|

गोरखा : गोरखा दरबारस्थित दशैंघरबाट काठमाडौंको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ।

विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ९ः१० बजेको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन्। फूलपातीको डोली बा २ झ ३२२१ नम्बरको सरकारी गाडीमा राखेर हनुमान ढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए।

गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पुर्याइएपछि आज साँझ हर्ष बढाइँका साथ हनुमान ढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको छ। कार्यालयका नायब सुब्बा चूडानिधि तिवारीले हुनमान ढोका दरबारमा फुलपाती लिएर जानुभएको कार्यालय प्रमुख भुसालले जानकारी दिए।

‘गत वर्ष भक्तजनहरूको ठूलो भिडभाड लाग्ने गर्थ्यो,’ उनले भने, ‘यो पटक त्यो हुन सकेन, सामान्यरूपमा विधि पुर्याएर फूलपाती पठाएका छौँ।’

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौंको हनुमानढोका दरबारबाट राजकाज शुरु गरेदेखि बर्सेनि बडादशैंको सातौं दिन गोरखा दरबारको दशैंघरबाट फूलपातीसहितको डोली काठमाडौंको हनुमानढोका दरबार पुर्याएर भित्र्याउने प्रचलन रहँदै आएको छ। गोरखा दरबारको दशैँघरबाट सतिपिपलस्थित फूलपाती चौतारासम्म फूलपातीको डोली दरबारका सुसारेहरुले बोकेर ल्याई त्यहाँबाट हनुमान ढोका दरबार पठाइएको हो।

कोरोना भाइरसको संक्रमणको जोखिमका कारण भक्तजनहरुको सहभागिताबिना नै यो पटक विधिपूर्वक दरबारस्थित दशैंघरबाट सतिपिपल चौतारासम्म ल्याएर गोरखाबाट फूलपातीको बिदाई गरिएको उनले बताए। सतिपिपलसम्म बोकेर ल्याइएको फूलपाती राखेर हनुमान ढोकामा फूलपाती पठाइएको हो। गोरखा दरबारको दशैंघरमा पनि आजै साँझ फूलपाती भित्र्याइन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.