशोधन गर्ने, नेपाली सेनाका प्राविधिक महासेनानी गजेन्द्रनाथ कर्माचार्यको पदावधि २०८० मंसिर २३ गते सम्म थप गर्ने, नेपाली सेनाका सहायक रथी सागर बहादुर केसीको पदावधि २०७८ पुष १९ गते सम्म थप गर्ने निर्णय समत मन्त्रिपरिषदले गरेको छ। 

त्यसबाहेक प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन (पहिलो संशोधन) निर्देशिका २०७७ र औषधि दर्ता (तेस्रो संशोधन) नियमावली २०७७ स्वीकृत गर्ने निर्णय समेत गरेको छ। 

सचिवहरूको सरुवा 

यस्तै नेपाल सरकारको निजामती सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका विभिन्‍न अधिकृत (सचिव) लाई सरुवा गर्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ। 

जसमध्ये सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीलाई ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा, उपराष्ट्रपतिको कार्यालयका सचिव खगराज बराललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई नेपाल ट्रस्टको कार्यालयको कार्यकारी सचिवमा, जल तथा उर्जा आयोगको सचिवालयका सचिव डा. रमेश प्रसाद सिंहलाई सहरी विकास मन्त्रालयको सचिवमा सरुवा गरिएको छ।

त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यादव प्रसाद कोइरालालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव केदार न्यौपानेलाई उपराष्ट्रपतिको कार्यालयमा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई सार्वजनिक खरिद अनुगमन कार्यालयको कार्यालय प्रमुखमा सरुवा गरिएको छ।

ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवमा, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा र नेपाल ट्रष्टको कार्यालयका कार्यकारी सचिव सागरकुमार राईलाई जल तथा उर्जा आयोगको सचिवालयको सचिवमा सरुवा गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.