मंसिर १५ देखि १७ लाई तोकियो अर्को मिति

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक फेरि स्थगित भएको छ। कात्तिक १५ देखि १७ गतेसम्म काठमाडौंमा बस्ने भनिएको केन्द्रीय कमिटी बैठक मंसिर १५ सम्मलाई स्थगित भएको हो। 

पार्टीमा देखिएको आन्तरिक कलह बढ्दै गएका बेला नेकपा केन्द्रीय कमिटी बैठक स्थगित भएको हो। यो बैठक अब मंसिर १५ देखि १७ गतेसम्मका लागि सारिएको नेकपा कार्यालय सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्तिमार्फत जनाएका छन्। 

पार्टी केन्द्रीय कार्यालयले बैठक स्थगितको कारण कोरोना भाइरस संकट भनेको छ। 'कात्तिक १५ देखि १७ सम्मलाई आयोजना गरिएको पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक कोभिड-१९ महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको छ', विज्ञप्तिमा भनिएको छ, 'स्थगित बैठक यही मंसिर १५ देखि १७ गतेसम्मलाई आयोजना गरिएको छ।'

भदौ २६ गते बसेको स्थायी कमिटीको बैठकले पार्टीको एकता महाधिवेशनको कार्ययोजना बनाउनका लागि केन्द्रीय कमिटीको बैठक राख्ने निर्णय गरेको थियो। 

नेकपा नेताहरूले अहिलेको परिस्थितिमा केन्द्रीय कमिटीको बैठक बस्न नसक्ने बताइसकेका थिए। नेकपा केन्द्रीय कमिटीमा ४ सय ४१ सदस्य रहेका छन्। सरकारले नै जमघट र धेरै मानिस एकै ठाउँमा भेला नहुन आग्रह गरिरहेको बेलामा सत्ताधारी दलले जम्बो टोलीको बैठक राख्न नहुने सुझाव नेताहरुले दिएका थिए।

विवाद

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद सदस्य र राजदूतहरुमा एकपक्षीय नियुक्ति गरेपछि नेकपामा फेरि पुरानै विवाद बल्झिएको थियो। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीमा पुरानै शैली देखिन थालेको भन्दै प्रत्यक्ष भेटेर तथा सचिवालयमार्फत असन्तुष्टि जाहेर गरिरहेका छन्। 

पछिल्लो पटक कर्णाली प्रदेशमा महेन्द्रबहादुर शाही नेतृत्वको सरकार ढाल्न ओली पक्ष सक्रिय भएपछि प्रचण्ड अझ चिढिएका छन्। त्यहाँको संकट हाललाई प्रचण्ड-वरिष्ठ नेता माधव नेपाल समूह मिलेपछि टरेको छ।

अर्कातिर भारतीय जासूसी संस्था रअ प्रमुख सामन्त गोयललाई परराष्ट्र मन्त्रालयमा थाहै ओलीले कात्तिक ५ मा भेटेपछि नेताहरु झनै रिसाएका छन्। प्रचण्ड-नेपाल समूहले ओलीमा पुरानै समस्या देखिएको भन्दै आक्रोश पोखिरहेका बेला बैठक स्थगित भएको हो। 

यो बैठक स्थगित भएसँगै अब चैतमा हुने भनिएको एकता महाधिवेशनको कार्यतालिका पनि प्रभावित हुने पक्का छ। वामदेव गौतम नेतृत्वको संगठन विभागले सदस्यता नवीकरण र वितरण कार्य मंसिरमा सक्ने योजना थियो। त्यो योजना पनि अब प्रभावित हुने देखिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.