|
फाइल फोटो

काठमाडौं : नेपाली खेलाडी यो पटक फुर्सदमा छन्। सम्‍भवत सबै खेलका खेलाडीले दशैँ मनाउने मौका पाएको यो पहिलो पटक हो। तर, कोरोना महामारीका कारण यो पटकको दसैंमा उल्लास र उत्साह भन्दा चिन्ता बढि छ।

खेलाडीको पनि अवस्था त्यस्तै हो। केही उत्साह छ तर निरन्तर खेल खेल्न नपाउँदाको नैराश्यता पनि उस्तै छ।
योपटक चैतदेखि अधिकांश खेलकर्मी घरमै छन्। उनीहरूले घरमै निरन्तर अभ्यासमा छन्। त्यसैले योपटक धेरैजसो खेलाडी आफ्ना परिवारसँगै दशैँ मनाउँदै छन्। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल अत्यावश्यकबाहेक घरबाहिर टीका थाप्न जाने योजनामा छैनन्।

‘यसपटक अत्यावश्यकबाहेक आफन्तकहाँ टीका लगाउन गइँदैन, अहिलेको समयअनुसार चल्नुपर्ने अवस्था छ।,’ कप्तान मल्लले पहिला काठमाडौंबाहिर मामा घर दमौलीसम्मपनि जाने  गरेको बताए।

राष्ट्रिय फुटबल टिमका स्ट्राइकर तथा गत सिजनको ए डिभिजन लिगका सर्वाधिक गोलकर्ता आशिष लामा नुवाकोटमा परिवारसँगै दशैँ मनाउने योजनामा छन्। एपिएफमा आबद्ध उनी घरपरिवारसँग रमाइलो गर्ने योजनामा छन्। उनले भने 'यो पटक सबै आफन्त गाउँमै भएकाले मैले नि गाउँमै दशैँ मनाउने सोच बनाएको छु। पहिला जस्तो रमाइलो नभए पनि अब समयअनुसार मनाउनुपर्छ।'

भलिबलकी युवा खेलाडी प्रतिभा माली यो पटक चोटका कारण लामो समय आराम गरेर घरमै छिन्। ठूलीआमाको निधनका कारण यो पालि दशै नमनाउने उनले बताइन्।
त्यस्तै, भारतोलनकी तारादेवी पुनले पनि योपटक गाउँमै दशैँ मनाउने योजनामा रहेको सुनाइन्। अहिले अधिककांश खेलाडी आफ्नो परिवारसँगै भएकाले सबैको दशैँ यो पटक परिवारसँगनै हुनेछ। तर, देशमा स्वास्थ्य संकट रहेको अवस्थामा सबैले संयम्तापूर्वक दशैँ मनाउन र सुरक्षित हुन खेलाडीको आग्रह छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.