|

काठमाडौं :  काठमाडौं, सिन्धुली, रुपन्देही, चितवन, कैलाली र झापाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका–३ महाराजगंजस्थित सडकमा बा८४प ५६४० नम्बरको पार्किङ गरी राखेको मोटरसाइकलमा प्रदेश ३ ०२–०१४ प ९७९८ नम्बरको स्कुटर ठोक्किएर सोमबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक बुढानिलकण्ठ नगरपालिका–२ चपली बस्ने ४५ वर्षीय सन्दीप गिरीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगन्जमा उपचार क्रममा मृत्यु भएको हो। 

सिन्धुली, कमलामाई नगरपालिका–१ चम्राहीस्थित सडकमा प्रदेश ३ ‍०२–०१० प ६७६६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने सन्तोष भुजेलकी छोरी ९ वर्षीया समिताको सोमबार दिउँसो मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई जिल्ला अस्पताल सिन्धुली लगिएको थियो।उपचार क्रममा उनको मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने उमेश भुजेलको सोही अस्पतालमा उपचार भइरहेको छ।

रुपन्देही, रोहिणी गाउँपालिका–३ धकधई चोकमा लु२ त ४६११ नम्बरको ट्याक्टर अचानक सडकमा पल्टिएर सोमबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार रोहीणी गाउँपालिका–३ बस्ने १२ वर्षीय निखिल घर्तीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचार क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।

चितवन, रत्ननगर नगरपालिका–१० भानु चोकमा प्रदेश ०३–००१ ख १९९ नम्बरको बसले प्रदेश २–०३–००२ प २८१६ नम्बरको स्कुटरलाई सोमबार राति ठक्कर दिँदा स्कुटर चालक रत्ननगर नगरपालिका–२ बस्ने २२ वर्षीय विपन क्षत्रीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुषको सोही अस्पतालमा उपचार भइरहेको छ। फरार बस चालकको प्रहरीले खोजी गरिरहेको जनाएको छ।

कैलाली, धनगढी उपमहानगरपालिका–३ बोराडाडीमा रोकी राखेको म १ ख ६१७ नम्बरको ट्रकमा धनगढीबाट अत्तरियातर्फ जाँदै गरेको से१प ८७६१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी २२ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

झापा, शिवसताक्षी नगरपालिका–१ कमल खोलास्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४८ वर्षीय बल बहादुर चेम्जोङको सोमबार राति मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। ठक्कर दिने मोटरसाइकल तथा चालकको प्रहरीले खोजी गरिरहेको बताएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.