बिदेसिने युवा घटे, बदलियो गाउँको परिचय

|

ओखलढुंगा : ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१० को रुप्सका स्थानीयको जीवन तरकारी खेतीबाटै फेरिएको छ। १० वर्ष पहिलेसम्म भारी बोकेरै गुजारा चलाउँने यहाँका मगर समुदाय व्यावसायिक तरकारी खेती र पशुपालनमा लागिपरेका छन्। 

मगर समुदायको बाहुल्य रहेको रुप्सेलाई गरिब र विपन्न समुदायको बस्तीको भनिन्थ्यो। यहाँका मगर समुदायको चाडबाडदेखि पाहुना टार्न मात्रै होइन, बच्चाबच्चीको कापीकलम किन्ने आयस्रोत भनेकै नाम्लो र पिठ्युँ हुन्थ्योे। 

तर, एक दशकको बीचमा गाउँको जीवनशैली फेरिएको छ। प्लास्टिक टनेलमा गोलभेँडा उत्पादन र तरकारी खेती, पशुपालनबाटै रुप्से गाउँको मुहार फेरिएको हो। अहिले यहाँका किसान वर्षमा २ लाखसम्म आम्दानी गर्न सक्ने भएका छन्।

नगरपालिका र प्रदेश सरकारको सहयोगमा गरिएको तरकारी खेती तथा पशुपालनका कारण गाउँलेको जीवनस्तरमा परिवर्तन आएको अगुवा किसान जीरकुमारी मगर बताउँछिन्। 

गाउँमा तरकारी तथा पशुपालनका लागि ५३ जनाको समूह भए पनि अहिले ३० जनाले व्यावसायिक खेतीका साथै बंगुरपालन गरिरहेका छन्। मकै, कोदो मात्र उब्जनी हुने गाउँमा अहिले मनग्य तरकारी उत्पानदन हुन थालेको स्थानीय हितबहादुर मगर पनि बताउँछन्। गुजारा चलाउन भारी बोक्नुको विकल्प हुँदैनथ्यो, आफूले आजभोलि वर्षमा १ लाख ८० हजारसम्म कमाउने गरेको उनले बताए।

गाउँमा ०६७ देखि व्यावसायिक तरकारी खेती सुरु गरिएको थियो। ८ देखि १० पाथी कोदो फल्ने ठाउँमा १ वर्षमै १ लाखसम्मको तरकारी उत्पादन हुन थालेकोले गाउँमा तरकारीले नै परिवर्तन आएको स्थानीय मगर समुदायका अगुवाहरु बताउँछन्। 

गाउँमै व्यावसायिक खेती र पशुपालनबाट आम्दानी हुने देखेपछि पछिल्लो समय रुप्सेका युवाहरू रोजगारीका लागि विदेशिने क्रमसमेत घटेको छ। गाउँका घरमा वर्षौंदेखिका खरका छानाहरू बदलिएर जस्तापाताले टल्किन थालेका छन्। यसको मुख्य आधार नै तरकारी खेती भएको स्थानीय कृषक गोलबहादुर मगर बताए। 
‘अहिले त विदेश जाने पनि घटे, परम्परागत खेतीमा निर्भर कृषकले तरकारीबाट निकै आम्दानी लिन थालेकाक छन्, ऋण काढ्ने दिन पनि सकिए’, उनले बताए। 

धेरै ठाउँमा कृषिमा गरिएको लगानी खेर जाने भए पनि रुप्सेमा भने तरकारीले समृद्धि आएको सिद्धिचरण नगरपालिकाका नगरप्रमुख मोहनकुमार श्रेष्ठ पनि बताउँछन्।

रुप्सेमा देखिएको परिर्वतन अन्यत्र पनि अनुकरणीय भएको उनको बुझाइ छ। ‘खरका स–साना झुपडी, विपन्न गाउँको पहिचान स्थानीय अगुवा कृषकहरूले बदलिदिएका छन्। 

सुरुमा तरकारी खेतीमा रुचि नभएकाहरु पनि आम्दानी देखेपछि विस्तारै आकर्षित भएका श्रेष्ठ बताउँछन्। तत्कालीन कृषि विकास कार्यालय, वडा कार्यालय, नगरपालिकाले समेत व्यावसायिक तरकारी खेतीका लागि आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.