|
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले घर—डेरामै सीमित रहेर पर्व मनाउन सबै नेपाली दिदीबहिनी दाजुभाइहरुमा अनुरोध गरेका छन्। विजया दशमीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सामाजिक सांस्कृतिक पर्वहरु मनाउँदा आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अपिलसमेत गरेका छन्।

सभापति देउवाले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा शुभ–कामना व्यक्त गर्दै कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणप्रति सचेतता अपनाइ मठ मन्दिर जाँदा मास्क अनिवार्य लगाउन र भौतिक दूरी कायम राख्न पनि आग्रह गरेका हुन्। ‘दशैं हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो। अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रुपमा मनाउँदै आएको छ’, सन्देशमा उनले भनेका छन्।

सभापति देउवाले शुभकामना सन्देशमार्फत विजयादशमीले समुदाय, संस्था, परिवार र व्यक्तिव्यक्तिबीचको एकतालाई अझ मजबूत बनाउँदै आएको र बनाउनुपर्ने उल्लेख गरेका छन्। ‘कोरोना भाइरस सङ्क्रमणको नियन्त्रणमा पर्याप्त समय हुँदाहुँदै पनि सरकार पूर्ण रुपमा असफल भएको छ।

आम जनताको स्वास्थ्य खतरामा परेको छ, अर्थतन्त्र धराशायी भएको छ। जनताको जीवन अत्यन्तै कठिन अवस्थाबाट गुज्रीरहेको छ। सरकार जनताका प्रति संवेदनहीन, गैर जिम्मेवार, अनुत्तरदायी र कर्तव्य विमुख देखिएको छ’, सन्देशमा उनले भनेका छन्, ‘कोरोना भाइरस रोकथाममा सरकारले देखाएको उदासीनताका कारण बढ्दो सङ्क्रमणलाई कम गर्न नागरिकहरु आफै पनि सचेत र सजग हुन जरुरी देखिएको छ।‘

विजयादशमीका अवसरमा सभापति देउवाले आफू र नेपाली कांग्रेसका तर्फबाट स्वदेश तथा विदेश रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.