काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल) मा किंग्स इलेभेन पञ्जाबले कोलकोता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको छ।
कोलकोताले दिएको १५० रनको लक्ष्य पछाएको पञ्जाबले २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो। पञ्जाबको जितमा मनदीप सिंह र क्रिस गेलले अर्धशतक बनाए। मनदीपले अविजित ६६ रन बनाए भने क्रिस गेलले ५१ रन बनाए। कोलकोताका लागि एक विकेट वरुण चक्रवर्तीले लिएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ९ विकेट गुमाउदै १४९ रन बनाएको थियो। कोलकोताका लागि शुभमन गिलले ५७ रन बनाए भने कप्तान इयोन मोर्गनले ४० रन बनाए।
पञ्जाबका बलर मोहमद सामीले ३ विकेट लिए भने क्रिस जोर्डन र रवी विश्नोईले २(२ विकेट लिए । त्यस्तै मुर्गन आश्विन र ग्लेन म्याक्सवेलले एक(एक विकेट लिए।
यो जितपछि पञ्जाबले १२ खेलमा छैठौ जित हासिल गरेको छ । पञ्जाब १२ अंकसहित चौथो स्थानमा उक्लिएको छ। त्यस्तै कोलकोता १२ खेलमा छैठौ हार बेहोरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।