|

बैतडी : कोरोना भाईरसको महामारीकाबीच  पछिल्लो समयमा आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ। आयुर्वेदिक उपचारले साइड इफेक्ट पनि नहुने भएकाले यसतर्फ नागरिकको आकर्षण बढ्दै गएको हो। 

आयुर्वेद स्वास्थ्य केन्द्रमा आउने सेवाग्राहीको संख्या पछिल्लो समयमा बढ्दै गएको जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रका सूचना अधिकारी हिक्मत चन्दले जानकारी दिए। उनले भने, ‘आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ। यी औषधिहरुको असर पनि नहुने भएकाले यसको प्रयोगमा आकर्षण बढेको हो।’

कोरोना भाइरसको महामारीच आयुर्वेदिक उपचार पद्दतिको महत्व झन् बढेको उनले बताए। आयुर्वेदिक उपचार पद्दति सजिलो र प्रभावकारी भएकाले पनि नागरिकको आकर्षण बढ्दै गएको हो। उनले भने, ‘अहिले कोरोना भाईरसको महामारीका बीच आयुर्वेदिक औषधिको महत्व झन् बढेर गएको छ। स्थानीयस्तरमै पाइने जडीबुटी निकै लाभदायक रहेका छन्।’

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा पञ्चकर्म सेवा अन्तर्गत स्नेहन र स्वेदन सेवा पनि सञ्चालनमा रहेको उनले बताए। बाथरोग, पायल्स लगायतका रोगहरुको प्रभावकारी विधिबाट उपचार हुने भएकाले सेवाग्राही बढेका चन्दको भनाई छ। आयुर्वेदिक औषधिको महत्वका बारेमा जानकारी हुन थालेपछि धेरै जसोले आयुर्वेदिक औषधि प्रयोग गर्ने गरेको उनले बताए।

आयुर्वेदिक औषधिले मानिसको शरीरमा राम्रो काम गर्ने भएकाले यसमा आकर्षण बढ्दै गएको दशरथचन्द नगरपालिका १ का रामदत्त भट्टले बताए। उनले भने‘बाथरोग, पायल्स लगायतका रोगको उपचारका लागि आयुर्वेदिक उपचार पद्दति लाभदायक रहेको छ।’

विभिन्न रोगहरुको उपचारमा आयुर्वेदिक पद्दति प्रभावकारी भएकाले बिरामीहरुको यसमा आकर्षण बढ्दै गएको उनको भनाई छ। जिल्लाको मेलौलीका साथै दशरथचन्द नगरपालिका १ मुस्याचोर र दशरथचन्द नगरपालिका ४ शाहीलेकमा पनि आयुर्वेद औषधालय रहेका छन्। ती ठाउँबाट पनि विभिन्न रोगहरुको उपचार हुने गरेको छ।

चिकित्सक नहुँदा समस्या

मेलौलीस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा आयुर्वेद चिकित्सक नहुँदा समस्या भएको छ। जिल्लाको एक मात्रै आयुर्वेद स्वास्थ्य केन्द्रमा आयुर्वेद चिकित्सकको दरबन्दी भएपनि विगत तीन वर्षदेखि आयुर्वेद स्वास्थ्य केन्द्र चिकित्सक विहिन रहेको केन्द्रका सूचना अधिकारी हिक्मत चन्दले जानकारी दिए।

आयुर्वेद चिकित्सक नहुँदा क्षार सुत्र कर्म, पायल्सको उपचार लगायतका सेवाहरु प्रभावित भएका उनले बताए। उनले  भने, ‘आयुर्वेद चिकित्सक नहुँदा विभिन्न सेवाहरु प्रभावित भएका छन्। चिकित्सकले प्रदान गर्ने सेवा अरुले दिन सक्तैनन्। यसले सेवाग्राहीहरुलाई मार परेको छ।’

केन्द्रले अहिले पनि पञ्चकर्म, पूर्वकर्म सेवाहरु सञ्चालन गरिरहेको भएपनि चिकित्सकको अभावमा ति सेवाहरुलाई प्रभावकारी बनाउन नसकिएको चन्दको भनाई छ। उनले भने ‘हामीले आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत विभिन्न सेवाहरु सञ्चालन गरेका छौं। चिकित्सकको अभावमा पायल्सको प्रभावकारी उपचार हुन सकिरहेको छैन।’

तल्लोसोराड क्षेत्रका नागरिकका लागि पायक पर्ने स्थानमा आयुर्वेद स्वास्थ्य केन्द्र भए पनि चिकित्सक नहुँदा सेवा पाउन असहज भएको स्थानीय केशवसिंह भाटले जानकारी दिए। आयुर्वेदिक उपचार पद्दति राम्रो भएपनि चिकित्सकको अभाव रहेको उनले बताए। उनले भने ‘आयुर्वेदिक उपचारका नागरिकको आकर्षण छ। तर चिकित्सक नहुँदा हामीले केन्द्रबाट पाउने सेवा पाईरहेका छैनौं।’

केन्द्रका सूचना अधिकारी चन्दले पछिल्लो समयमा आयुर्वेद उपचारमा नागरिकको आकर्षण बढेको भए पनि चिकित्सक नहुँदा धेरै सेवाहरु प्रभावित भएका केन्द्रले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.