राष्ट्रपतिले मानार्थ महारथीको पदवी प्रदान गर्ने

|

काठमाडौं : भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरवने कात्तिक १९ गते तीन दिने नेपाल भ्रमणमा आउने पक्का भएको छ। सैनिक प्रवक्ता सहायकरथी सन्तोष वल्लभ पौडेलका अनुसार सेनाअध्यक्ष नरवने तीन दिने नेपाल भ्रमणमा आउन लागेको मंगलबार पुष्टि गरेका छन्।

सेनाअध्यक्ष नरवनेसँगै चार सदस्यीय उच्च तहका सैनिक अधिकारी पनि हुनेछन्। प्रवक्ता पौडेलका अनुसार तीन दिने भ्रमणका क्रममा जनरल नरवणेले सैनिक मञ्चको वीर स्मारकमा श्रद्दाञ्जली अर्पण गर्नेछन्। 

त्यसपछि उनले जंगी अड्डामा सम्मान गारद निरीक्षण गर्नेछन्। त्यसपछि नेपाली समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापासँग छलफल गर्नेछन्। यससँगै सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीसँग अन्तरक्रिया कार्यक्रम तय गरिएको छ।

भारतले अतिक्रमण गरेको भूमिलाई लिएर दुई देशबीच विवाद बढेपछि गत फागुनमै तय भएको नरवनेको नेपाल भ्रमण रोकिएको थियो। भारतीय सेनाअध्यक्षको  भ्रमणका क्रममा सीमा विवादबारे पनि अनौपचारिक छलफल हुन सक्ने बताइएको छ।

मानार्थ सेनापति

नरवने भारतीय सेना प्रमुखमा नियुक्त भएको एक वर्ष भइसकेको छ। तर भ्रमण रोकिएपछि उनले मानार्थ सेनापतिको दर्ज्यानी चिन्ह लिन पाएका छैनन्। 

नरवनेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले दर्ज्यानी चिन्ह प्रदान गर्ने छिन्। नेपाल भ्रमणका क्रममा उनले आफ्ना समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापा, राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि संवाद गर्ने छन्। 

विवाद पनि

नेपाली भूमि मिचिएको बारेमा विवादित अभिव्यक्ति दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका सेना प्रमुख मनोज मुकुन्द नरवनेलाई नेपाली सेनाको मानार्थ 'महाराथी' पदवी नदिन जंगी अड्‍डालाई निर्देशन दिएका थिए। 

गत जेठ २ गते एक भाषणका क्रममा नरवनेले कसैको उक्साहटमा नेपालले कालापानी र लिपुलेकको बिषय उठाएको बताएर विवादमा तानिएका थिए। त्यसपछि उनी नेपालको मानार्थ महारथी पद लिन अब योग्य नभएको बताउँदै प्रधानमन्त्री ओलीले त्यस्तो निर्देशन दिएका थिए। 

नरवनेले नेपाल, भारत र चीनको त्रिदेशीय क्षेत्रमा पर्ने लिपुलेकमा निर्माण भएको सडकमा कुनै समस्या नभएको बताउँदै चीनप्रति लक्षित गरेर यो विषय नेपाल आफैंले अगाडि नबढाएको दाबी गरेका थिए। 

उक्त सडक धार्मिक प्रयोजनका लागि खोलिएको र मानसरोवर जानका लागि भारतीय तीर्थयात्रीको सहजताका लागि मात्र खोलिएको उनले बताएका थिए। तर त्यहाँ ३० किलोमिटर भन्दा धेरै सडक आफ्नो भूमिमा बनेको भन्दै नेपालले पटक पटक आपत्ति जनाएको थियो।

गत साता मात्रै भारतीय गूप्तचर संस्था रअका प्रमुख सामन्त गोयलले नेपालको भ्रमण गरेका थिए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीसंग समेत भेटवार्ता गरेका थिए। उक्त भेटघाट अहिले पनि विवादमा परिरहेको छ।

मानार्थ महारथीको चलन 

नेपाली सेनाका प्रधानसेनापति र भारतीय सेनाका एक जनरललाई एक दुवै देशले ‘मानार्थ महारथी’ को दर्जा दिने चलन निकै पुरानो हो। नेपाली सेनाका प्रधानसेनापतिलाई भारतीय सेनाका सर्वोच्च कमान्डर अर्थात् भारतका राष्ट्रपतिबाट मानार्थ महारथीको पदवी दिने चलन छ। नेपालमा भारतीय सेनाका तीन प्रमुखमध्ये स्थलसेना प्रमुखलाई नेपालका राष्ट्राध्यक्षले ‘मानार्थ महारथी’को दर्जा दिने गरेका छन्। 

भारतीय सेनामा रहेका स्थल, जल र वायुसेनामध्ये सबैभन्दा प्रभाव स्थल सेनाको छ। यी तीनै सेनामध्ये नेपालमा प्रायजसो स्थल सेनाध्यक्ष आउँछन् र उनैलाई मानार्थ महारथीको पदवी दिइन्छ। तर नेपालमा एकजना मात्रै प्रधानसेनापति हुने भएकाले भारतमा उनैले मानार्थ महारथीको सम्मान पाउँछन्। 

कात्तिकमा नेपाल आउन लागेका भारतीय स्थल सेनाध्यक्ष नरवनेलाई नेपाली सेनाकी सर्वोच्च कमाण्डर राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ महारथीको पदवी दिने कार्यक्रम तय गरिएको हो। दुवै देशबीच यो परम्परा नेपालका राणा प्रधानमन्त्री वीर शमशेरको पालादेखि सुरु भएको थियो।
को शासन कालमा सुरु भएको हो । 

यो परम्परा नेपालले सन् १८१५ मा भारतलाई उपनिवेश बनाइरहेको 'ब्रिटिस इस्ट इन्डिया कम्पनी'सँग युद्ध हारेपछि सुरु भएको हो। भीमसेन थापाको नेतृत्वमा भएको युद्धमा नेपालले आफ्नो ठूलो भूभाग गुमाएर मेची-महाकालीमा सीमित भएपछि इस्ट इन्डिया कम्पनीसँग सन् १८१५ डिसेम्बर २ मा सुगौली सन्धि भयो। 

त्यस सम्झौतापछि नेपालले आफ्नो ठूलो भूभाग गुमाएको थियो। त्यस क्रममा नेपालले हारेको भूमि छाड्यो भने ब्रिटिस सरकारका प्रतिनिधि काठमाडौंमा बस्‍न थाले। अर्कातिर गोर्खालीलाई ब्रिटिस सेनामा भर्ती गर्ने सुरुवात पनि त्यहीँबाट भयो। 

थापाले नेपालमा ब्रिटिस प्रतिनिधि राख्‍न अनुमति दिए। तर गोर्खालीलाई ब्रिटिस सेनामा पठाउने सहमति कार्यान्वयन गरिदिएनन्। वि.सं १९०३ मा राणाशासन सुरु भएसँगै गोर्खालीहरु ब्रिटिस सेनामा जान थाले।

पहिलो विश्‍व युद्धमै गोर्खालीहरुलाई राणा शासकहरुले ब्रिटिस सेनामा पठाएर सहभागी गराए। यो युद्ध समाप्तिपछि तत्कालीन ब्रिटिस इन्डियन गभर्नर जनरललाई नेपालले नेपाली सेनाको मानार्थ महारथी दर्जा र ब्रिटिसले नेपालका श्री ३ महाराजलाई ब्रिटिस गोर्खा रेजिमेन्टको मानार्थ कर्नेल दिने परम्परा थालियो। 

भारतबाट ब्रिटिस उपनिवेश सकिएपछि त्यही परम्पराअनुसार भारतीय प्रधान सेनापतिलाई नेपाली सेनाको मानार्थ जनरल र नेपाली सेनाको प्रधान सेनापतिलाई भारतीय स्थल सेनाको मानार्थ महारथीको पद दिने प्रचलन सुरु  भएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.