|

काठमाडौं : केन्द्रीय कार्यालयसँगै ३२ वडाकै आफ्नै भवन बनाउने कार्यलाई काठमाडौं महानगरपालिकाले तीव्रता दिएको छ। विद्या सुन्दर शाक्यले पदभार ग्रहण गरेसँगै सबै वडा कार्यालयका भवन बनाउने प्रतिबद्धता जनाएका थिए।

महानगरपालिकाको पहिलो कार्यपालिका बैठकले सोही निर्णय गरेको थियो। सोही प्रतिबद्धतालाई निरन्तरता दिँदै नगरप्रमुखले आज ९ नम्बर वडा कार्यालयको भवन उदघाटन गरेका छन्।

उदघाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नै कार्यकालमा केन्द्रीय कार्यालयलगायत ३२ वटै वडा कार्यालय सुविधा सम्पन्न र सेवाग्राहीमैत्री बनाउने निर्णयलाई पूर्णता दिएर छाड्ने नगर प्रमुख विद्यासुन्दर शाक्यले बताए।

‘लक्ष्यअनुसार महानगरपालिका-९ को भवन उदघाटन गर्न सफल भएका छौ,’ उनले भने,’ ‘३२ वटा वडा कार्यालय भवन मेरो कार्यकालमा बनाएर छाड्छु। वडा कार्यालयको भवनको स्वरुप र शैली एकै हुनेछ।‘

महानगरपालिका संस्था हो यसमा व्यक्ति प्रमुख नहुने उनले बताए। उनले अगाडि थपे, ‘सबै मिलेर महानगर र वडाबासीलाई सेवा दिनुपर्छ। त्यसका लागि सेवामैत्री भवनको आवश्यक हुन्छ। सेवाग्राही मैत्री भवनबाट सबैलाई सेवा दिनुपर्छ।‘

महानगरपालिकाले केन्द्रीय कार्यालयको शिलान्यास गर्ने तयारी गरेको छ। वडा भवन निर्माण कार्य गर्ने सिलसिलामा यसअघि वडा १८ को भवन पनि उदघाटन भइसकेको शाक्यले जानकारी दिए। उनका अनुसार २६,३,४, र १४ को पनि भवन उदघाटन हुने तयारीमा रहेको छ।

४५ वर्षदेखि जीर्ण रहेको भवनबाट सेवा दिँदै आएका वडा ९ ले अबदेखि सुविधासम्पन्न भवनबाट सेवा दिन पाउँदा खुसी लागेको वडा अध्यक्ष रामकृष्ण जयखु श्रेष्ठले बताए।

त्यसैगरी,  वडा सदस्य सिर्जना भेटवालले जीर्ण भवनबाट पनि सेवाग्राहीलाई निरन्तर सेवा दिएको स्मरण गराउँदै कोभिड-१९ को जोखिमका बेला सुविधा सम्पन्न भवनबाट सेवा दिने अवसर प्राप्त भएको बताइन्। उनका अनुसार जनप्रतिनिधि र वडाबासीको लागि आजको दिन ऐतिहासिक भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.