दबाबमा छन् जिनेदिन जिदान, कोम्यान पनि चिन्तित

|

काठमाडाैं : जारी लालिगामा आज बेलुका फुटबल जगतमा दुई महारथी क्लब रियल म्याड्रिड र बार्सिलोना पहिलोपटक आमनेसामने हुने भएका छन्। 

एल क्लासिको नाम दिइएको यी दुईबीचको खेललाई फुटबल प्रेमीहरूले सबैभन्दा बढी प्रतीक्षित मान्दै आएका छन्। संसारभर फुटबलमा रुचि राख्ने जो-कोहीले यी दुईबीचको खेल हेर्ने गर्छन्। 

घरेलु मैदानमा क्याम्प नाउमा हुने खेलमा बार्सिलोना हाबी हुने धेरैले अनुमान गरेका छन्। यद्यपि गत सिजनको पहिलो एक क्लासिकोमा बार्सिलोनाले घरेलु मैदानमा बराबरीमा चित्त बुझाएको थियो। तर दोस्रो खेलमा भने रियलले २-० को जित निकाल्न सफल भएको थियो

विश्वाविख्यात फुटबलर क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसी दुवैले खेल्ने भएर पनि एल क्लासिकोले यो उचाइ पाएको थियो। यद्यपि रोनाल्डो दुई वर्षअघि रियल म्याड्रिड क्लब छाडेर इटालीको चर्चित क्लब युभेन्ट्स गइसकेका छन्। 

त्यसयता मेसीले पनि रियल म्याड्रिडविरुद्धको खेलमा खासै गतिलो प्रदर्शन गर्न सकेका छैनन्। रोनाल्डोले रियल छाडेर गएपछिका पाँच खेलमा ४ खेल खेलका मेसीले रियलविरुद्ध हालसम्म गोल गर्न सकेका छैनन्। 

तर पछिल्ला दुई खेलमा लय गुमाएको रियलविरुद्ध मेसीले गोलको खडेरी तोड्न सक्ने फुटबल पण्डितहरुले अनुमान लगाइरहेका छन्। त्यसो त ला लिगाको पछिल्लो खेलमा बार्सिलोनाले हार खेपेको थियो। गेटाफेको घरेलु मैदानमा बार्सिलोनाले ०-१ गोल अन्तरले पराजय भोगेको थियो। उक्त खेलमा मेसीले पूरा समय बिताएका थिए। 

यता रियल म्याड्रिडले त झन् लिगमा मात्र नभई च्याम्पियन्स लिगमा समेत नमिठो हार खेपेको थियो। युक्रेनी क्लब साख्तर डोनेस्टेकसँग घरेलु मैदानमै रियल ०-३ गोल अन्तरले पराजित भएको थियो। लगातार दुई खेल हारेको रियल आज राति हुने बार्सिलोनासँगको खेलमा चर्को दबाबमा पर्नेछ। ​रियलले आज हार खेपे उसले हारमा ह्याट्रिक गर्नेछ। 

साख्तरसँगको खेलमा सुरुवाती ११ मा कमजोर खेलाडीलाई खेलाएको भन्दै रियलका प्रशिक्षक जिनेदिन जिदानको यतिबेला चर्को आलोचना हुन थालेको छ। क्लबले समेत उनीसँग यसबारे प्रस्टिकरण सोधेको थियो। भलै एल क्लासिकोलाई मध्यनजर गरेर आफूले त्यसै अनुसार साख्तरसँगको खेलमा केही राम्रा खेलाडीलाई आराम दिएको बताएका थिए। 

कमजोर डिफेन्स सुधार्दै बार्सिलोना!

गत सिजनको च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँगको २-८ को नमिठो हार खेपेको बार्सिलोनाले ला लिगा सिजनको सुरु खेलमा भने निकै राम्रो प्रदर्शन देखाएको थियो। भिल्लारियललाई घरेलु मैदानमा ४-० गोल अन्तरले हराएको थियो। 

त्यसयता बार्सिलोनाले तीन खेल खेलिसकेको छ। जसमा एक बराबरी र दुईमा जित एक बराबरी र एकमा हार बेहोरेको छ। 

लिगमा सेभिल्लासँग १-१ को बराबरी खेलेको बार्सिलोनाले सिजन सुरुवातमा रक्षापंक्तिमा केही सुधार ल्याएको देखिएको छ। बार्यनसँगको लज्जास्पद हारपछि बार्सिलोनाले प्रशिक्षक कोके सेटिनलाई बर्खास्त नै गरेको थियो।

खेल विश्लेषक र क्लबको आन्तरिक छलफलबाट बार्सिलोनाको अग्रपंक्तिभन्दा डिफेन्स कमजोर भएको निष्कर्ष निकालेको थियो। जसअनुसार कुनै बेलाको आफ्नो सहायक प्रशिक्षक डोनाल्ड कोम्यानलाई मुख्य प्रशिक्षक बनाएको छ। 

तर नयाँ सिजनसँगै भित्रिएका डच कोम्यानले पनि बार्सिलोनाको डिफेन्समा खासै बदलाव ल्याउन सकेका छैनन्। सिजन सुरु हुने क्रममा कतिपय खेलाडी बिदाइले बरु उनी विवादित भएका छन्। उरुग्वेली फरवार्ड लुइस स्वारेज अर्को प्रतिस्पर्धी स्पेनिस क्लब एट्लेटिको म्याड्रिड भए भने मध्यपंक्तिका क्रोएसियाली खेलाडी इभान राकटिचलाई त बार्सिलोनाले सित्तैमा सेभिल्लालाई जिम्मा लगायो। त्यस्तै चिलीका अर्का चर्चित आर्थुरो भिडाल पनि यसै सिजन इटालीको क्लब इन्टर मिलान गए। 

अर्थात् नयाँ प्रशिक्षक भित्र्याएको बार्सिलोनाले डिफेन्समा रहेको कमजोरी हटाउनुको साटो भटाभट आफ्ना स्टार खेलाडी बेच्यो तर समस्याको जड मानिएको रक्षापंक्तिलाई उसले चलाउन मानेन। 

डिफेन्समा कमजोरी देखिएपछि सिजन सुरु भएलगत्तै बार्सिलोनाले केही खेलाडीले आफू क्लबमा फिट नरहे क्लब छाड्न पनि तयार रहेको बताएका थिए। एक अन्तर्वार्ताका क्रममा बार्सिलोनाका 'खम्बा' जेरार्ड पिकेले त यसबारे खुलेरै अन्तर्वार्तासमेत दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.