|

काठमाडौं : उपप्रधानमन्त्री ईश्वर पोखरेलले परराष्ट्र मन्त्रालयको जानकारीमा भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलले नेपाल भ्रमण गरेको र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको बताएका छन्। 

‘रअ’ प्रमुख नै परराष्ट्र मन्त्रालयको जानकारी तथा स्वीकृतिमा नेपाल आएको तथा काठमाडौंस्थित भारतीय राजदूतावासले औपचारिक रूपमा त्यसको जानकारी गराउँदै आवश्यक पत्राचार र  पहल गरेको उपप्रधानमन्त्री पोखरेलेको दाबी छ। ‘रअ’ प्रमुखसँग भएको वार्ताको औपचारिक टिपोट परराष्ट्र मन्त्रालयमा समेत सुरक्षित रहेको उपप्रधानमन्त्री पोखरेलको दाबी छ। 

उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री र ‘रअ’ प्रमुखबीचको संवाद केही समयदेखि असहज बन्न पुगेको नेपाल–भारत सबन्ध खासगरी सीमा समस्यासित र नयाँ नक्सा प्रकाशनसित गाँसिएका विषयमा केन्द्रित रहेको भनाइ छ। 

यस्तो छ पोखरेलको स्पष्टिकरण 

प्रधानमन्त्रीसँग ‘रअ’ का प्रमुखको भेट -
प्रायोजित कुप्रचार र वास्तविकता


(१) भारतीय गुप्तचर संस्था -‘रअ’ का प्रमुख सामन्त गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकाे विशेष दूतका रूपमा प्रधानमन्त्री केपी ओलीसित भेट तथा संवादका लागि आए र फर्किए।

(२) नेपाल सरकारको परराष्ट्र मन्त्रालयको जानकारी तथा स्वीकृतिमा उनी नेपाल आएका हुन् । काठमाण्डौंस्थित भारतीय राजदूतावासले औपचारिक रूपमा त्यसको जानकारी गराउँदै आवश्यक पत्राचार र पहल गरेको थियो ।

(३) प्रधानमन्त्री केपी शर्मा ओलीले सामन्त गोयलको टोलीसित केके विषयमा कुरा गर्नुभएको थियो ? बातचितमा प्रम ओलीसित रहनुभएका प्रतिनिधिहरूले जिम्मेवारीपूर्वक सुनेका छन् - टिपोट गरेका छन् । परराष्ट्र मन्त्रालयमा समेत वार्ताको औपचारिक टिपोट सुरक्षित छ ।

(४) वातचितमा प्रम ओलीले विगत केही समयदेखि असहज बन्नपुगेको नेपाल- भारत सम्वन्ध खासगरी सीमा समस्यासित र नयाँ नक्सा प्रकाशनसित गाँसिएका विषयमा केन्द्रित रहेको थियो । त्यहाँ नेपालले राख्दै आएका अडानहरू पुन: जानकारी गराइएको थियो र समाधानका लागि नेपालका तर्फबाट स्पष्ट दृष्टिकोण प्रस्तुत गरिएको थियो । र, वार्ताद्वारा नै तथ्य तथा ऐतिहासिक प्रमाणहरूका आधारमा देखापरेका समस्याहरूको समाधान खोजिनुपर्ने समाधान प्रस्तुत गरिएको थियो । त्यहाँ गोयल ( हरू ) का तर्फबाट नेपालका प्रमको प्रस्तुतिलाई सकारात्मक रूपमा लिदै अविलम्ब वार्ताद्वारा समाधानका लागि अघि बढ्नुपर्ने भनाइ राखिएको थियो । नेपाल - भारतका बीचमा कुनै समस्या छन् भने तिनलाई संवादका माध्यमबाट हल गर्न सकिन्छ भन्ने अकाट्य निष्कर्षमा पुगिएको थियो ।

(५) विगत केही समयदेखि केही असहज बन्न पुगेको नेपाल-भारत सम्बन्धलाई यही अवस्थामा रहन दिनु नहुने मान्यताका साथ गरिएको यो पहल र प्रयत्नलाई एक स्वरमा खासखास खालका मानिसहरूद्वारा किन विरोध भइरहेको छ ? तिनीहरूले किन विरोध गरिरहेका छन् ? यसलाई अघि सारेर प्रम केपी शर्मा ओली र उहाँले नेतृत्व गरेको सरकारको विरोधमा किन खनिदैछन् - ती मानिसहरू ? कारणहरू राम्ररी बुझिएको छैन । अहिले धेरै कुरा किन गर्ने ! उहाँहरूले वास्तविकता नबुझी पूर्वाग्रह राखेर वा विरोधका लागि विरोध गर्नुपर्छ भन्ने अस्वस्थ्य मानसिकता बोकेर यी सबै काम गरिरहनु भएकोछ भन्ने कुरा ठोकेर भन्न सकिन्छ । प्रोटोकललाई ख़्याल नगरिएको, मर्यादाको पालना नगरिएको, छिमेकी मुलुकको जासूसी संस्थाको योजनामा संचालित हुन खोजेको, वार्ताका विषयहरूलाई रहस्यमा राखिएको, राष्ट्रियता र स्वाधीनतामा आँच पु-याइएको आदि भनेर आरोप लगाउने काेशिस भइरहेकाे छ । अर्थात्, यी सबै कुरा गरेर कम्युनिस्ट पार्टीको सरकार विरूद्धमा एउटा गलत खालकाे बहस सिर्जना गर्न खोजिदैछ । दुर्भाग्य ! कम्युनिस्ट पार्टीकै कतिपय नेताहरू समेत यस अभियानमा संलग्न हुन खोजेका देखिदैछन् ।

(६) यतिबेला एउटा कुरा सबैले ख़्याल गरौं - केपी शर्माओली र उहाँले नेतृत्व गरेको यस सरकारका विरूद्ध ती मानिसहरू अहिले विशेष निर्लज्जतापूर्वक लागेका छन् , जो विगतमा छिमेकीको न्यानो काखमा सुतेर देशका विरूद्ध गतिविधिहरू गरिरहेका थिए ! विगतमा भारतको ‘ रअ’ का हाकिमहरूसित भेट गर्न तँछाड मछाड गर्दै यिनै मान्छेहरू छिमेकी मुलुक पुग्दथे , त्यहाँ खुसामदका बिन्ती - बोली बिसाउँथे । विडम्बना ! अहिले उनीहरू समेत राष्ट्रियताको बोलीमा लोली मिसाउँदै ओलीले नेतृत्व गरेको सरकारका विरूद्ध बृहद गोलबन्दीको नायक बन्ने प्रयत्न गरिरहेका छन् !!

याद रहोस् ! राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता, स्वाभिमानमा आँच पुग्ने कुनै पनि कुरासित सम्झौता हुन सक्तैन ! यिनै कुरालाई शीरमा राखी राष्ट्रको दीर्घकालीन हितमा लाग्ने कुरामा कहीं कतैबाट पनि आँच पुग्न दिइने छैन । विदेशीको काखको न्यानोमा सुत्न पल्केकाहरूको कथित राष्ट्रवादलाई चिनौं, सजग हाेअाैं र सरकारले चालेका सही कदमहरूलाई साथ र समर्थन गराैं !!!

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.