|

बागलुङ : बागलुङको जैमिनी नगरपालिका-२ दमेककी तुलसी सापकोटा अर्बुद रोग (क्यान्सर) पीडित छन्। लामो समयदेखि उपचार गराइरहेकी उनलाई आर्थिक अभाव भएको छ।

उपचारमा लाग्ने खर्च जुटाउन मध्यम परिवारको सदस्य भएकाले उनलाई कठिन छ। विभिन्न माध्यामबाट सहयोगको याचना गरिरहेकी सापकोटालाई ‘हाम्रो जैमिनी’ नामक संस्थाले आर्थिक सहयोग गरेको छ। संस्थाले विदेशमा रहेका आफ्ना सदस्यहरुले संकलन गरेर पठाएको रममध्ये २५ हजार सापकोटाको उपचारका लागि उपलब्ध गराएको हो।

जैमिनीकै वडा नं. ५ बिनामारेका श्रवण सुनुवार मिर्गौलापीडित हुन्। उनका दुवै मिर्गौलाले काम गर्न छोडेपछि उपचार चलिरहेको छ। आर्थिक अवस्था कमजोर भएका उनलाई पनि समूहले २५ हजार रुपैयाँ सहयोग गरेको छ।

जैमिनी नगरपालिका-७ जैदीकी कोपिला शर्मा पनि दुवै मिर्गौलाले काम गर्न छोडेपछि लामो समयदेखि उपचाररत छिन्। उनको समेत आर्थिक अवस्था कमजोर रहेकाले समूहले २५ हजार रुपैयाँ उपचार खर्च सहयोग गरेको समूहका अध्यक्ष छायादत्त चापागाईंले जानकारी दिए।

समूहले विपद व्यवस्थापन अभियान नै चलाएको छ। अफ्ठेरोमा परेकालाई आर्थिक र भौतिक दुवै सहयोग गर्ने ध्येयले अभियान सञ्चालन गरिएको चापागाईंले बताए। जैमिनी वडा नं. ६ अर्जेवाका अशक्त लाल बहादुर नेपाली र बिनामारेका टुहुरा बालकलाई खाद्यान्न तथा नगदसमेत समूहले उपलब्ध गराएको छ।

जैमिनीका देश विदेशमा रहेका युवाहरुको समूह बनाएर सामाजिक सेवाको अभियान चलाईरहेका छौं’ चापागाईंले भने ‘विदेशमा साथीहरु खाजा खर्च कटाएर जम्मा गर्नुहुन्छ, यहाँ हामी स्वयंसेवी भावले सहयोग गर्छौं।’

समूहले विदेश विभागसमेत बनाएको छ। एउटै समूहका सदस्यहरु गाउँ र विदेशमा रहँदा सहयोगका लागि संकलित रकमको सदुपयोग हुने र आफ्नै उपस्थितिमा सहयोग गरेको अनुभूति हुने गरेको युकेमा रहेका समूहका सदस्य रत्नबहादुर क्षेत्रीले बताए। बाढी पहिरोजस्ता विपत्ति, प्राणघातक रोग, अति विपन्नलाई समूहले सहयोग गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.