गाउँमा पनि छैन रौनक, स्वास्थ्य ख्याल गर्न आग्रह

|

बैतडी : बैतडीसहित सुदूरपश्चिम प्रदेशका राजमार्ग तथा बसपार्कहरु दशैंमा पनि सुनसान छन्। बैतडीको गोठलापानी, गोेकुुलेश्वर, डडेल्धुरा, कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरलगायत प्रदेशका सबै बसपार्क सुनसान छन्। 

यसपालि कोरोना कहरका कारण यात्रु नचल्दा बसपार्क सुनसान बनेका यातायात व्यवसायीले बताएका छन्। विगतमा दशैंको दिनमा समेत आवातजावात गर्नेहरुको भीडभाड लाग्ने गरेको थियो।

यस वर्ष भने कोरोना संक्रमणको जोखिमका कारण यात्रुहरु नहुदा राजमार्ग क्षेत्रहरु  सुनसान रहेका महाकाली बहुउद्देश्यीय यातायात प्रालि सतबाँझका घटना इञ्चार्ज कर्णबहादुर पाण्डेय काजीले जानकारी दिए।

भीमदत्त राजमार्ग, दशरथचन्द राजमार्ग, महाकाली राजमार्ग, जयपृथ्वी राजमार्ग, केआईसिंह राजमार्गलगायत सुदूरपश्चिमका राजमार्गमा चहलपहल न्यून छ। उनले भने, ‘विगतका समयमा दशैंका बेला दैनिक १ सय जति बसहरु ओहोरदोहोर गर्ने गरेका थिए, क्यु फ्री हुने चाडपर्वको समयमा यस वर्ष भने राजमार्गमा बसहरु न्यून मात्रामा चलेका छन्।’ 

सार्वजनिक यातायातमा कोरोना सङ्क्रमणको जोखिम हुने भएका कारण पनि चहलपहल नदेखिएको हो। दशैँको टीका आउन एक दिनमात्र बाँकी हुँदा पनि बसपार्क सुनसान बनेका हुन्।

यसअघिका दशैँमा टिकट काट्नकै लागि लामो लाइन लाग्ने गरेको थियो तर अहिले अवस्था फेरिएको छ। कोरोना कहरले हाल अधिकांशले निजी सवारीको प्रयोग गर्दा सार्वजनिक यातायातमा सवारी कम भएका हुन्। विगतका वर्षहरुमा तराईबाट पहाड दशैंका लागि आउने घुइँचो लाग्ने गरेको भए पनि यसपालि भने भीडभाड नदेखिएको होटेल व्यवसायीले बताएका छन्। 

दशैंको बेला चहलपहल निकै हुने भएको भए पनि यसपालि भने व्यापार व्यवसाय पनि सुस्त रहेको दशरथचन्द राजमार्गस्थित मुस्याचौरका व्यापारी मान बहादुर टेरले बताए।

उनले भने, ‘होटेलमा दशैंको बेला थामिनसक्नु भी हुने गर्दथ्यो यसपालि चहलपहल पनि छैन, व्यापार हुने बेला समेत सुस्त रुपमा चलेको छ।’ 

गाउँमा पनि छैन दशैंको रौनक

कोरोना भाइरसका कारण यो वर्ष गाउँघरमा पनि दशैंको रौनक छैन। यो वर्षको दशैंको मुख्यदिन विजयादशमी नजिक आउन थालेको छ। दशैंमा खानपान गर्ने, रमाइलो गर्ने र एकआपसमा जमघट भएर सुखदुख साटासाट गर्ने चलन रही आएको भए पनि यो वर्ष कोरोनाका कारण गाउँघरमा दशैंको रौनक नभएको स्थानीयहरुले बताएका छन्। 

कोरोना भाइरसको जोखिमले जिल्ला बाहिर रहेकाहरु पनि जिल्ला भित्रिन नपाउँदा दशैंको रौनक खासै नभएको पण्डित देवदत्त भट्टले बताए। उनले भने, ‘अरु वर्ष शक्तिपीठहरुमा पूजाआजाका लागि जिल्ला बाहिर रहेकाहरु पनि जिल्लामा भित्रिन्थे। बेग्लै रौनक हुन्थ्यो तर यो वर्ष कोरोनाका कारण दशैंमा समेत गाउँघर सुनसान बनेका छन्।’

दशैंको समयमा विभिन्न शक्तिपीठहरुमा बलिसहित पूजाआजा र जात्रा पनि यो वर्ष कोरोनाका कारण जात्राहरु स्थगित भएका छन्। दशैंको समयमा बसाइसराइँ गरेर गएकाहरु पनि गाउँ फर्किँदा रमाइलो हुने भए पनि कोरोना कहरले यो समस्या निम्त्याएको सुर्नया ६ का केशवदत्त अवस्थीले बताए। उनले भने, ‘यो वर्ष कोरोना कहरका कारण बसाइसराइँ गरेर गएकाहरु फर्कन पाएनन्। त्यसैले गाउँमा अन्य वर्षको जस्तो रौनक छैन।’ 

खानपिनमा ध्यान दिन आग्रह

कोरोना भाईरसको जोखिम कायमै रहेकाले भीडभाड नगरी दशैं मनाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन्। दशैंको बेला भीडभाडमा गएमा कोरोनाको जोखिम बढ्ने भएकाले घरमै दशैं मनाउन स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले आग्रह गरेका छन्। 

'सामूहिक रुपमा देवीदेवताका मन्दिरहरुमा पूजाआजा गर्ने चलन भए पनि यो वर्ष सामूहिक रुपमा पूजाआजा गर्न हितकर हुँदैन,’ भट्टले भने, 'भीडभाडले कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले घरमै दशैं मनाउनुपर्छ।' 

मानिस स्वस्थ भए सबै कार्य सकिने भएकाले स्वास्थ्यलाई प्राथमिकतामा राख्दै चाडपर्व मनाउनुपर्ने स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले पनि बताए। 

बैतडीमा हालसम्म ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.