|

भोजपुर : टेम्केमैयुङ गाउँपालिकाले हावाहुरी पीडितलाई राहत वितरण गरेको छ। हावाहुरीले मकैबाली नष्ट भएपछि भोकमरीको समस्यामा परेका वडा नम्बर १ सुम्लिखा, खम्बुखा र सावा पाङखाङका १७० परिवारलाई चामल वितरण गरिएको हो।

गाउँपालिकाले प्रत्येक परिवारलाई ५० किलोका दरले चामल वितरण गरेको जनाएको छ। सो क्षेत्रमा मुख्यरुपमा मकै खेती हुने गरेको छ। फल लाग्ने बेलामा आएको हावाहुरीले सम्पूर्ण मकैबाली नष्ट भएको थियो। पीडितका लागि गाउँपालिकाले पाँच लाख रुपैयाँ बराबरको २४४ बोरा चामल खरिद गरेर ल्याएको गाउँपालिका अध्यक्ष ध्रुवराज राईले जानकारी दिए।

‘हावाहुरीले त्यस क्षेत्रको मुख्य मकैबाली सखाप बनाएपछि गाउँपालिकाले राहत स्वरुप चामल वितरण गरेको छ,’ अध्यक्ष राईले भने, ‘वर्षभरि खाने मकै प्राकृतिक विपतिका कारण उत्पादन नभएपछि स्थानीयवासीमा अनिकालको समस्या छ।’

गाउँपालिकाले समस्यामा परेकाहरुको पहिचान गरेर राहत वितरण गरेको हो। दशैं नजिकै आएको वेला राहत महसुस होस् भनेर चामल दिएको अध्यक्ष राईले बताए। उनले भने, ‘चाडबाडहरु नजिएको अवस्थामा स्थानीयवासीलाई छाक टार्न नै समस्या छ, त्यसैले चाड लक्षित गरेर राहत दिएका हौँ।’

गाउँपालिकाले राहत दिएपछि स्थानीय खुसी भएका छन्। ‘यसवर्ष हावाहुरीका कारण मकैको बीउसम्म नरहने अवस्था छ,’ स्थानीय देववहादुर विष्टले भने, ‘मुख्यबाली हावाले नष्ट पारेपछि हामी भोकमरीको समस्यामा छौँ, गाउँपालिकाले राहत दिएपछि हामी अतिनै खुुसी छौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.