|

धर्मका बारेमा मलाई लेख्न मन लाग्दैन। आस्थाले नास्तिक हुँ म। यो संसारमा भएका मानिसहरु कुनै परमात्माले बनाएका हुन् भन्ने कुरामाथि म विश्वास गर्दिन। यसको ठिक्क उल्टो, मान्छे आफैंले भगवान, भगवती जन्माएका हुन् भन्ने मेरो विश्वास हो।

कुनै विदेशी पुस्तक पढेर म नास्तिक भएको होइन। हिन्दुहरुले पवित्र ग्रन्थ मानेको ऋग्वेद पढेर म नास्तिक भएको हुँ। ऋग्वेद संहिता पढेपछि मनसा, बाचा, कर्मणा म नास्तिक भएँ।

विज्ञानले छिमलेको ब्रह्माण्डमा कतै पनि देवलोकको उपस्थिति छैन भन्ने कुरामा मेरो विश्वास छ। स्वर्ग वा देवलोक भनिएको भूगोल गढवालदेखि सिक्किमसम्मका पहाड र चुरे प्रदेश हुन् भन्ने मेरो निष्कर्ष हो।

नास्तिक नेताहरु पहिले पनि थिए। वामपन्थी नेताको कुरा गर्दिन म। वीपी कोइरालाको परिवारले धार्मिक  संस्कार मान्दैनथे। तर वीपीले कहिल्यै धर्मको वास्तविक रुपका बारेमा बोलेनन्।

अहिले धर्मले राजनीतिभित्र पसेर त्यसलाई फोहोर बनाउन थालेको देखेपछि यति नलेखी म बस्न सकिन। संस्कार धर्तीको सबैभन्दा बलियो अन्धविश्वास हो भन्ने मलाई थाहा छ। मेरो एउटा लेखले त्यो लिसोको कुनै कुनोलाई उचाल्न सक्दैन भन्ने पनि थाहा छ। तर आफूले पाएको ज्ञान त बाँड्नै पर्छ

धर्मको जन्म, राजनीतिक प्रयोजनको लागि भएको हो। यसका दुइटा प्रत्यक्ष उदाहरण छन्। पहिलो हो, संसारलाई भौतिकवादी दर्शन र स्वान्त सुखायको सन्देश दिने सिद्धार्थ गौतम वुद्ध। बुद्धको सोच दुनियामा जस्ताको तस्तै नफैलियोस् भनेर नेपाल भारतका उतिबेलाका शासकहरुले सिद्धार्थ गौतम बुद्धलाई ‘बुद्ध भगवान’ बनाइदिए।

जसले भगवानको सबैभन्दा चर्को विरोध गरेर धर्तीवासीलाई – न पूर्वजन्म थियो, न पुनर्जन्म हुन्छ, न कतै स्वर्ग छ नत कतै छ नर्क – बुझाउने कोशिस गरे, तिनको विचार शाखालाई दमन गर्न नसक्ने देखेपछि तिनै सिद्धार्थ गौतम वुद्धलाई भगवान बनाइ दिए पछिका राजा र उनका पुरोहितहरुले। उनको भौतिकवादी दर्शनलाई नै शासकहरुले देवत्वकरण गरिदिए।

दोश्रो उदाहरण हो, दास महानायक स्पार्टाकसको। युगान्तकारी परिवर्तनको महत्व बोक्ने स्पार्टाकसको दास विद्रोहले त्यतिबेलाको विकसित समाजमा विद्रोहको दुन्दुभी बजाइ दियो। दासयुगको अन्त्य र कृषि युगको आरम्भ गराउने त्यो विद्रोहलाई मत्थर पार्न र लाचार भक्तिगानमा मान्छेलाई डुबाउन रोमन सम्राट कोन्स्टेनटाइनको सभाले दास विद्रोहका नायकलाई नै भगवानपुत्र बनाइदियो। स्पार्टाकसको नेतृत्वमा चलेको दास विद्रोहमा हजारौं विद्रोही शहीद भए। यो टिप्पणी मैले अँध्यारामा हानेको तीर होइन।

स्पार्टाकसको जीवन र क्राइस्टको जीवनमा मेल खाएका विषय प्रसङ्गहरुले पहिले मलाई कुत्कुत्याए। दुबैको जन्म र मरण समय एकै हुनु, दुबै क्रसमा १० दिनसम्म झुण्डिनु, दुबैका आमाहरुले मायाले मुसारेर सन्तानलाई धर्तीबाट विदा दिनु, दुबैका बाबुको परिचय नभेटिनु जस्ता मुद्दाले मलाई अध्ययन  अघि बढाउन प्रेरित गरे। हावर्ड फास्टको स्पार्टाकश र डन ब्राउनको दा भिन्ची कोड, दुइटा किताब पढेपछि मेरो अध्ययनको पुष्टी भयो र मैले भन्न थालेको हुँ – स्पार्टाकस नै क्राइस्ट हुन्।

अब हिन्दु धर्मतिर जाउँ। सबै हिन्दुलाई थाहा छ – तिनका तेत्तिस कोटी देवदेवी छन्। यो संगसंगै तिनीहरु के पनि मान्छन् भने वेद ज्ञानको श्रोत हो। तर तिनलाई वेदमा, तिनले विश्वास गरेका तेत्तिस कोटीको त कुरै नगरौं तीन जना देवदेवी पनि छैनन् भन्ने ज्ञानको कुरो थाहा छैन।

ऋग्वेद संहिता पढेपछि म कुन टुङ्गोमा पुगें भने हिन्दु देवदेवीको आविष्कार भारतीय राजा रजौटाका पण्डितबाट भएको हो अनि विना विश्लेषण त्यो नेपालमा प्रवेश गरेको हो।

मानव सभ्यताको आरम्भदेखि दया, क्षमा, सहयोग र विश्वासको उपहार बोकेर आएको रित नै हिन्दुत्व थियो। भारतमा हिन्दुत्व, धर्ममा रुपान्तरित भयो। काल्पनिक देवदेवीका मन्दिरहरु बनाइए। हिन्दुत्वको हैसियत पनि तल झरेर हिन्दु धर्म भयो।

धर्म र राजनीतिको अलग अलग भूमिका हुन्छ। यो वैश्विक कुरो हो। पुजापाठ गर्नु, नमाज पढ्नु, वत्ति बाल्नु, ध्यान गर्नु, आफ्नो आस्था अनुसारको सज्जन नागरिक निर्माण गर्नु सबै धर्मको चरित्र हुनुपर्छ। धर्मलाई राज्यबाट बाहिर राख्ने बित्तिकै त्यो अध्ययन, ध्यान, विश्लेषणको परिचय हुन्छ। हाम्रा ऋषि महर्षीहरुले त्यसैले जङ्गल र गुफामा एकान्तवास बसेर सुन्दर कृतिहरु निर्माण गरेका हुन्। तर राज्य भनेको शासक हो।

नागरिकसँग दूरी राखेर तिनीहरुमाथि शासनको जाँतो पिंध्नु राज्यको चरित्र हो। अन्यायी भएन भने वर्तमानमा त्यो राज्य नै हुँदैन। त्यसैले धर्म र शासनको बीचमा कुनै सम्बन्ध नहुनु पर्ने हो। तर भैदियो त्यही नकाम।

राजनीतिमा धर्म घुसेपछि राज्यसँगै धर्म पनि आततायी हुन्छ। त्यसको उदाहरण खोज्न पनि हामीले बाहिर गैरहनु पर्दैन। मलाई सम्झना छ, नेपाललाई विश्वको एकमात्र हिन्दुराष्ट्र भनिएको समयमा नेपालमा वुद्ध र शिख धर्मलाई पनि हिन्दु धर्मकै मातहत राखिएको थियो। तर राज्य धर्म निरपेक्ष भएपछि सबै धर्मका फूलहरु फुल्न थाले। जनजातिले आफ्नो सनातन धर्म मान्न पाउने भए।

वुद्धिस्टहरुले स्वाभिमानपूर्वक हामी वुद्ध धर्मका अनुयायी हौं, वुद्धधर्म नेपालबाटै बाहिर गएको हो भन्न पाए। राज्यले आफू धर्मबाट पृथक भएको, तर सबै धर्मलाई आफ्नो कर्म गर्न छुट दिएको भन्ने टुङ्गो दिएपछि कसैले सानो या ठूलो धर्म अथवा ठूलो धर्मको मातहत सानो धर्म बस्नु पर्ने अपमानजनक अवस्था रहेन।

राज्य र धर्मलाई एकैठाउमा घोलघाल गरेका सबै मुलुकहरु अहिले कष्टमा छन्। राष्ट्रपति, प्रधानमन्त्री, वौद्धिक समुदायले जति जोगाउन खोजे पनि राज्यको धर्मलाई नस्वीकार्ने र धार्मीक स्वतन्त्रताको माग गर्नेहरु सताइएका छन्। मारिएका छन्। इसाइयत र इस्लामका कारण मात्र होइन इस्लाम इस्लामकै बीचमा पनि माराकाट चलेको छ। धर्मको सिया सुन्नीमा विभाजित छन् मुस्लिम राष्ट्रहरु। राष्ट्रभन्दा ठूलो भएको छ त्यहाँ धर्म।

धर्म नै मध्यपूर्वको विनाशको कारण भएको छ। मध्यपूर्वमा धर्मले राज्यमाथि नियन्त्रण गरेका बहुआयाम छन्। यहुदीको इजराइल र मुसलमानको प्यालेस्टाइन, मुसलमान भित्रै सिया सुन्नीको विभाजन, जस्ता विषयहरु संसारले जानेका मुद्दा हुन्। मध्यपूर्वमा, इरान र इराक युद्धा, इरान र साउदी अरेवियाबीचको  अमैत्रीपूर्ण सम्बन्ध धर्मलाई राजनीतिको नेता मानेकै हुनाले बढेको हो। शान्ति र प्रगति चाहने हो धर्म र राजनीतिमा अन्तरघुलन हुनु हुँदैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.