डिआइजी गौतम भन्छन् : बालापनको दशैँ अमूल्य रहेछ

|

काठमाडौं : ताप्लेजुङको विकट खेवांग गाउँमा जन्मिएर तेह्रथुमको आठराईमा हुर्किएका हन् सशस्त्र प्रहरी बल नेपालका डिआइजी चन्द्र प्रकाश गौतम। उनी हाल सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकस्थित सीमा तथा कार्य विभागमा कार्यरत छन्। रसायन शास्त्रमा एमएससी गरेका गौतमले जीवनको करिब २५  वसन्त नेपालको सुरक्षा निकायमा सेवा गरेर बिताएका छन्।

अहिलेको पद र प्रतिष्ठा उनको जीवनको लामो यात्राले आर्जन गरेको हो।  जीवनमा प्रशस्तै हन्डर र ठक्करसँग जुध्दै उनी यहाँसम्म आइपुगेका हन्।  आफू हिँड्ने गोरेटो आफैं बनाउँदै अहिलेको यो उच्च पदमा पुग्दा बनेको उनको जीवन कथा कम्ता रोचक छैन।

गत शुक्रबार हलचोकमै पुगेर उनलाई भेट्दा कोरोना कहरबीच उनी कतै बैैठकमा जान हतारिँदै  थिए। बेफुर्सदिलो समयमा उनले केही बेर आफ्नो जीवन कथा छोटकरीमा सुनाए। कतै उत्साहित हुँदै त कतै मलिन अनि भावुक हुँदै।

ताप्लेजुङमा जन्मि पनि  गौतमको बाल्यकालको अधिकांश समय तेह्रथुमको आठराईमा बित्यो। उनी मामाघरमै हुर्किएका हुन्। आमाको एकल अभिभावकत्वमा हुर्किएका उनी। बुवाले दिने माया, मार्गनिर्देशन र अभिभावकत्व कस्तो हुन्छ अहिलेसम्म थाहा छैन। 'संसारमा सबै सन्तानले उस्तै भाग्य बोकेर आएका कहाँ हुन्छन र?', उनी भन्छन्, 'यसमा भाग्यलाई दोष दिनु भन्दा नियतिको खेल नै यस्तै हो भन्ने ठान्दछु।'

चालिसको दशकमा उनले बाल्यकाल बिताए। गाउँमा अन्य बालकहरु जस्तै सुख दु:खबीच उनी हुर्किए। अन्य बालकहरू जस्तै धुलो माटो र हिलो मैलोसँगै खेलेर उनी हुर्किए। बनपाखा, भितिर पनि डुले। यसो भन्दा उनलाई कुनै अफ्ठेरो लाग्दैन।

अहिले उनले आफू बालककालमा कस्तो थिएँ भनेर सोधेको बेला  आमाको जवाफ हुन्छ, 'अलिक चन्चले, सृजनशील, तीक्ष्ण बुद्धिको र अरु भन्दा अलि फरक । एकोहोरो र जिद्दी पनि।'

बालककालमा उनको पढाइ उत्कृष्ट भए पनि फिरन्ते बन्यो। कहिले तेह्रथुम, कहिले झापा। एसएलसी दिँदासम्म उनले विद्यालय फेरिरहे। २०४३ सालमा एसएलसी दिएपछि पनि उनको अध्ययन स्थिर भएन। फिरन्ते जस्तै यताउता घुमिरहे। एसएलसीमा राम्रो अंक आएपछि उनले विज्ञान रोजे। सानैदेखि विज्ञान पढ्ने रुचि थियो।

विज्ञान पढ्ने सपना पूरा गर्न उनी  काठमाडौं खाल्डो हान्‍निए। काठमाडौं आएर अमृत साइन्स क्याम्पसमा इन्ट्रान्स दिए, पास पनि भए। भर्ना भए, तर विडम्बना काठमाडौंको भीडमा उनी अडिन सकेनन्। काठमाडौंमा नअडिनुको एउटै कारण थियो अभाव।

'शुरुमै होस्टल पाएको भए म काठमाडौंमै बस्थे होला। तर, कोठा भाडा तिरेर बस्न र विज्ञान पढ्ने बन्दोबस्ती जुटाउन मसँग प्रशस्त  पैसा भएन,' उनले संकटका ती दिनबारे सुनाए। आईएससी प्रथम बर्ष पनि पूरा नगरी उनी राजधानी छोडेर महेन्द्र मोरङ क्याम्पस विराटनगर पुगे।

विराटनगरबाट आइएस्सीको परीक्षा सके।  त्यहाँबाट उनी पुन: मावली गाउँ तेह्रथुमको आठराई पुगे। जहाँ उनले गणित तर विज्ञान शिक्षकको नयाँ परिचय बनाए। यो २०४६ को जनआन्दोलन अघिको कुरा हो। आइएसी सकेपछि उनलाई डाक्टर बन्ने रहर थियो। उनी फेरि तेह्रथुमबाट मेडिकल तयारीका लागि काठमाडौं हान्‍निए, यद्यपि चाहे जस्तो सबै कुरा कहाँ पूरा हन्छ र? डाक्टर नबन्‍ने भएपछि बिएस्सी पढ्नु नै थियो। उनी अस्कलमै पुगे बिएस्सीमा भर्ना भए। यतिबेला उनको परिवार झापामा बसाईं सरिसकेको थियो।

अस्कलमा बिएस्सी पढ्दा उनीसँग राजधानीमा टिक्न जागिर खानुपर्ने बाध्यता थियो। उनीसहित साथी मदन उप्रेती र नवीन देउजाले बागबजारमा 'एबिसी ट्युसन सेन्टर' खोलेर  अंग्रेजी भाषासहितको ट्युसन पढाउन थाले।

सेनाको जागिर

ट्युसन सेन्टरमा पढाउन थालेपछि उनको जीवनमा आर्थिक सम्पन्नताको नयाँ रेखा कोरियो। अब उनको जीवनको अभावको त्यो गोेरेटो सकिँदै गयो।  २ वर्ष ट्युसन र अंग्रेजी भाषा पढाउँदै गर्दा क्याम्पसको अध्ययनले पनि उचाई लिँदै गयो। बिएस्सी पास भए लगत्तै  मास्टर्स पढ्न त्रिभुवन विश्वविद्यालयको क्यामेस्ट्रीमा भर्ना भए। पढाईको गतिले उचाई लिँदै गर्दा करियर बनाउनु पर्ने पनि उमेर पुगिसकेको थियो।

२०५१ सालमा अर्गानिक केमेस्ट्रीमा एमएससीको पदाई सकेपछि उनले लोकसेवा दिए। तर, लिखित परीक्षा उतीर्ण भएपछि तत्कालीन शाही नेपाली सेनाको सहायक सेनानीमा भर्ना भए। खरिपाटीमा तालिम गरिराखेका बेला विदेशमा तालिमका  लागि छनौट भए। उनी भारतको देहरादुनमा अधिकृत तालिम सकेर नेपाल फर्किए। त्यो बेलामा केमेस्ट्री बिषयमा मास्टर्स सकेको मान्छे सेनामै किन भर्ना भएको पनि भन्ने गरेको सुन्थे उनी।

'आर्मी भएर राष्ट्र सेवा गर्नु भनेको कति गौरवको कुरा हो भन्ने कुरा कि उसैले बुझेको हुन्छ कि  त उसको परिवारले',उनले यसरी आफू हिँडेको बाटोलाई व्याख्या गरे, 'मैले नेपाल आर्मीको इतिहास पढेको थिएँ। राष्ट्रको गौरव बढाउन सेनाको भूमिका छ। नेपालको इतिहासमा आर्मीको छुट्टै पहिचान र सम्मान छ। यस्तो सम्मानित क्षेत्रमा मेरो प्रवेश गौरवको कुरा थियो।'

करिव ५ वर्ष नेपाली सेनामा बिताएपछि संयुक्त राष्ट्रसंघको शान्ति सेनाका रुपमा पहिलोपटक पूर्वी टिमोरमा शान्ति स्थापानार्थ उडे। पर्वी टिमोरमा रहँदा मिलिसियासँगविरुद्धको अभियानमा फिल्ड कमान्डरका रुपमा जिम्मेवारी  पुरा गर्दै त्यहाँका जनतालाई सुरक्षा प्रदान  गरेको अनुभव उनीसँग छ।

अनि सशस्त्रको यात्रा

आर्मीमा सह-सेनानी (क्याप्टेन) रहेका उनी सशस्त्र प्रहरीको डिजाइजी कसरी बने त? जिज्ञासा स्वभाविक पनि हो। पंक्तिकारले गौतमलाई यही कुरा सोध्यो, 'किन नेपाल आर्मी छोडेर शसस्त्र प्रहरीमा त?' उनी सशस्त्रको यात्राको तात्पर्य यसरी खुलाउँछन्, 'मिसनबाट फर्केपछि तत्कालीन सरकारले भर्खरै सशस्त्र प्रहरी बल स्थापना गरेको थियो। तत्कालीन आइजी कृष्णमोहन श्रेष्ठले मलाई सशस्त्रमा आउन सल्लाह दिनुभयो। मलाई सानैदेखि नयाँ कुरा, नयाँ अनुभव र प्रयोग गर्ने उत्साह थियो। नयाँ ठाउँमा नयाँ पहिचान बनाउने सोच भएकैले नयाँ परिवेश र नयाँ म्यान्डेट भएको सशस्त्र प्रहरी बलमा साथ डीएसपीका रुपमा प्रवेश गरेको हुँ।'

सशस्त्रमा पनि शान्ति मिसन

सशस्त्र प्रहरी बलमा आएपछि द्वन्द्वकालमा देशका विभिन्न क्षेत्रमा पुगे। त्यसका अलवा उनी शान्ति मिसनका लागि विश्वका विभिन्न देशहरुको यात्रा गरे। हुन त पहिलोपटक सन् १९९९ मा पूर्वी टिमोरमा शान्ति सेना बनेर उनी पुगेका हुन्। त्यहाँ शान्ति स्थापनाका लागि ७ महिना बसेका थिए।

दोस्रो पटक उनी  २००२ मा इराक पुगेका थिए। तर अमेरिकाले इराकमा हमला गर्ने भएकाले ७ महिना बसेर 'एभाकुएसन' भएर साइप्रस हुँदै नेपाल फर्किए। तेस्रोपटक २००७ मा उनी पूर्वी टिमोर पुगेर दुई वर्ष राष्ट्र संघीय पुलिसको महत्वपूर्ण जिम्वेवारी पूरा गरेर फर्किए।

चौथो पटक सन् २०१० मा सशस्त्र प्रहरी बलको फर्म्ड पुलिस कमान्डरको रुपमा उनी लाइबेरिया पुगे। पाँचौ मिसनका रुपमा उनी संयुक्त राष्ट्र संघको मुख्यालयले संचालन गर्ने ग्लोबल प्रतिस्पर्धामा राष्ट्र संघको पी-४ पदमा २०१५ मा छनौट भइ सुडानस्थित डार्फरको चिफ अफ अपरेसन पी-५ भइ ३ वर्ष बसे।

राष्ट्र संघ अन्तर्गत काम गर्ने शिलशिलामा उनी विश्वका ७२ देश पुगे। विभिन्न तरिकाले विभिन्न देश गएका उनी कुनै पनि देश आफैंमा खराब नहुने अनुभव पाएको बताउँछन्। युद्धको चपेटामा परेका देशमा शान्ति स्थापना र त्यहाँ जनतालाई सुरक्षित राखी मानवता बचाउनका लागि हुन्छ राष्ट्र संघीय शान्ति मिसन। उनी भन्छन्, 'कुनै पनि देश सीमाले छुटिएको होला। तर भावना उस्तै हुन। झर्ने आँसु त उस्तै हु्न्। चोट सहने शरीर उस्तै हो। यसकारण सुरक्षा फौजका लागि जुनसुकै देशका नागरिक किन नहुन् पहिलो प्राथमिकता उनीहरुको जीवन र मानवताको  रक्षा नै हो।'

युद्धको चपेटामा परेका व्यक्तिहरु जीवन रक्षा र सुरक्षाको व्यवस्था मिलाउनु नै शान्ति मिसनमा जाने नेपाली सुरक्षाकर्मीको काम हो। उनीहरुको जीवन रक्षाका निम्ति खटिने सेवक बनेर संयुक्त राष्ट्र संघको छातामुनि राष्ट्रिय गौरव बढाउन नेपाली झण्डा बोकेर मिसनमा खटिएर जाने उनी बताउँछन्।

देश परदेश जहाँ भए पनि  सुरक्षाकर्मीको  जिम्मेवारी तुलनात्मक रुपमा बढी र जोखिमयुक्त हुन्छ। अझ द्वन्द्वग्रस्त मुलुकमा त सुरक्षाकर्मीको भूमिका अग्रणी छ। यसले गर्दा जनताको अपेक्षा बढी भएकोले थप सचेत हुनुपर्ने हुन्छ। यस्तो बेला सुरक्षाकर्मीले गरेको सानो गल्ती पनि क्षम्य हुन सक्दैन र हुनु पनि हुँदैन।

आमा नै मेरो 'इन्सिपिरेसन'

काम गर्ने कर्मशीलहरु सत्कर्ममा विश्वास गर्छन्। भाग्यमा कदापि होइन्। उनको बुझाई छ, 'सत्कर्म गर्नुस्। भाग्य आफैं बन्छ।'

पढाई सम्पन्न गर्न लामो संघर्षपूर्ण दौडधुप गरे उनले। उनी यसलाई भौतारिएको भनी ठान्छन्। आफ्नो ऊर्जाशील समयमा यदि सहज वातावरण भइदिएको भए वा दरिलो अभिभावकत्व पाएको भए बचपन फिरन्ते हुँदैन थिए कि भनिठान्छन् उनी। यद्यपि जति भौतारिएर पनि जस्तो अप्ठेरो परे पनि आफूले  कहिले पनि  गलत बाटो चाहिँ नसमातेको बताउँछन्। सायद मेरो अवस्था वा पारिवारीक स्थितिले पनि आफूले भविष्यमा  केही गर्नुपर्छ भन्ने लाग्थ्यो उनलाई। किनभने उनको आमाको एक मात्र आशाका  किरण थिए उनी।

'मेरो जिन्दगीको 'इन्स्पिरेसन' कोही हो भने त्यो मेरो आमा नै हुन्। चर्को अभाव, भोक र शोकमा पनि जिन्दगीलाई कसरी लयमा हिँडाउने भन्ने कुरा मैले आमाबाट नै सिकेको हुँ', उनी आमाबारे बोल्छन्।

साहित्यमा झुकाव

आरोह र अवरोहको समिश्रणमा बग्ने यो बलिदान, मिहिनेत, सपना, आशा,दृढ बिश्वास र भरोसाको आड हो जिन्दगी।

पेशाले सबल फौजी अधिकृत भए पनि उनको पनि आफ्नै जिन्दगी छ। विगतमा आफुले भोगेका आफू सङ ठोकिएका र निर्माण भएका कथाहरुलाई विश्लेषण गर्छन्। समाजलाई नियाल्छन्। समाजका अध्याँरा उज्याला पाटाहरूलाई गहिरिएर अध्ययन गर्छन्। यहाँ युवाको आखामा देखिएका सपनाहरुको विश्लेषण गर्छन्। सानदार जिन्दगी विकराल कसरी बन्छ। अनि संघर्षको मैदान बाट मानिसले कसरी सफलता हाँसिल गर्छ वा मान्छे के ले सफल बन्छ भन्ने कुराको तर्कना गर्छन्। यी र यस्तै समाजका घटनाहरूले  यदि छोयो भने र आफ्नो बलबुताले सके समय व्यवस्थापन गरेर रचना तर्फ अगाडि बढ्छन्।

साहित्यले समाजलाई प्रतिबिम्बित गरि प्रगति र विकासतर्फ निर्देशित गर्नु पर्छ भन्ने धारणा राख्छन् उनी।  तर,  उनी पूर्णकालिन लेखक भने होइनन्। साहित्य संवेदना भन्दा बाहिर लेखिँदैन र लेखिनु हुन्न भन्ने उनको बुझाई छ। कहिलेकाही उनी गीत लेख्दछन्। उनको आँसु एल्बम धेरै अगाडि बजार आएको छ। यसका अलवा उनका दशै गीत र कहिलेकाहीँ कथा तथा आर्टिकलहरु पनि बजारमा पढ्न पाइन्छ। बेला बेला उनका सोलो गीतहरू बजारमा आइरहन्छन्।

बचपनको दशैँ

उनको जीवनको कथा सुन्न जुरेको यो समय देशमा दशैँको माहोल बढिरहेको छ। चाडवाडको माहोलमा उनका चाहिँ दशैँ कसरी बित्छ होला? अथवा एक राष्ट्रसेवक कर्मचारीको दशैँ कस्तो होला? बचपनमा उनले कसरी मान्थे वा के सोच्थे? बचपनमा उनी  सोच्थे, 'दशैँ हुनलाई सम्पन्नता चाहिन्छ वा विपन्नतामा पनि मनाइन्छ। सायद पैसा हुनेहरुको मात्र दशैँ हो।' मध्यम वर्गीय परिवारमा हुर्किएको एक बालकले सम्भवत यसरी दशैँको परिभाषा दिन्छ। तर, स्कुल विदा, शहर पसेका गाउँ फर्किनेको लर्को, गाउँघर, बाटोघाटो सफा हुनु, घरहरु सिँगारिनु गाउँको दशैँको वास्तविकता हो।

अहिले समयले फड्को मार्यो। गाउँघर मा लिङ्गे पिङ र रोटे पिङ हराए। कमेरो र रातो माटोले पोतेर सुन्दर देखिने घरका भित्ताहरु  हराए। दशैँमा मात्र नयाँ लुगा लगाउन पाउने जमाना गए। उनी भन्छन्, 'अहिले सोच्दा ती दशैँ अति मूल्यवान थिए। अविस्मरणीय पनि। अहिले दशैँको रस हरायो। मान्छेहरूमा कृत्रिम बन्दै गएपछि वास्तविक दशैँ दशैँ नै रहेन। अभाव र गरिबीमै भए पनि मलाई मेरो बचपनको दशैँ अमूल्य रहेछ भन्ने लाग्छ। अहिले मसँग त्यस्तो अभाव छैन तर त्यो बेलाको माहोल अहिले पाइन्नँ।'

फौजी जिन्दगीमा समाहित भएर देश र जनताको सेवामा लागेपछि भने दशैँको माहोल फरक हुँदै गयो। अब जिम्मेवारी थपिएको जीवनमा पनि उही जिन्दगी खोज्नु भनेको कामप्रति इमान्दार नहुनु हो। समाज, जनता र देशको सुरक्षा हाम्रा गहन जिम्मेवारी हुन्। यो जिम्मेवारीबाट कहीँ भाग्न मिल्दैन।

उनी भन्छन्, 'हामी दशैँमा घर जान नपाए पनि हाम्रा कारण धेरै आमाबुबा र आफन्तहरूसँग हामी जस्ता लाखौं सन्तानले भेट गर्न पाउनु हुन्छ। समाजमा अमनचयन कायम हुन्छ, सबैले खुशी महसुश गर्छन्। त्यो हाम्रा लागि खुसीको कुरा हो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.