|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले यो वर्ष दशैँको टीका लगाएनन्। बुवा मोहनप्रसाद ओली झापास्थित घरमा रहेकाले ओलीले यो वर्षको दशैँको टीका नलगाएका हुन्। 

प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बुवा झापामै रहेपछि प्रधानमन्त्रीको निधार यो पटक खाली भएको हो। तर प्रधानमन्त्रीले पत्नी राधिका शाक्यलाई दशैँको टीका लगाइदिएका छन्। 

'यसपाली बडादशैँलाई कोभिड-१९ का कारण पारिवारिक रूपमा मात्रै मनाउन प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्दै विशेष आग्रह गर्नुभएको विदितै छ', थापाले भने, 'उहाँले प्रधानमन्त्री निवासमा सार्वजनिक दशैं टीका कार्यक्रम नराख्न समेत निर्देशन दिनुभएको अवगत नै छ।'

प्रधानमन्त्रीको निर्देशन अुनसार अन्य मन्त्रीहरुले पनि दशैँको सार्वजनिक टीका कार्यक्रम राखेनन्। राष्ट्रपति, पूर्वराजादेखि उच्च पदस्थले पनि पारिवारिक टीका कार्यक्रम गरेका छन्। 

सरकारले सर्वसाधारणलाई पनि जहाँ बसेको छ, त्यहीँ दशैँ मनाउन अपिल गरेको थियो। मानिसहरुको आवतजावत बढ्दा कोरोना फैलिने भन्दै सरकारले यस्तो आग्रह गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.