एउटा बिओपीलाई करिब १२ किमिको सुरक्षा जिम्मा

|

नेपालगञ्‍ज : लुम्बिनी प्रदेशमा भारतसँगै सीमा जोडिएको ४ सय ८ किलोमिटर खुला सीमा छ।

सीमावर्ती क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणदेखि शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलका ३५ वटा मात्रै सीमा सुरक्षा पोस्ट छन्। एउटा पोस्ट अर्थात् बिओपीले करिब १२  किलोमिटर क्षेत्रमा सुरक्षा दिनुपर्ने अवस्था छ।

अनेकौँ कष्ट खेप्दै सुरक्षा गस्ती

सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ३५ प्रहरी तैनाथ छन्। तर, देशको सीमाको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका अधिकांश बिओपी भवनहरु बस्ने र सुत्ने ठाउँसम्म पर्याप्त छैन।

सवारीसाधनलगायत अत्यावश्यक पूर्वाधारको कमी छ। अनेकौँ कठिनाइ खेप्दै सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा गस्ती पेट्रोलिङ गर्नुका साथै सीमा स्तम्भहरूको रेखदेख र सुरक्षा गर्दै आएको छ।

सीमा क्षेत्रको सुरक्षा व्‍यवस्थालाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बलले नवलपरासीदेखि बर्दियासम्म बोर्डर बिओपी संख्या बढाउँदै गएको छ।

लुम्बिनी प्रदेशका नवलपरासीदेखि बर्दियासम्मको क्षेत्रमा सशस्त्र प्रहरी बलले २०७८ को असार मसान्तसम्म थप २४ वटा बिओपी स्थापना गरेर लुम्बिनी प्रदेशमा ५९ वटा बिओपी पुर्‍याउने लक्ष्यका साथ काम गरिरहेको छ।

बाँके र बर्दियामा थपिए

पछिल्ला एक साताको अवधिमा बाँके र बर्दियामा एक-एकवटा बिओपी थपिएका छन्। बर्दियाको भगरैया र बाँकेको खडैचामा बिओपी  थपिएका हुन्। नेपाल भारत सीमा क्षेत्रमा स्थापना भएका प्रत्येक बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ३५ जना सशस्त्र प्रहरी तैनाथ छन्।

लुम्बिनी प्रदेशमा २०२ मुख्य, ६ सय ११ सहायक र १५ सय ६२ वटा साना सीमा स्तम्भ छन्। सीमा स्तम्भहरूको रेखदेख र मर्मत सम्भारमा समन्वय गर्ने जिम्मेवारी पनि सशस्त्र प्रहरी बलको छ।

नदी तथा खोला क्षेत्रमा रहेका केही सीमा स्तम्भ हराएका छन्। त्यसको विवरण संकलन गरेर नापी विभाग र भारतीय सुरक्षा तथा नापी विभागका अधिकारीहरूसँग समन्वय गरेर अद्यावधिक गर्न सशस्त्र प्रहरी बलले नेपाल सरकारलाई सुझाव दिँदै आएको छ।

बिओपीलाई  सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण, सीमा स्तम्भहरुको रेखदेख र संरक्षण गर्नेदेखि सीमावर्ती क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी दिइएको छ।

बिओपीको संख्या बढाएर ५९ वटा पुगेपछि एउटा पोस्टले सुरक्षा दिनुपर्ने क्षेत्र घटेर ७-८ किलोमिटर हुनेछ।  नेपाल सरकारले प्रत्येक ४ किलोमिटर क्षेत्रमा बिओपी  स्थापना गर्ने लक्ष्य राखेको सशस्त्र प्रहरी बलको लुम्बिनी प्रदेशका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक किशोर प्रधानले बताए।

तर भारतले भने नेपालको सीमावर्ती क्षेत्रमा ४ देखि ५ किलोमिटरको दूरीमा बिओपी स्थापना गरिसकेको छ। भारतले नेपालको सीमावर्ती क्षेत्रमा सडक निर्माण गरेर आफ्नो देशको सुरक्षा व्‍यवस्थालाई सुदृढ पारेको छ।

सशस्त्र प्रहरी बलको बिओपी निर्माण भएपछि सीमा सुरक्षा, आपराधिक गतिविधि, तस्करी, लागुऔषध, हातहतियार ओसारपसारलगायत आपराधिक गतिविधि क्रमश: घट्दै गएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.