|

धनकुटा : नेपालीहरूको महान चाड दशै घरआँगनमै आइसकेको छ। दशैँमा चंगा उडाएर रमाईलो गर्न परम्परा पुरानै हो। अहिले संसारभर कोरोना महामारी चलिरहेकोले यसपटकको दशैं विगतको भन्दा केही फरक हुने अवस्था छ।

सरकारले पनि यसपटक दशैंमा धेरै मान्छे भेला भएर टीका लगाउन र पाहुना जान, बोलाउन बन्द गर्न आग्रह गरिसकेको छ। तर वर्षमा एकपटक आउने यति ठूलो चाडमा रमाइलो गर्ने सबैलाई अवश्य मन लाग्छ। रमाइलो गर्दै दशैँको स्वागत गरिन्छ। दशैँ सुरु भएसगै गिप्ट पसलहरूमा रंगीचङ्गी चंगा सजाउने पनि गरिएको छ।

सरकारले कोरोना महामारीको रोकथामका लागि करिब छ महिना गरेको लकडाउन खुलेसँगै आम सर्वसाधारणको जनजीवन क्रमश सामान्य हुँदैछ। नजिकिएको दशैं र सर्वसाधारण सामान्य जीवन फर्कंदै गरेको संकेत अहिले आकाशमा यदाकदा देखिन थालेको रंगीविरंगी चंगाहरूले पुष्टि गर्दछ।

दशैँबाहेक अरू बेला खासै चंगा उडाउने गरिँदैन। मनोरन्जन, प्रतिष्पर्धा र धार्मिक विश्वासको रुपमा पनि दशैँमा चंगा उडाउने गरिन्छ। दशैँ नजीकिएसँगै आकाशमा विभिन्न रंगीबिरगी चंगाहरू उडेको देख्न पाइन्छ।

पछिल्लो समय भने चंगा उडाउने चलन लोप हुँदै गइरहेको छ। तर, यो वर्ष भने सरकारले गरेको लकडाउनदेखि भने धनकुटामा चंगा उडाउनेको संख्या बढिरहेको छ। यो क्रमले दशैँमा चंगा उडाउनेको संख्या बढिरहेको छ।

बजारमा चंगा उडाउने धेरै खाली ठाउँ त छैन। तर खाली भएको ठाउँमा केटाकेटीदेखि युवाहरू भेला भएर चंगा उडाइरहेका भेटिन्छन्। उनीहरू चंगा उडाएर घण्टौंसम्म रमाइरहेका छन। घरको वरपर खाली चौर नभएका ठाउँमा भने घरको छतबाट चंगा उडाएर रमाइलो गरिरहेको देखिन थालेको छ।

उनीहरू चंगा चेट पार्ने प्रतिस्पर्धा नै गर्न निकै उत्साहका साथ लागिपरेका छन। यसले गर्दा चाडपर्वको रौनक सुरु भएको आम मान्छेमा पर्न थालेको छ।

केही महिनाअघि सरकारले गरेको लकडाउनका कारण घरमै बस्नुपर्ने भएकाले आआफ्नो घरको छतबाट चंगा उडाउन थालिएको र यो क्रम निरन्तर रहेको धनकुटा–५ माथिल्लो कोप्चेका कोमल आठपहरियाले बताए।

उनले चंगाको उडाएको इतिहास खासै थाहा नभएको बताउँदै विशेषगरि दशैमा चंगा उडाउने गरिएको हुनाले नयाँ स्फुर्ति आओस भनेर उडाइने गरिएको हुनसक्ने बताए।

‘धेरैले मनोरञ्जनका लागि एक्लै चंगा उडाउने गरेका छन।’ उनले भने, ‘हामी चै तल्लो कोप्चे, माथिल्लो कोप्चे, छोम्देन, वडाङ, कर्मिटार, माझगाउँ लगायतका स्थानका घरको छतबाट चंगा उडाएर जुधाइ गरेर रमाइलो गरिरहेका छौ।’ चंगा उडाएर जुधाएपछि जस्को धागो चुडिन्छ त्यसलाई हकेट भनेर चैट भएको घोषणा गरिने गरिएको आठपहरियाले बताए।

चंगा उडाउन प्रयोग गरिने धागोमा आआफ्नो तरिकाअनुसार माच गरिएको हुन्छ। माच गरिनु भनेको सिसाको धुलो, साधना, ध्यूकुमारी, सिमलको चोप, चिप्लेभझार प्रयोग गरेर माड बनाएर धागोमा लगाइन्छ। यसरी उडाएको चंगाको धागोले अरूको धागो काट्ने गरिएको छ। जसको धागो राम्रो हुन्छ त्यसले काटेर अर्कोको चंगा झार्ने गरिएको स्थानीय नारायण श्रेष्ठले बताए। उनले धागोमा के के प्रयोग गरिएको छ भनेर अर्को व्यक्ति वा समूहलाई थाहा नदिने गरिएको बताए।

चंगाको इतिहास

चंगाको प्राचीनकालमा चीनको हान वंशबाट सुरुवात भएको इतिहास पाइन्छ। त्यो समयमा चीनका एक व्यक्तिले काठ र बाँसको चरा आकारको चंगा बनाएर तीन दिनसम्म आकाशमा उडाएको भनाइ रहेको छ।

त्यही समयदेखि नै चंगा उडाउने परम्परा रहेको इतिहास पाइन्छ। नेपाल र भारतमा चंगाको चलन जापानबाट आएको विश्वास गरिन्छ। जापानमा यसको प्रचलन चीनबाट आएको मानिन्छ। नेपालमा चंगाको प्रचलन कहिलेदेखि सुरु भयो भन्ने आधिकारिक प्रमाण फेला नपरे पनि इतिहास भने छोटो नभएको जानकारहरू बताउँछन।

प्राचीन दन्त्यकथालाई विश्वास गर्ने हो भने, चीन र जापानमा चंगाको प्रयोग सैन्य उदेश्यका लागि पनि गरिन्थ्यो। चीनमा राजा राजवंशको क्रममा उडेको चंगालाई त्यतिकै छाड्नु भनेको दुर्भाग्य वा रोगलाई निम्तो दिनु समान मानिन्थ्यो। बच्चाको संभावित वर्षभरिको दसा काटियोस भनेर कोरियामा चंगामा बच्चाको नाम र उसको जन्म मिति लेखेर उडाइने गरिएको इतिहास पाइन्छ।

चाडपर्वको संकेत

चंगा उडाउनुलाई केवल मनोरञ्जन लिने तरिका मात्र भन्दा पनि चंगा उडाउनुलाई चाडपर्वको संकेत पनि भन्ने गरिएको छ।

किम्बंदन्ती अनुसार वर्ष याम भरि धेरै पानी परिसकेको हुनाले धान पाक्ने बेलामा पानीका राजा इन्द्रदेव लाई पानी चाहिदैन भनेर चंगा उडाएर सन्देश पठाएको भनाइ रहेको छ।

चंगा उडाएमा पानी पदैन भन्ने विश्वाश पनि रहि आएको पाइन्छ। विश्वमा धार्मिक, सामाजिक ,वैज्ञानिक उद्देश्यले तथा मनोरञ्जन लिन चंगा उडाउने चलन भएपनि नेपालमा भने दसैं–तिहारलगायतका चाडपर्व आएको संकेत यसले दिने गर्छ।

दशैँमा किन उडाइन्छ चंगा?

दशैं शरद ऋतुमा पर्छ। शरदीय वायुमा चंगा उडाउन सहज हुन्छ। त्यसमाथि दशैंको फुर्सद। यो एउटा रमाइलो गर्ने वा मनोरञ्जन लिने माध्यम पनि हो। त्यसैले पनि यस समयमा चंगा उडान्छ। तर, चंगाको साइनो रमाइलोसँग मात्र छैन। चंगा उडाउनुसँग धेरै अर्थ जोडिएको छ। यसलाई प्रतिक एवं विम्बको रुपमा पनि लिने गरिएको छ।

यस्तै यसले मौसमी अवस्थाबारे पनि जानकारी दिन्छ। चंगा उडाउनु भनेको खुला र मोहक मौसमको सूचक हो। किनभने चंगा उडाउनका लागि अरु मौसम अनुकुल हुँदैन।

यतिबेला भने आकाश खुला हुन्छ। वायुमण्डलमा शीतल हावा चल्न थाल्छ। चंगा उडाउन मन्द हावाको बहाव चाहिन्छ। यस्तो बहाव शरदीय मौसममा मात्र उपलब्ध हुन्छ।

लोप हुँदै चंगा उडाउने चलन

अहिले गाउँघर या शहरमा चंगा उडाउने संस्कृति धेरै कम हुँदै गएको छ। जसका कारण शहर बजारमा पहिले पहिले किराना पसल देखी तरकारी पसलसम्म पाइने चंगा अहिले आएर बजारमै केही सीमित पसलमा मात्र भेटिने गरेको छ। अझ लट्टाइ त ठूला बजार या काठको सामान बनाउने स्थानमा अर्डर नै गर्नुपर्ने अवस्था छ।

पछिल्लो १० वर्षमा चंगा उडाउनेको संख्या ज्यादै कम हुँदै गएको धेरैको अनुभव छ। गाउँघर र शहरमा पहिलोजस्तो खुला ठाउँ नहुनुले पनि पहिलेको भन्दा चंगा उडाउनेको संख्या घटेको धनकुटा नगरपालिका ४ का मोहन तामाङको ठम्याई छ।

‘पहिला–पहिला खाली जग्गा चौर थिए, चंगा उडाउन ठाँउ हुन्थ्यो, अहिले ठुला घर बनेका छन’, उनले भने, ‘पहिले खेल्ने साधन पनि अरु थिएन, अहिले धेरै अरु चिज छन।’

विशेषगरि अहिले नयाँ पुस्तामा चंगा मोह घटदै गएको छ। मनोरन्जनका सामाग्रीको तीव्र विकाससँगै अहिलेका पुस्ता चंगा उडाउने भन्दा पनि त्यही मनोरन्जनका सामाग्रीमै रमाउनु र चंगा उडाउन खुल्ला ठाउ अभाव हुँदा घरको छतबाट चंगा उडाउदा दुर्घटना हुन थालेपछि अहिले चंगा प्रतिको आर्कषण घटेको बताइन्छ।

मनोरन्जन मात्रै नभई एैतिहासिक र धार्मिक महत्व बोकेको चंगा उडाउने परम्परा पछिल्लो समयमा सकंटमा पर्न थालेको छ। यसको संरक्षण र महत्व बचाउनका लागी सम्पूर्णको ध्यान जान जरुरी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.