|

कञ्चनपुर : महाकाली नगरपालिकाको दोधारा चाँदनीको कञ्जनभोजमा बन्ने भनिएको सुक्खा बन्दरगाह गौरी शंकर सामुदायिक वनमा बनाइने तयारी अघि बढाइएको छ।

भारतले चक्रपुर हुँदै गडीकोटको भैसाभोज हुँदै पहुँच मार्ग(कनेक्टिभी) दिने भएपछि माहाकाली नगरपालिका १ को गौरी सामुदायिक वन क्षेत्रमा सुक्‍खा बन्दरगाहका लागि प्रक्रिया अघि बढाइन लागेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले मंगलबार गौरी सामुदायिक वनमा स्थलगत निरीक्षण गरी सुक्‍खा बन्दरगाह घोषणाको तयारी गरिएको जानकारी दिएका छन्।

मन्त्री भट्टसँगै स्थलगत निरीक्षणमा सहभागीका अनुसार कात्तिक १६ गते गौरी शंकर सामुदायिक वनमा मन्त्रालयको टोलीसहित औपचारिक कार्यक्रम गरी सुक्‍खा बन्दरगाहको औपचारिक घोषणा गरिने कार्यक्रम तय गरिएको छ।

 सत्तारुढ नेकपाका जिल्ला अध्यक्ष वीरबहादुर थापा, कञ्चनपुर क्षेत्र नं. ३ का साँसद डा. दिपक प्रकाश भट्ट, सुदूरपश्चिम प्रदेश सभा सदस्य मान बहादुर सुनार , माहाकाली नगरपालिका नगर प्रमुख वीरबहादुर सुनारसहित मन्त्री भट्टले सामुदायिक वन क्षेत्रमा निरीक्षण गरेका छन्।

निरीक्षणका क्रममा मन्त्री भट्टले अब सुक्‍खा बन्दरगाह यहीं नै बन्ने निश्चित भएकाले त्यसैअनुसार घोषणा गरी अघि बढाइने बताए। मन्त्री भट्टले विसं २०६६ मा महाकाली नगरपालिका ७ को कञ्चनभोजमा सुक्‍खा बन्दरगाह स्थापना गर्ने घोषणा गरेका थिए। मन्त्री भट्टले घोषणा गरेको १० वर्षपछि गौरी शंकर सामुदायिक वनमा सुक्‍खा बन्दरगाह बनाउने तयारी गरेका हुन्।

यसअघि गत फागुनमा कञ्चनभोज पुगेका उहाँले स्थानीयलाई विस्थापित हुने गरी सुक्‍खा बन्दरगाह बनाउने सरकारको मनसाय नभएको बताएका थिए।

११ वर्षअघिकै घोषणा

सरकारले विसं २०६६ मा सुक्‍खा बन्दरगाह घोषणा गरे पनि कञ्चनभोजसहित गौरी शंकर सामुदायिक वन सहितका तीन स्थानमा छलफल केन्द्रित गरिएको थियो।

 सुक्‍खा बन्दरगाहका लागि भारतको कनेक्टिभिटी आवश्यक भएकाले त्यसै अनुसार छलफल गरी सुक्‍खा बन्दरगाहको स्थान टुङ्गो लगाइने धारणा अघि सारिएको थियो।

कञ्चनपुर क्षेत्र नं. ३ का सांसद डा. दिपक प्रकाश भट्टले भारतीय कनेक्टिभिटी सहितका अन्य कारणले कञ्चनभोजबाट गौरी शंकर सामुदायिक वनमा सुक्‍खा बन्दरगाह बनाउनुपर्ने विकल्प अघि सारिएको बताए।

‘दोधारा चाँदनीमा सुक्‍खा बन्दरगाह बनाउने भएपछि कञ्चनभोज, गौरी शंकर सामुदायिक वन र अर्को क्षेत्र गरी तीन ओटा विकल्प अघि सारिएका थिए, त्यसमा पनि गौरी शंकर पहिलो नम्बरमा नै थियो’ साँसद भट्टले भने,‘अब भारतले पनि गौरीशंकरलाई नै कनेक्टिभिटी दिने भएपछि यसमा विकल्पका रुपमा अघि बढेको छ, त्यसका लागि तयारी अघि सारिएको छ।’

गौरीशंकर सामुदायिक वनमा सुक्‍खा बन्दरगाहसम्म जोड्न भारतलाई चार किलोमिटर सडक मात्रै बनाउनु पर्नेछ भने नेपालको ६ लेन सडक वन क्षेत्रसम्म पुगेको छ।

सांसद भट्टका अनुसार कञ्चनजभोजमा सुक्‍खा बन्दरगाह बनाउँदा भारतको खटिमादेखि कञ्चनभोजमा १२ किलोमिटर दूरीमा १० किलोमिटर क्षेत्रमा वन थियो।

वन क्षेत्रका कारण भारतलाई खटिमा भएर कनेक्टिभी दिन भारत अप्ठेरोमा परेको थियो। भारतको वन मन्त्रालयले सडकका लागि रुख काट्न नदिने सम्मको धारणा बाहिर ल्याएको पनि चर्चा पनि बाहिर आएको थियो।

नेपालतिर कञ्चनजभोजमा भने स्थानीय विस्थापित गर्न नहुने भनेर सुरुदेखि आन्दोलनमा उत्रिएका थिए। कञ्चनभोजमा सुक्‍खा बन्दरगाह बनाउँदा स्थानीयको जमिन अधिग्रहण गर्नु पर्ने र त्यहाँसम्म ६ लेन पक्की सडक बनाउनु पर्ने अवस्था देखिएको थियो।

‘भारततिर जङ्गल थियो, हाम्रोतिर बस्ती थियो, बस्तीको मुआब्जा नदिई त्यहाँ सुक्‍खा बन्दरगाह बनाउन सकिने अवस्था थिएन’ सांसद भट्टले भने, ‘गौरी शंकर सामुदायिक वनलाई नै पहिलो नम्बरको विकल्प अघि सारेर छलफल अघि बढाइएको थियो।’

मुआब्जा र सडक निर्माण गर्नै नपर्ने

कञ्चनभोजमा सुक्‍खा बन्दरगाह बनाउँदा त्यहाँका पाँच सय बढी स्थानीयको जग्गा अधिग्रहण गरी पुनःस्थापन गराउनु पर्ने थियो। गौरी शंकर सामुदायिक वनमा सुक्‍खा बन्दरगाह बन्ने भएपछि मुआब्जा र सडक निर्माण गर्न नपर्ने भएको छ।

‘सामुदायिक वन क्षेत्रमा इआए गरी प्रक्रिया अघि बढ्छ, मुआब्जाको कुरा हुँदैन, त्यसपछि सुक्‍खा बन्दरगाह निर्माणका अरु कुरा अघि बढ्छन’ साँसद भट्टले भने। गौैरी शंकर सामुदायिक वनमा सुक्‍खा बन्दरगाह बनाउन सकिने गरी तीन सय विघा भन्दा बढी जमिन छ।

 मन्त्री भट्ट कार्तिक १६ गते मन्त्रालयको टोली सहित प्रस्तावित स्थलमा आएर सुक्‍खा बन्दरगाहको औपचारिक रुपमा घोषणा गर्ने भएका छन्। गौरी शंकर सामुदायिक वनमा सुक्‍खा बन्दरगाह बनाउनका लागि मन्त्री भट्टले माहाकाली नगरपालिकाका नगर प्रमुख वीरबहादुर सुनार संग समेत गौरी शंकर सामुदायिक वनमा बन्दरगाह बनाउनेबारे छलफल गरेका छन्। 

सुनार दोधारा चाँदनीमा सुक्‍खा बन्दरगाह बनाउनुपर्ने पक्षमा लबिङ्ग गर्दै आएका छन्। सुदूरपश्चिम प्रदेश सभा सदस्य मान बहादुर सुनारले दोधारा चाँदनीमा जसरी पनि सुक्‍खा बन्दरगाह बन्ने बताएका छन्।

‘कञ्चनजभोजका वासिन्दालाई सुविधा दिऔ, रोजगार दिऔ भनेर त्यहाँ बन्दरगाह बनाउने कुरा गरेका थियौं प्राविधिक रुपमा त्यहाँ सम्भव नहुने भएपछि गौरी शंकरमा आएका छौ’ उनले भने, ‘यहाँ नै बन्दरगाह बन्छ, यो एकदम फिक्स हो।’

 भारतले गढीकोट हुँदै कनेक्टिभिटी दिएर सडक निर्माणका लागि बजेट विनियोजन गरेकाले गौरी शंकर सामुदायिक वनमा सुक्‍खा बन्दरगाह बन्ने बताए।  मन्त्री भट्टले गत फागुनमा कञ्नभोज पुगेर भारतसँगको ’कनेक्टीभिटी’, भारतको रेल लाइन, भारतले दिने भनिएको सुक्‍खा बन्दरगाहसम्मको पहुँचमार्ग पनि अवलोकन गरेका थिए।

वीरगञ्ज सुक्‍खा बन्दरगाहपछि कञ्चनपुरमा दोस्रो बन्दरगाह निर्माण हुन लागेको हो। कञ्चनभोजका स्थानीयले केही वर्षअघि सुक्‍खा बन्दरगाह निर्माणस्थलमा आएका भारतीय सहितको टोलीमाथि आक्रमण गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.