वार्ताका दुई उद्धेश्य : कालापानीबाट भारतीय सेना फिर्ता, नयाँ सीमा सन्धि

|

काठमाडौँ : नौ सदस्यीय टोलीसहित विशेष चार्टर्ड विमानबाट बुधबार काठमाडौं ओर्लिएका भारतीय जासूसी संस्था रअ प्रमुख सामन्त कुमार गोयलले बालुवाटारमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेपछि नेपालको राजनीति तरंगित भएको छ।

परराष्ट्र मन्त्रालयलाई समेत औपचारिक जानकारी नदिइ नेपाल आएका रअका प्रमुख गोयलसँग बुधबार राति करिब दुई घण्टासम्म प्रधानमन्त्री ओलीले संवाद गरेका थिए। देशको सार्वभौमसत्ताको पनि ख्याल नगरी एउटा जासूसी संस्थाका प्रमुखलाई भेटेर प्रधानमन्त्रीले देश र जनताको अपमान गरेको आरोप लागिरहेका बेला राष्ट्रपति कार्यालय भने बचाउमा उत्रिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीका नवनियुक्त सञ्चारविज्ञ टीका प्रसाद ढकालले रअ प्रमुख गोयलको आकस्मिक नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री ओलीसँग भएको भेटको बचाउमा उत्रिँदै कुरै नबुझी टिप्पणी भइरहेको उल्लेख गरेका छन्। 

ढकालले कुटनीतिले व्यक्तिगत आवश्यकता र राज्यको खाँचोको तनाव बुझ्नु आवश्यक रहेको औंल्याए। राज्यलाई कुनै असर नगरी उक्त तनावभित्र पस्नु आवश्यक रहेको पनि उनले बिहीबार साँझ ट्वीटरमार्फत् टिप्पणी गरेका छन्। 

उनले श्रृंखलावद्ध चारवटा ट्वीट गर्दै उक्त भेटघाटको पक्षमा वकालत गरेका हुन्। ‘भारतसँग विकास भइरहेको पछिल्लो संवाद श्रृंखलालाई नहेरी आजको घटना विशेष मात्रै टिपेर गरिने विश्लेषण अपर्याप्त हुन्छ', उनले भनेका छन्, 'दुई प्रधानमन्त्रीबीच संवाद, विकास आयोजनाको समीक्षा बैठक, द्विपक्षीय संयन्त्रका बैठक भइरहेका छन्। खासमा परिणाम निकाल्नुअघि अनेक तहमा वार्ता हुन्छन्, अहिले भएको पनि त्यही हो।’

रअ प्रमुखले ओलीसँग २ घण्टासम्म संवाद गरेको कुरामा नेकपाका अधिकांश नेताले अनभिज्ञता प्रकट गरेका छन्। कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालयमार्फत गोयललाई भेट्दै नभेटेको स्पष्टीकरण दिएका छन। 

ढकालले नेपाल सरकारले भारतसँग संवाद चलिरहे पनि आफ्ना उद्धेश्य प्रष्टसँग राखेको बताएका छन्। उनले भारतसँगको सम्बन्धमा दुई उद्देश्य स्पष्ट रहेका बताउँदै पहिलो उद्देश्यमा मध्यम कालमा कालापानीबाट भारतीय सेना फिर्ता गराउने रहेको बताएका छन्। उनल दोस्रो उद्धेश्य दीर्घकालमा नेपाल-भारत सीमा समस्याको पूरा समाधान निकालेर नयाँ सीमा सम्झौता गर्ने रहेको उल्लेख गरेका छन्। याँ सीमा सम्झौता सुगौली सन्धिकै प्रकृतिको नयाँ सन्धि हुने उनले चर्चा गरेका छन्। 

उनले भारतसँगका समस्या समाधानका लागि नै अहिले वार्ता भइरहेको बताएका छन्। 'अहिले समस्या समाधानका लागि वार्ताको चरण चलिरहेको छ। भारतीय पक्षसँग हरेक तहमा वार्ता गर्न र आफ्ना कुरा स्पष्टताका साथ राख्न नेपाल तयार छ', उनले भनेका छन्, 'सम्पूर्ण घटनाक्रमलाई समग्रमा हेर्दा देखिने हात्ती एउटा घटनालाई मात्र छाम्दा डोरी, खम्बा वा नाङ्लो देखिन्छ।'

वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालले यो भेटलाई लिएर आपत्ति नै जनाएका छन्। पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले यो भेटलाई संशयपूर्ण भनेका छन्। नेता भीम रावलले प्रधानमन्त्रीले रअ प्रमुखलाई भेट्नु राष्ट्रवादको स्खलन भन्दै कडा विरोध जनाएका छन्। 

वार्ताका अनेक चरणबाट गुज्रिएर समस्याको गाँठो फुकाउन सकिने उनले बताएका छन्। 'समस्या आएपछि जुनसुकै तहमा वार्ता हुनसक्छन्। समाधान उच्च राजनीतिक तहबाट आउँछ भन्ने कुरामा कुनै द्विविधा छैन', प्रधानमन्त्रीको आलोचना गर्नेप्रति लक्षित गर्दै उनले अगाडि भनेका छन्, 'यस तथ्यलाई लुकाएर गरिने व्याख्या विश्लेषण एकदमै अपर्याप्त हुन्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.