दिनहुँ मृत्यु देख्नु र भोग्‍नु सबैभन्दा कठिन समय हुँदो रहेछ

|

काठमाडौं : पूर्वको  विराटनगरलाई व्यस्त बजारको रूपमा लिइन्छ। दशैँमा सधैँ भिडभाड हुने ठाउँ यसपटक बजारको चोक, गल्ली सुनसान  बनेको र अस्पतालमा मानिसको ओहोरदोहोर बढेको छ।

गत वर्षझैँ विराटनगरका बजारमा किनमेलको लागि पनि मानिस देखिँदैनन्। कोरोना महामारीले सबैतिर त्रास फैलिएको छ।

विराटनगरको कोशी अस्पतालमा कोभिड संक्रमितको चाप बढिरहेको छ। आइसोलेसनदेखि आइसियुको सबै बेडमा कोभिड संक्रमितको संख्याले भरिभराउ छन्।

कोभिड महामारी नहुँदो त अस्पतालका अधिकांश स्वास्थ्यकर्मीहरू यतिखेर घर पुगिसकेका हुन्थे वा जानको लागि तयारी अवस्थामा रहन्थे। दिनप्रतिदिन संक्रमितको संख्या बढेसँगै मृत्युदर पनि बढिरहेको छ। महामारीको समयमा नेपालीहरुको घर आँगनमा चाडपर्व भित्रिसकेको छ।

अस्पतालमा सामान्य र गम्भीर सबै अवस्थाका संक्रमितहरू बेडमा छन्। बिरामीको हेरचाह गर्नको लागि कतिपय स्वास्थ्यकर्मीहरू अस्पतालमा छन भने केही पिसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आई घर गइसकेका कोही भने प्रतीक्षामा छन्।

पछिल्लो समय लक्षणसहितका कोभिड संक्रमित संक्रमितको संख्या अस्पतालमा बढ्दै गएपछि देशभरको अस्पतालमा स्वास्थ्यकर्मीको अभाव हुँदै गएको थियो। प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले करारमा चिकित्सकहरु नियुक्त पनि गरेका छन्।

संक्रमितको उपचार थालेपछि दुई रात घरमै

विराटनगरको कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा दुई महिना अगाडि करारमा नियुक्ति भएका डा. मनिष गोइत आइसियुमा रहेका बिरामीलाई हेर्छन्।

अस्पतालमा गम्भीर अवस्थामा पुगेका संक्रमितलाई हेर्नका लागि चिकित्सकको अभाव भएपछि उनलाई प्रदेश १ को स्वास्थ्य मन्त्रालयले नियुक्त गरेको थियो।

कोशी अस्पतालको सबै बेड संक्रमितले भरिभराउ छन्। उनले नियुक्त पाएपछि एकपटक मात्र उनी घर गएका छन्। सप्तरीको डाक्नेरीस्थित जन्मघरमा संक्रमितको उपचारमा संलग्न भएपछि दुई रात मात्र घर बसी आएका थिए।

मनिष घरपरिवारको सल्लाहमा यसपटक घर नजाने विचारमा छन्। वृद्ध आमा, बाबा,ठूलो बाबा र ठूली आमा रहेकोले कोरोनाको जोखिम हुने भएको अस्पतालमा बसी दशैँ मनाउने उनी बताउँछन्। उनको अर्को भाइ पनि विराट नर्सिङ होममा चिकित्सकको रुपमा काम गर्छन्।

‘चिकित्सकको काम भनेको बिरामीको सेवा गर्नु हो, महामारीको समयमा सबैभन्दा काम लाग्ने भनेको स्वास्थ्यकर्मी हुन्,’ डा. गोइत भन्छन,’ दशैँमा परिवारको साथमा बस्न सबैलाई मन हुन्छ सबैभन्दा बढी अहिले अस्पतालको बेडमा रहेका बिरामीलाई हाम्रो खाँचो छ।‘

दिनहुँ मृत्यु देख्‍नु सबैभन्दा कठिन समय

उपचारमा रहेका संक्रमितलाई बचाउँन सक्यो भने हाम्रो खुसी त्यसैमा रहने उनको भनाइ छ। ‘चाडपर्वमा उपचार गराइरहेका संक्रमितका आफन्त र संक्रमितलाई भेट्न नपाउँदा हामीलाई भन्दा बढी पीडा भएको हुन सक्छ,’ उनले सुनाए,’ स्वास्थ्यकर्मीले एकछिन पनि उनीहरुको साथ छाड्ने हो भने उनीहरूको जीवन तलमाथि हुन सक्छ।  यसपटकको दशैँ कोरोना संक्रमितको उपचार गरेर मनाउँछौँ।'

गम्भीर अवस्थाका बिरामी भएको ठाउँमा काम गर्नुपर्ने भएकोले बिरामीको पीडा र छटपटी देख्दा उपचार कक्षमा नपाए पनि हुन्थ्यो जस्तो लाग्ने डा. गोइत बताउँछन्। काम गर्नको लागि यस पेशामा आएकोले त्यस्तो कुरा सोच्न नहुने भन्दै मन बुझाउँछन् उनी।

उनले भने,’ मानिसको जीवनमा सबैभन्दा कठिन समय मृत्यु देख्नु र भोग्नु रहेछ। आँखैअगाडि धेरै संक्रमितले ज्यान गुमाएका छन्। यो महामारीमा सबै सुरक्षित रहनुपर्छ।‘  

ड्युटी मिलाएर संक्रमितको उपचार

यसपालिको विजयादशमी, दीपावली तथा छठ पर्व जस्ता चाडपर्व सबै स्वास्थ्यकर्मीहरूले अस्पतालमा मनाउन जस्तो देखिएको छ। चिकित्सकहरू अहिलेको समयमा संक्रमित निको र मुहारमा हाँसो लिएर घर गएको देख्‍न चाहन्छन्। तर, औषधि नबनेको अवस्थामा लक्षणसहितका संक्रमितहरू दिनप्रतिदिन बढदै जाँदा कठिन अवस्था आइरहेको छ।

आठ जना मेडिकल अफिसर, नर्स र प्यारामेडिक्स गरेर १५ जना अस्पतालमा पालैपालो ड्युटी समय मिलाएर संक्रमितको उपचारमा छन्। १५ जनामा २ जनाको मात्र कमी भएमा अस्पतालमा चिकित्सकको अभाव हुने उनको दाबी छ।

संक्रमणको संख्या नघटी दिनप्रतिदिन बढिरहेको अवस्थामा अहिले जो जहाँ छ त्यहीँ बसी दशैँ मनाउनका लागि उनी सुझाव दिन्छन्।

मानिसमा लक्षण नभए पनि यो रोग मानिसमा बसेको हुन सक्ने उनको दाबी छ। लक्षण नदेखिएमा आफूलाई कोरोना छैन भनेर ढुक्क भएर बस्नुपर्ने अवस्था छैन। यस्तो बेलामा यात्रा नगर्न र ज्येष्ठ नागरिकलाई नभेट्न उनी सुझाउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.