सोलुखुम्बु : सोलुखुम्बुमा आज एकै दिन ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेहरुमा तल्लो सोलु हाइड्रोमा कार्यरत २५ जना, नाम्चेका ९ जना र बेनीका ४ जना रहेका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिए।
उनका अनुसार तल्लो सोलु हाइड्रोपावरमा कार्यरत ५१ जना मजदुरको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो। खुम्बु पासङ ल्हामु गाउँपालिकामा १ सय २३ जनाको स्वाब परीक्षण गरिएको थियो।
त्यसैगरी सोलुदुधकुण्ड नगरपालिका–२ बेनीका १५ जनाको स्वाब परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको छ। उनीहरु मध्ये २ जनालाई होम आइसोलेसनमा राखिएको छ भने २ जनालाई जिल्ला अस्पताल फाप्लुको क्वारेन्टाइनमा राखिएको अस्पतालकी निमित्त प्रमुख सानी शेर्पाले जानकारी दिइन्। संक्रमित हुनेहरुमा वडासदस्य, प्रहरी, एम्बुलेन्स चालक र स्थानीयबासी छन्।
खुम्बु पासङ ल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीका अनुसार नाम्चेका एक वृद्धलाई कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा आएहरुको पिसिआर परीक्षण गरिएको थियो।
यससँगै खुम्बु क्षेत्रमा पनि समुदायस्तरमा नै संक्रमण फैलिएको पुष्टि भएको वडाध्यक्ष अधिकारीले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।