स्थानीय भन्छन् : राज्‍यले उपल्लो डोल्पाबासीका समस्या कहिल्यै देखेन

|

डोल्पा : उमेरले ५० वर्ष टेक्नै लागेका उपल्लो डोल्पाका नेयार भोटेलाई पीर परेको सहजै अनुमान गर्न सकिन्छ। मलीन अनुहार, गरिबीप्रतिको ग्लानी अनि राज्यप्रतिको आक्रोशले उनको पीरलाई अझ प्रष्ट देखाइदिन्छ। तर, उनको पीर ठूलै वस्तु गुमाएर वा पाउन नसकेर भने पक्कै होइन।

डोल्पोबुद्ध गाउँपालिका-१ मा पर्ने धो मा बस्दै आएका उनी दशैँको चाडबाडका बेला पनि बिहान बेलुकीको छाक कसरी टार्ने र चामल किन्दा लागेको ऋण कसरी तिर्ने भन्ने पीरले गाँजिएका छन्। उनको आठ जनाको परिवार छ।उनकै भरमा परिवार पालिएको छ। ‘कोरोनाका कारण यार्सागुम्बा टिप्न पाइएन, चीनसँगको नाका पनि खुलेन, ढुवानीको जिम्मा पाएका ठेकेदारले चामल ढुवानी पनि गरेनन्, हामीहरूलाई छाक टार्नै समस्या भयो’ उनले भने।

३० किलो चामललाई ६ हजार

‘उपल्लो डोल्पालीको आम्दानीको मुख्य स्रोतको रुपमा रहेको यार्सागुम्बा टिप्न नपाए पछि पैसा देख्नै मुस्किल छ, किनेरै खान पाए पनि कसरी खानु।‘

भोकै बस्न सकिँदैन, तल्लो डोल्पाबाट ल्याइएको बजारिया चामल ३६ प्रतिशत ब्याज जोड्ने गरि उधारामो किनेर खाने गर्छौ। तीस किलोको मात्रै छ हजार तिर्नुपर्छ, त्यही चामल तल्लो डोल्पामा १५ सयदेखि दुई हजारसम्म पर्छ। रकम चुक्ता नगरुञ्जेलसम्म ३६ प्रतिशतका दरले ब्याज जोडिरहन्छ।

गाउँमा चामल खाएको मात्रै २० लाखसम्म उधारो तिर्ने मान्छेहरु पनि छन्। मैले मात्रै तीन जना साहुसँग चामल खाएको तीन लाख भइसक्यो, अझै चार पाँच लाख थपिने अनुमान गरेको छु भोटेले भने। कोरोनाका कारण यार्सागुम्बा नखुल्नुका साथै चीनले रुट परमिड नदिएर सहुलितयको सरकारी चामल नआएपछि उपल्लो डोल्पामा यस्तो अवस्था आएको हो। राज्यले उपल्लो डोल्पाबासीको पीडा नदेखेको भन्दै उनले दु:ख व्‍यक्त गरे।

 

नेयार जस्तै नाग्मा गुरुङ र तुण्डुप मगरको पीर पनि एउटै हो। चामल नभएकाले सात जनाको परिवार कसरी पाल्ने भन्दै तुण्डुप मगरले चिन्ता व्यक्त गरे।

‘अनाजको नाममा उवा र आलु मात्र हुन्छ, अरू नुन, खुर्सानीदेखि चामल दाल सबै अन्यत्रबाट किनेर खानुपर्छ, साच्चिकै उपल्लो डोल्पालीलाई जीविकोपार्जनमै ठूलो संघर्ष गर्नुपर्छ’ उनले भने।

कात्तिकमै खाद्य संकट परिसक्यो अर्को यार्सा सिजनसम्म कसरी दिन काट्ने मगरले चिन्ता व्यक्त गरे। सरकारलाई नि:शुल्क खाद्यान्न पठाइदिन उनले आग्रह गरेका छन्। गाउँपालिकामा १० प्रतिशत नागरिकबाहेक अधिकांशका पीडा उस्तै भएको उनको भनाइ छ।

उपल्लो डोल्पाबासीका लागि खाद्यान्न लैजान खाद्य व्‍यवस्था तथा व्यापार कम्पनीले चिनिँया बाटो हुँदै मोरिम्ला र क्याटो नाकासम्मको अनुमति नपाएपछि खाद्यान्नको चरम संकट परेको हो। यस वर्ष आर्थिक उपार्जनको मुख्य स्रोतको रुपमा रहेको यार्सागुम्बा टिप्न नपाएपछि स्थानीय साहुसँग छ ३६ प्रतिशत ब्याजमा चामल खान बाध्य भएको वडा नं ३ का अध्यक्ष पाल्जाङ गुरुङले बताए।

‘अघिल्लो वर्ष यार्सा बेचेको पैसाले चिनियाँ नाकाबाट सरकारी खाद्यान्न ल्याउँथे, एक घरलाई १२ बोरासम्म खाद्यान्न पर्थ्यो, अहिले यहाँका नागरिक ठूलो पीडामा छन्, सहुलियतको खाद्यान्न व्यवस्था गरिदिनु पर्ने भन्दै पटक–पटक पालिकामा समेत धाउने गरेका छन्’ उनले भने। चामल नपाएपछि जनताहरू उवाको सातु खाएर छाक टार्न बाध्य भएको उनले बताए।

माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुडो गाउँपालिकाका पर्ने फोक्सुण्डो, साल्दाङ्गका लगायतका विकट गाउँबस्तीका नागरिकको समस्या पनि उस्तै हो। छार्काताङसोङ गाउँपालिकाका जनता भने मुस्ताङबाट चामल ल्याएर खाने गर्दछन्। उनीहरूले खाद्य संस्थानको चामल नखाएको तीन वर्ष भएको गाउँपालिकाले जनाएको छ। डोल्पोबुद्ध र शे–फोक्सुण्डो गाउँपालिकालाई चिनिँया नाकासम्म पुगेर खाद्यान्न ल्याउन नजिक पर्ने भएपनि छार्कालाई धेरै टाढा पर्ने गरेकाले मुस्ताङ जाने गरेको गाउँपालिकाको भनाइ छ।

उपल्लो डोल्पाका लागि खाद्यान्न लैजान नेपाल सरकारको तर्फबाट सबै प्रक्रिया पुर्‍याएर रुट परमिट लिए पनि चीनले खाद्यान्न ढुवानी र प्रतिनिधि जानका लागि भिसा नदिए पछि खाद्यान्न लैजान नसकिएको ठेकेदारले बताएको जानकारी दिएको खाद्य व्‍यवस्था तथा व्यापार कम्पनी डोल्पाका प्रमुख कमलराज पाण्डेले बताए।

आव ०७६/७७ मा उपल्लो डोल्पाका लागि मात्रै चार हजार क्विन्टर खाद्यान्न स्विकृति भए पनि ढुवानी हुन नसकेको उनको भनाइ छ।

विस ०५६/५७ सालदेखि नै चिनिँया बाटो हुँदै मोरिम्ला र क्याटो नाकासम्म चामल नुन पुर्‍याएर उपल्लो डोल्पाका सर्वसाधारणलाई वितरण गर्ने गरिन्छ। उपल्लो डोल्पाबासीको समस्या बुझेर संघीय र केन्द्रीय सरकालाई खाद्यान्न पठाइदिन जनताले आग्रह गरेका छन्।

पूर्व- राज्यमन्त्रीका भोट बैंकका जनाता भोकै

उपल्लो डोल्पा संघीय सांसद तथा पूर्व-राज्यमन्त्रीको भोट बैंकसमेत हो। दुई पटक संघीय संसदमा प्रतिनिधितित्व गरिसकेका धनबहादुर बुढा उपल्लो डोल्पालीका लागि चिरपरिचित एवं प्रिय नेतासमेत हुन्।

चुनावमा उनलाई उपल्लो जिल्लामै सबैभन्दा धेरै भोट आउने गरेको बताइन्छ। तर उनको भोट बैंककै जनता लामो समयदेखि खान नपाएको शोखले थलिँदासमेत उनले कुनै पहल कदमी उठाउन सकेका छैनन्। उपल्लो डोल्पामा खाद्यान्न संकटका खबरहरु राष्ट्रिय मिडियामा समेत बारम्बार आइरहँदा समेत उनले चासो नदेखाएको धो का स्थानीय जनताले गुनासो गरे।

‘नेता चुनावताका मात्र भोट माग्न आउँछन्, हामीलाई अहिले कस्तो छ भनेर कसैले सोधेका छैनन्’ धो का एक स्थानीयले भने। ‘हामी पत्येक दिन भोकसँग लडिरहेका छौँ, हाम्रो क्षेत्रका नेताहरु राजधानीतिरै व्यस्त छन्, हाम्रो पीर स्थानीय सरकारले सुन्छ न त हामीले जिताएका नेताल नै’ उनले गुनासो गरे।

जिल्ला खाद्य सुरक्षा समतिको बैठकले प्रभावित जनताका लागि खाद्यान्न ढुवानीका लागि तत्काल ढुवानी सेवासँग पहल गर्ने निर्णय गरेता पनि पूर्व-राज्यमन्त्री धनबहादुर बुढाले आफ्नो कम्पनी हिमाली कन्ट्रक्सनले तत्काल ढुवानी गर्ने बताएका थिए। तर,ढुवानी गर्ने आश्वासन दिएको एक महिना बितिसक्दासमेत खाद्यान्न ढुवानी हुनसकेको छैन।

तत्कालका लागि तीनदेखि चारसय क्विन्टलसम्म खाद्यान्न पुर्‍याए पनि उपल्लो डोल्पालीको समस्या समाधान हुने खाद्य व्यवस्था तथा व्‍यापार कम्पनीको कार्यालय दुनैले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.